Friday, May 8, 2026
spot_img
spot_img

मीनबहादुरदेखि मल्होत्रा हुँदै चन्द्र ढकालसम्मलाई ‘दलाल’ करार गरिँदा राज्य कहाँ छ ?

spot_img
spot_img

लगानी, रोगारी र राजस्व निजी क्षेत्रमा निर्भर छ । नेपाल उद्योग वाणिज्य महासंघले गरेको अध्ययनलाई आधार मान्ने हो भने मुलुकको कुल राजस्व र रोजगारीमा उद्योगी व्यवसायी (निजी क्षेत्र)को योगदान ८५ प्रतिशत हाराहारी छ । तर, पछिल्लो केही समययता नेपालको निजी क्षेत्रले चैनको श्वास फेर्न पाइरहेको छैन, अर्थात् चौतर्फी प्रहार सामना गर्नु परिरहेको छ । सत्ता वा सरकार मुकदर्शक बनिरहेको छ ।

मीनबहादुर गुरुङमाथि राज्यबाटै अन्याय

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ सरकारबाटै अन्यायमा परे । सरकारलाई पास खर्च र राजस्व दाखिला गरेर जग्गा किनेका गुरुङ बालुवाटार जग्गा प्रकरणमा मुख्य अभियुक्त बनाइए । आफैँले पास खर्च बुझेको, आफैँले राजस्व बुझेर लालपूर्जा दिएको सरकारले नै गुरुङलाई संगठित अपराधको मुद्दा चलायो ।

उद्योगी व्यवसायीका संगठनहरुले सानो स्वरमा बोल्नेबाहेक सरकारको यस कदमको विरोध कतैबाट भएन । बरु, राज्यलाई कर तिर्नेहरुको सूचीमा अग्र पङ्तिमा आउने मीनबहादुर सामाजिक सञ्जालमार्फत रातारात भू–माफिया करार भए ।

पवन गोल्यान सहितका उद्योगीमाथि दुर्गा प्रसाईंको लाञ्छना

माओवादी, एमाले हुँदै अहिले राजावादी कित्तामा उभिएका दुर्गा प्रसाईंले प्रतिष्ठित उद्योगीहरुको नामै किटान गरेर, फोटो नै टाँगेर दलाल करार गरे । मुलुकको अर्थतन्त्र पवन गोल्यान सहितका मारवाडी समुदायले कब्जा गरेको भन्दै उनीहरुलाई देश निकाला गर्नुपर्छ भनेर प्रसाईंले समाजलाई उकास्ने काम गरे ।

नेपाली समाजको सामाजिक एकता र सद्भाव भड्काउने खालको अभिव्यक्ति दिएर प्रसाईंले हजारौँलाई रोजगारी दिँदै आएका उद्योगपतिहरुलाई अनेकौँ लाञ्छना लगाउँदा पनि संगठित आवाज कसैले निकालेन । आजसम्म पनि त्यसको झिल्को निभेको छैन, प्रसाईंको उत्तेजित हुने क्रम पनि कायमै छ ।

अरुण चौधरीको पक्राउ

उद्योगी अरुण चौधरीलाई पनि कसूर प्रमाणित नहुँदै अनुसन्धानका नाममा वर्षौ पूराना बखेडा झिकेर ‘मानमर्दन’ हुने गरि गिरफ्तार गरियो । सांसदसमेत रहेका डलर अर्बपति बिनोद चौधरीको भाइ भएकै कारण अरुण चौधरीको पक्राउलाई नेपाली समाजले खुशी मनायो ।

बिनोद चौधरी र चौधरी परिवारले संघर्षले आर्जेको सफलता र विश्वमा जनाएको उपस्थिति नेपाली समाजलाई चित्त बुझेको छैन । बरु, उनले ठगेर, राज्य दोहन गरेर सम्पत्ति आर्जन गरेको भन्ने मिथ्या र अप्रमाणित सूचनाको भरमा प्रहार खेप्नु परिरहेको छ । जसको सिकार बाँसबारी जग्गा प्रकरणका नाममा उनका भाइ समेत भए ।

कैलाश सिरोहियाको गिरफ्तारी

कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकताको विषयमा तत्कालिन सरकारले पक्राउ गर्‍यो । उनको गिरफ्तारी केवल तत्कालिन गृहमन्त्री रबी लामिछानेको ‘इगो’बाहेक अर्को कारणले भएको थिएन भन्ने तथ्य स्थापित भइसकेको छ ।

त्यतिबेला पनि सामाजिक सञ्जाल ‘धन्यवाद रबी दाइ’को नाराले भरियो । गिरफ्तारी गलत भयो भन्ने आँट कमैले गरे । जतिले गरे, ति पनि सामाजिक सञ्जालमा अराजक भिडको आक्रमणमा परे । उदाहरणका लागि मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) काफी छन् ।

दीपक मल्होत्रालाई कहिल्यै नछोडेको गिरिबन्धु

प्रतिष्ठित व्यवसायी दीपक मल्होत्रामाथि आज पनि झापास्थित गिरिबन्धु टी स्टेटको जग्गा हत्याउन लागेको आरोप लागिरहन्छ । जबकी, सरकारले नै ऐनअनुसार सट्टा–भर्ना गर्न दिने निर्णय गरेको थियो । यसपछि मल्होत्राले हाल चिया बगान रहेको सो क्षेत्रमा स्मार्ट सिटी बनाउने भनेर अध्ययन मात्रै गरेका थिए । तर, मुद्दा परेपछि अदालतको फैसला (आदेश)मा राखिएका ‘कण्डिशन’ले सम्भव देखिएको छैन ।

अहिले फेरि सरकारले अध्यादेशमार्फत रियलइस्टेट व्यवसायीको सहजता र सुकुम्बासीहरुले जग्गा पाउन् भन्नका लागि भूमी सम्बन्धि ऐन संशोधन गरेको छ । तर, यसमा पनि दीपक मल्होत्रा र गिरिबन्धुलाई जोडेर आरोपित गरिएको छ । यस सम्बन्धमा पनि कोही कसैले अध्ययन गरेर दीपक मल्होत्रालाई आरोपित गर्नुको औचित्य छैन भन्ने साहस गरेको छैन ।

जिम्बु थकालीदेखि मारुती सिमेन्टसम्म

आफूलाई भयङ्कर ठूलो सामाजिक अभियन्ता दाबी गर्ने र एक दुइ थान क्यामरा साथमा लिएर हिड्ने आशिका तामाङले जिम्बु थकालीले प्रतिबोतल १ सय रुपैयाँमा पानी बेच्यो भनेर सामाजिक सञ्जालमा कोलाहल मच्चाइन् । तामाङले वाहवाही कमाइन् ।

जबकी, ‘स्याटिसफ्क्याक्शन’को पनि मूल्य हुन्छ भनेर बोल्ने साहस कसैले गरेनन् । बरु, आन्तरिक राजस्व कार्यालय टङ्गाल अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने जिम्बु थकाली निरिह बन्नुपर्‍यो ।

यसैगरी, युट्युबमा चिच्याएर सु–शासनका गफ चुट्ने र सांसदलाई ‘फलानोको हनुमान’ भन्दै बुम तेर्स्याउने एक जनाले मारुती सिमेन्टका कारण आफ्नो घरको भर्‍याङ भत्कियो भन्ने आरोप लगाए । यसैको भरमा सरकारी प्रशासन मारुती सिमेन्टका कर्मचारी र सञ्चालकलाई पक्राउ गर्न तम्सियो । यसलाई गलत भन्ने आँट कसैले गरेनन् ।

चन्द्र ढकालमाथिको आक्रमण

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका चन्दप्रसाद ढकालमाथि अहिले पाथिभरा केवलकार निर्माणको विषयलाई लिएर हमला भइरहेको छ । वैदेशिक रोजगारको जागिर छोडेर नेपालमै केही गर्नुपर्छ भनेर फर्केर आएका र अहिले हजारौंलाई रोजगारी दिइरहेका ढकाललाई सामाजिक सञ्जालमा ‘दलाल’ करार गरिएको छ ।

यतिसम्म की, ग्लोबल आइएमई बैंकका शाखासमेत बन्द गराउने सम्मका अराजक गतिविधि मौलाएका छन् । संगठित संस्थाबाट केही खण्डन भएपनि ढकालले ब्यहोरिरहेको अराजक आक्रमणको प्रभावकारी बचाउ हुन सकेको छैन ।

राज्यको उपस्थिति खोइ ?

माथि उल्लेखित घटनाहरु प्रतिनिधिमूलक घटना मात्रै हुन् । नेपालका उद्योगी व्यवसायीमाथि दिनहुँ कुनै न कुनै रुपमा बिना प्रमाण आरोपित गर्ने र लाञ्छित गर्ने काम भइरहेको छ । उद्योगी व्यवसायीहरुमाथि अनेकौँ लाञ्छना लगाउँदै आरोपित गर्ने क्रम बढिरहे पनि राज्यको उपस्थिति कमजोर देखिएको छ । लगानीकर्तालाई संरक्षण गर्नुपर्ने जिम्मेवारी सरकारको भएपनि सामाजिक सञ्जाल र उग्र भिडलाई हेरेर सरकार गलतलाई गलत भन्न सकिरहेको देखिँदैन ।

‘लगानी प्रवद्र्धनका लागि प्रशासनिक सरलता र पारदर्शितासहित सबै तहबाट लगानीको सुरक्षाको ग्यारेन्टी आवश्यक हुन्छ’ महासंघ अध्यक्ष ढकाल भन्छन्, ‘सरकार वा निजी क्षेत्रबाट प्रवद्र्धित पूर्वाधार एवम् विकास परियोजना निर्वाध रुपमा सञ्चालन गर्ने वातावरण बनाउनु आवश्यक छ ।’

निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रमको कमी र विकास आयोजनामा अवरोध मुख्य चुनौतीका रुपमा रहनु अहिलेको समस्या रहेको उनको भनाइ छ । निजी क्षेत्र प्रोत्साहन हुन सके मात्रै लगानी बढ्ने र जसको फलस्वरुप रोजगारी र राजस्वसमेत वृद्धि हुन जाने अध्यक्ष ढकाल बताउँछन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वोच्चको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोज शर्मा सिफारिस भएका छन्...

नेतृत्व हस्तान्तरण पश्चात चन्द्र ढकालको भावुक वक्तव्य

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले भावुक...

नेपालकै पहिलो टियर IV हाइपरस्केल डाटा सेन्टर निर्माणको घोषणा, यस्ता छन् विशेषता

नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने र देशको डाटा सुरक्षालाई...

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...
spot_img