युनिलिभर नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४७ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको भन्दा १३.४९ प्रतिशतले नाफा बढाएको हो ।
गत वर्ष यस अवधिमा कम्पनीले ४२ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी ५.५१ प्रतिशतले बढेको छ । गत वर्ष १ अर्ब ८४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीको यो त्रैमासमा १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ ।
हाल युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा ४ अर्ब १७ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्ष यसै अवधिमा रिटेन्ड अर्निङ ३ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो ।
नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । गत वर्ष २ हजार ७५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर २ हजार ९७ रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ पनि ४ हजार २१४ रुपैयाँबाट बढेर ४ हजार ६४१ रुपैयाँ कायम भएको छ ।












