चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा ग्लोबल आईएमई बैंकको खुद नाफा ३७.१२ प्रतिशतले बढेको छ। यस अवधिमा बैंकले ४ अर्ब ५३ करोड खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद नाफा ३ अर्ब ३० करोड रहेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ५.४६ प्रतिशतले घटेर १२ अर्ब ३१ करोड कायम भएको छ। बैंकले सम्भावित जोखिमको लागि इम्पेरमेन्ट चार्ज शिर्षक अन्तर्गत छुट्याएको रकम ५ अर्ब २६ करोडबाट घटेर ३ अर्ब ११ करोडमा सीमित भएको छ। यसै कारण बैंकको खुद ब्याज आम्दानी घटे पनि खुद नाफा बढेको हो ।
यस अवाधिमा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५४ करोड रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ४ पैसा रहेको छ। बैंकको खराब कर्जा भने ४.७४ प्रतिशतबाट बढेर ४.९८ प्रतिशत पुगेको छ। बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड रहेको छ भने रिजर्भमा २८ अर्ब २० करोड रुपैयाँ रहेको छ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १५.८६ रुपैयाँ र प्रति शेयर नेटवर्थ १७३ रुपैयाँ ४७ पैसा रहेको छ।












