Friday, July 17, 2026
spot_img

बिना परमिट काठमाडौँ छाड्छन् सयौं माइक्रो: ट्राफिक चिट काट्छ, होटलवाला तिरिदिन्छन्

spot_img

काठमाडौँबाट पूर्वी नेपालका लागि छुट्ने र पूर्वी नेपालका जिल्लाबाट राजधानी काठमाडौँ आउने अधिकांश हायस (माइक्रो) गाडीहरु अहिले मदन भण्डारी राजमार्गको पूर्वी खण्ड भएर हिड्छन् । काठमाडौँबाट छुट्ने यस्ता बसहरु सिन्धुलीको भिमानबाट उदयपूरको कटारी, गाइघाट हुँदै चतरा निस्किएर गन्तव्यतर्फ लाग्छन् भने काकडभिट्टा, इलाम, धरान, विराटनगर लगायतका क्षेत्रबाट राजधानी काठमाडौँका लागि छुट्ने माइक्रो बसहरु पनि अधिकांश चतराबाट गाइघाट, कटारी हुँदै भिमान निस्किएर खुर्कोट हुँदै काठमाडौँ आउँछन् ।

तर, यो रुटमा चल्ने धेरैजसो माइक्रो बस ‘रुट परमिट’ नलिइ चल्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ । भिमानदेखि चतरासम्म १७० किलोमिटर दूरी पर्ने मदन भण्डारी राजमार्गको यो खण्डमा अहिले सप्तकोशी पारीका सबैजसो जिल्लामा पुग्ने हायस गाडीहरु चल्दै आएका छन् । तर, उनीहरुले भिमान हुँदै बर्दिबास (महेन्द्र राजमार्ग) निस्किएर जाने रुटको परमिट लिएका हुन्छन् । यद्यपी, बाटो चाहिँ भिमान–कटारी–गाइघाट–चतराको प्रयोग गर्दै आएका छन् । बर्दिबास हुँदै जाने रुटमा अहिले हायसहरु खासै नचल्ने र अधिकांश हायस तथा माइक्रोहरु भिमान–कटारी–गाइघाट–चतरा रुटमा चल्ने गरेका छन् ।

ट्राफिक प्रहरीले रुट परमिट जाँच गर्दा परमिट नलिने गाडीलाई जरिवानको चिट काट्दै आएको छ । रोचक कुरा के छ भने, त्यसरी ट्राफिकले काटेको चिट बापतको जरिवाना चालकले (गाडीवाला)ले तिर्दैनन् । उनीहरुले होटललाई तिर्न लगाउने गरेको पाइएको छ । होटलले नै गाडीको ट्राफिक जरिवाना तिरिदिने गरेको चालकहरु नै बताउँछन् ।

‘ट्राफिकले चिट् काट्छ भनेर हामीले तलको बाटो (बार्दिबास हुँदै) गाडी लग्यौँ भने यो बाटोमा भएका होटलले कसलाई खाना खुवाउँछन् ? हामीले यात्रु ल्याइदिन्छौँ र त ब्यापार पाएका छन् नि !’ एक जना चालकले भने, ‘उनीहरुको बिजनेश भइरहेको छ भनेपछि हाम्रो जरिवाना पनि तिरदिनुपर्‍यो नि !’

यो कुरालाई अर्का चालकले पनि पुष्टि गरेका छन् । २०८१ चैत ११ गते ति चालक झापाबाट यात्रु लिएर काठमाडौँ आउँदै थिए । उनलाई कोशी पुलमा ट्राफिक प्रहरीले रुट परमिट नभएको भन्दै जरिवानाको चिट काटेर थमाए । अगाडी बढेपछि खाजा खाने ठाउँमा उनले होटलवालालाई चिट थमाए र, जरिवाना रकम तिरिदिन भने । होटलवालाले पनि चिट समाए, एक नजरमा चिटतर्फ डुलाए । र, हुन्छ भन्ने संकेतका साथ मुन्टो हल्लाए ।

त्यहीँ गाडीलाई सिन्धुलीको दुधौलीमा पनि ट्राफिक प्रहरीले रोक्यो, चालकले कोशी पुलमा ट्राफिकले काटेको चिट देखाए । तर, उक्त चिटले नहुने भन्दै ड्युटीमा खटिएका ट्राफिक प्रहरीले अर्को चिट काट्नुपर्ने बताए । एकैदिन दुइ दुइ वटा चिट काट्न पाइँदैन भन्दै चालक र सह–चालक ट्राफिक प्रहरीसँग विवादमा उत्रिए । तर, ट्राफिक प्रहरीले क्षमताभन्दा बढी यात्रु बोकेको कसुरमा चिट काटिछाडे । केही अगाडी बढेपछि पेट्रोल पम्पमा तेल हाल्ने क्रममा आडैको होटलमा चालकले उक्त चिट छोडे ।

सोही दिन अर्को एउटा हायस काठमाडौँबाट ९ जना यात्रु लिएर धरान जाँदै थियो । तर, सिन्धुलीको रातमाटा पुगेपछि बिग्रिएको रहेछ । त्यसपछि आफ्नो गाडीमा भएका यात्रु अर्कै गाडीमा राखिदिएर गाडी मर्मत गरेर चालक गाडी लिएर काठमाडौँ फर्किदै थिए । उनले पनि भिमान हुँदै चतरा निस्कने रुटको परमिट नभएको र ट्राफिक प्रहरीले चिट काटेको खण्डमा आफूले पनि होटलवालालाई नै जरिवाना तिर्न लगाउने गरेको खुलासा गरे ।

खासगरी, यो रुट हुँदै राजधानी आउने र राजधानी काठमाडौँबाट बाहिरिने हायस गाडीका चालकहरुले ट्राफिक जरिवाना गाइघाट, कटारी, चतरा र दुधौलीका होटल व्यवसायीमार्फत तिर्ने गरेको चालकहरुले नै बताएका छन् । उनीहरुका अनुसार काकडभिट्टा र इलाम जाने/आउने गाडीहरुले चतरामा र धरान तथा विराटनगरबाट आउने/जाने गाडीहरुले गाइघाट, कटारी र दुधौलीमा खाना तथा खाजा खुवाउने गरेका छन् । उनीहरुले तिनै क्षेत्रका होटलहरुलाई ट्राफिकले काटेको जरिवाना तिर्न लगाउने गरेको आफैँले स्वीकार गरेका छन् ।

के छ कानुनी व्यवस्था ?
गाडीले बाटो इजाजत लिँदा इजाजतपत्रमा बाटाको सुरु र अन्त्य हुने स्थानको नाम मात्र उल्लेख नगरी सवारी चल्ने बाटोको बीचमा पर्ने प्रमुख स्थानहरूको नाम पनि अनिवार्य रूपले उल्लेख गर्नुपर्ने हुन्छ ।

यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को (संशोधन २०७४)को दफा ११ को उपदफा ४ को १६ नम्बरमा ‘बाटो इजाजत प्रदान गर्दा बाटो इजाजतपत्रमा बाटाको सुरु र अन्त्य हुने स्थानको नाम मात्र उल्लेख नगरी सवारी चल्ने बाटोको बीचमा पर्ने प्रमुख स्थानहरूको नाम पनि अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । जस्तैः भक्तपुरदेखि रत्नपार्कको बाटो इजाजतपत्र दिँदा कोटेश्वर–थापाथली–सिंहदरबार–सहिदगेट–रत्नपार्क भन्ने उल्लेख गर्नुपर्नेछ’ भनिएको छ ।

यस आधारमा काठमाडौँबाट काकडभिट्टा रुटमा चल्ने गाडीले काठमाडौँ–काकडभिट्टा भनेर रुट परमिट पाउँदैनन् । यस बीचमा पर्ने प्रमुख स्थानहरुको पनि नाम समावेश गरेर रुट परमिट लिनुपर्नेछ ।

यस्तै, दफा ११ को ५ मा रुट परिवर्तन सम्बन्धि व्यवस्था छ । दफा ११ को उपदफा ५ को ३ अनुसार बाटो अनुमति लिएको सवारी साधनले अनुमति लिएको अवधि ४ महिना पूरा नभई बाटो परिवर्तन गर्न नपाउने व्यवस्था छ ।

यस्तै, सोही दफाको ७ अनुसार बाटो परिवर्तन गर्दा साविकको बाटो इजाजतपत्र, सवारी दर्ता प्रमाणपत्र एवम् जाँचपास प्रमाणपत्र अद्यावधिक रुपमा नवीकरण गराएको हुनुपर्ने उल्लेख छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

अर्जेन्टिनामाथि फिफाले थाल्यो छानबिन, कारवाहीको सम्भावना

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अर्जेन्टिनामाथि छानबिन थालेको छ...

नेपाल लाइफ इन्स्योरेन्सले बिरगंजमा किन्यो ८७.५३ धुर जग्गा, मूल्य ३३ करोड ७७ लाख

नेपाल लाइफ इन्स्योरेन्सले पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नं....

तोलामा ३१ सयले घट्यो सुनको भाउ, चाँदीको मूल्य पनि घट्यो

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहीबार प्रतितोला...

मिटरब्याज पीडित पक्ष र सरकारबीच निर्णायक वार्ता हुँदै, आजै सम्झौता हुने

आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै...

४०५ स्थानीय तहमा आजबाट जग्गाको कित्ताकाट रोकियो

जग्गाको वर्गीकरण सम्पन्न नगरेका देशभरका स्थानीय तहमा जग्गाको कित्ताकाट...
spot_img