ङादी ग्रुप पावरले निष्काशन गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरिएको छ । यसअघि कम्पनीले माघ १४ गतेसम्म आवेदन दिन सकिने गरि हकप्रद सेयर बिक्री खुला गरेकोमा अब माघ २९ गतेसम्म आवेदन दिन सकिने गरि म्याद थप गरिएको छ ।
कम्पनीले यसअघि तोकिएको अवधिमा मागअनुसार आवेदन नपरेकाले आवेदन दिने समय थप गरेको हो ।
ङादी ग्रुप पावरले पुस २३ गतेदेखि १ः१ अनुपातमा १ सय रुपैयाँ अंकित मूल्यमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता हकप्रद सेयर जारी गरेको हो ।
यस हकप्रद सेयरका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गरेको थियो । मंसिर १७ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले यस प्रयोजनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । हकप्रदमा सिद्धार्थ क्यापिटल काठमाडौं र सिद्धार्थ बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ रहेको छ भने हकप्रद जारी भएपछि चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।
कम्पनीले हकप्रद सेयरबाट आउने रकम आयोजनाको मर्मत सम्भारका साथै ऋण तिर्न र नयाँ आयोजना बनाउन प्रयोग गर्नेछ ।













