Sunday, May 3, 2026
spot_img
spot_img

लामो समय शिथिल रहेको अर्थतन्त्र एकै पटक माथि उठ्न अप्ठेरो हुन्छ

spot_img
spot_img

विष्णु प्रसाद पौडेल

अर्थतन्त्र गम्भीर प्रकृतिका समस्याबाट बाहिर निस्कदै छ । अब निराश भएर बसिराख्नुपर्ने अवस्था छैन । विगतकाको तुलनामा आशावादी भए पनि अर्थतन्त्रका अवयबहरुले अझ उत्साहित बनाउन सकेको छैन । सरकारले अर्थतन्त्रलाई लयमा फर्काउन प्रयासहरु गरिनै रहेको छ ।

चालु आर्थिक वर्षको त्रैमासिक तथ्यांक हेर्दा अर्थतन्त्रको बाह्य क्षेत्रमा राम्रो सुधार देखिन्छ । विप्रेषण आप्रवाह ११.५ प्रतिशतले बढेको छ । शोधानान्तर स्थिति एक खर्ब ८४ अर्ब बचतमा छ । असोजसम्म २२ खर्ब ३२ अर्ब रूपैयाँ पुगेको विदेशी विनियम सञ्चितिले करिब १४ महिनाको वस्तु र सेवा आयात धान्न सक्ने क्षमता राख्छ । मुद्रा स्फीति लक्षित सीमाभन्दा कम अर्थात् ४.८२ प्रतिशतमा सीमित छ । बैक तथा वित्तीय संस्थाको निक्षेप २६ प्रतिशतले बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा पनि २५ प्रतिशतले बढेको छ । यसको अर्थ बजारमा पर्याप्त पैसा छ । बैकको ब्याजदर घटेको छ । ऋण लिनेहरुले ७/८ प्रतिशत ब्याजमै सजिलै कर्जा पाउने अवस्था सिर्जना भएको छ । सबैभन्दा खुसीको विषय नेपालको इतिहासमै पहिलोपटक सार्वभौम साख मूल्यांकन (कन्ट्री क्रेडिट रेटिङ) भएको छ । क्रेडिट रेटिङले मुलुकको वास्तविक अवस्था उजागर गरिदिएकाले वैदेशिक लगानीकर्तालाई नेपालमा लगानी गर्न थप उत्साहित बनाउने अवस्था छ । पहिलो पटकको रेटिङमै नेपालमा दक्षिण एसियामै भारतपछि राम्रो अर्थतन्त्र भएको मुलुकमा गनिएको मात्र छैन नेपाली अर्थतन्त्र विश्यव्यापी रुपमै पारदर्शी छ भन्ने सन्देश गएको छ । क्रेडिट रेटिङले नेपाली अर्थतन्त्र अपारदर्शी छ भन्नेहरुका लागि जवाफ मिलेको छ ।

बाह्य क्षेत्रका सूचक र आन्तरिक केही आधारहरु हेर्दा हामी सहज अवस्थामा भएको देखिए पनि अर्थतन्त्रमा केही अप्ठ्यारो अवस्थामा छ । नेपाली अर्थतन्त्र यतिबेला आन्तरिक दबाबमा छ र यो परिस्थिति कसैबाट लुकाउनुपर्ने अवस्था छैन । रेमिट्यान्स बढेको, ब्याजदर घटेको, वित्तीय क्षेत्रमा अधिक तरलता रहेको अवस्था हुँदाहुँदै पनि बजारमा माग अपेक्षित रूपमा बढ्न सकेको छैन । माग नभएपछि उद्योगहरु पूर्णरुपमा सञ्चालन भएनन् ।

चालु वर्षको तीन महिनामा गत वर्षकै तुलनामा निर्यात ६.१ प्रतिशतले घटेको देखाउँछ । त्यसको असर रोजगारीमा परेको छ । फेरि तथ्यांकले स्वदेशी उद्योगको उत्पादन घटेर विदेशी वस्तु आयात बढेको पनि देखाउँदैन । दरौं-तिहारकै समयमा वस्तुको आयात तुलनात्मक रुपमा घटेको छ । अघिल्लो वर्ष घटेकै आयातमा चालु वर्ष फेरि ४.२ प्रतिशतले झन् गिरावट आउनु सोचनीय विषय छ । उच्च ब्याजदर र ऋण पाउन मुस्किलको अवस्थाबाट सुधार भए पनि रकम उत्पादन मुलुक क्षेत्रमा लगानी हुन सकिरहेको छैन ।

अर्थ मन्त्रालयको नेतृत्व सम्हाल्दा व्यवसायीमा मनोबल विकास गर्छु । लगानी बढाउँछु भन्ने विश्वास थियो । तर, सोचअनुसार परिणाम निस्किरहेको छैन । त्यसको मुख्य कारण लामो समय शिथिलतामा रहेको अर्थतन्त्र एकैपटक माथि उठ्न अप्ठ्यारो हुन्छ । अर्थतन्त्रको दबाब निजी क्षेत्रमा धेरै परेका कारण पनि यस्तो भएको हो । मौद्रिक नीतिमार्फत निजी क्षेत्रलाई सहज बनाउने प्रयास गरिएका कारण आर्थिक दबाबबीच निजी क्षेत्र विस्तारै बाहिर निस्किँदै छ । उद्यमीहरु लगानी वृद्धि गरी उत्पादन बढाउन खोजे पनि वातावरण बनिसकेको छैन । यसले अर्थतन्त्रमा केही समस्या छन् भन्ने देखाउँछ । सरकार निजी क्षेत्रसँगै सर्वसाधारणको मनोबल बढाउन प्रयासरत छ ।

अर्थतन्त्रको ऐनाका रूपमा हेरिने पुँजीबजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) लामो समय १८००-२००० को बीचमा रूमल्लिएको अवस्थाबाट अघि बढेर चालु आर्थिक वर्षमा तीन हजारसम्म पुग्यो र अहिले २७-२८ सय आसपासमा छ । समग्र कारोबार रकम पनि बढ्दो छ । लगानीकर्ता पूरै निराश भएर लगानी नभएको अवस्था छैन । अर्थतन्त्रमा सुधार हुँदै छ भनेर व्यवसायीहरु मानसिक रूपमा तयार भएर लगानी विस्तार गर्न अग्रसर भएसँगै बजार अघि बढ्नेछ । त्यसले आन्तरिक खपत बढाउँछ र रोजागारीका अवसरहरु सिर्जना हुन्छन् । त्यसैले अर्थतन्त्र चलायमान हुने आधार विस्तारै तयार भइरहेकाले छिटै राम्रो लयमा अघि बढ्छ भन्ने विश्वास छ ।

सरकारी वित्तको अवस्था
केही वर्षदेखि सरकारी वित्तको अवस्था खस्किँदो छ । राजस्व परिचालनको अहिलेको अवस्थामा चित्त बुझाएर बस्ने ठाउँ छैन । चौमासिकसम्म तीन खर्ब २८ अर्ब रूपैयाँ राजस्व संकलन भएको छ । लक्ष्य भेट्न अझै ११ खर्ब राजस्व उठाउनुपर्छ । लक्ष्यअनुरूप राजस्व संकलन नभए बजेट कार्यान्वयनमा समस्या हुन्छ । चालु वर्ष राजस्वले लक्ष्य भेटेन भने आगामी वर्षको बजेट निर्माणमा पनि समस्या हुन्छ । राजस्व प्रशासनलाई प्रभावकारी बनाएर उत्पादन र उत्पादकत्वमा बढाउनुपर्छ ।

वास्तवमै राजस्वको लक्ष्य ठुलो बनाएर चालु बजेट ल्याइएकाले कार्यान्वयनमा धेरै चुनौती छन् । गत वर्षको यथार्थ राजस्व संकलनको तुलनामा चालु वर्ष ३० प्रतिशत बढी राजस्व संकलनको लक्ष्य राखिँदा अप्ठ्यारो हुने अवस्था आएको छ । गत आर्थिक वर्षमा १० खर्ब ८२ अर्ब रूपैयाँ मात्रै राजस्व संकलन भएको थियो । अर्थतन्त्र दबाब र शिथिलताकै अवस्थामा उच्च लक्ष्य पूरा गर्ने कुरा मामुली विषय होइन । यद्यपि बजेटले राखेका लक्ष्य पूरा गर्ने उद्देश्यका साथ अहिले काम भइरहेको छ ।
राजस्व संकलनको प्रभाव बजेट कार्यन्वयनमा पर्छ भन्ने विषय निर्विवाद छ । सरकारको ध्यान चालु बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी आगामी वर्षको बजेट तुलनात्मक रूपले सहज बनाउनेतर्फ केन्द्रित छ ।

चालु वर्षमै बाढी-पहिरोसहित प्राकृतिक विपत्तिबाट समग्र अर्थतन्त्रमै असर पुग्ने गरी वर्षायाममा कल्पनाभन्दा बढी क्षतिको सामना गर्नुपरेको छ । दैनिक अबको वस्तु कारोबार हुने राजधानी सम्बन्धविच्छेदको अवस्थामा पुग्यो । चालु वर्ष बाढी-पहिरोको प्रभावका कारण आयात घटेको अनुमान छ । तर, यो स्थिति अब सधै रहँदैन । अर्थतन्त्र राम्रो गतितर्फ अघि बढ्दै छ भन्ने विश्वास जागेका दिन वस्तुको माग तथा खपत बढ्छ र त्यसको प्रभाव राजस्वमा पनि देखिइहाल्छ ।

खर्च प्रणालीका समस्या
हाम्रो खर्च प्रणालीमा निश्चित प्रकारका समस्या रहँदै आएका छन् । आर्थिक वर्षको सुरुका महिनामा पुँजीगत खर्च न्यून मात्रामा हुने र अन्तिमतिर तुलनात्मक रूपले बढी हुने गरेको छ । चालु खर्च भने स्वतः भइरहेकै हुन्छ । खर्चको पहिलो चौमासिक आँकडा हेर्दा चालु खर्च दुई खर्ब ९६ अर्ब र पुँजीगत खर्च ३४ अर्ब रूपैयाँ छ । चालु खर्च करिब २५ प्रतिशत हुँदा पुँजीगत १० प्रतिशत पुऱ्याउन सकिएको छैन । अहिले सबै मन्त्रालयबीच समन्वय गरेर सुधारको प्रयास भइरहेको छ । सिर्जित भुक्तानी दायित्व पूरा गर्ने र पूर्वधार आयोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिँदै पुँजीगत खर्च वृद्धि गर्न सरकार क्रियाशील छ ।

निर्माण व्यवसायीले लामो समय भुक्तानी नपाएको गुनासो छ । सरकारको नेतृत्व लिएपछि भुक्तानी गर्ने वाचा गरेअनुरूप केही रकम भुक्तानी भइसकेको छ । सरकारी सिर्जित दायित्वमा आलटाल गर्नु हुँदैन । तर, पहिलो त्रैमासिकमा रकमान्तर गर्न सक्ने अवस्था हुँदैन । त्यसैले अनावश्यक ठाउँमा राखिएका कतिपय बजेट रकमान्तर गरेरै भए पनि दोस्रो त्रैमासिकबाट अनिवार्य भुक्तानी दायित्व तिर्ने काम सुरू भएको छ । निर्माण व्यवसायीको दाबी अनुसारको भुक्तानी अब धेरै दिन बाँकी हुँदैन । अब काम गरिसकेको भुक्तानी पाउन व्यवसायीले आन्दोलन वा दबाब दिइराख्न पर्दैन । दातृ निकायले प्रतिबद्धता जनाएको रकम नआउँदा पनि कतिपय भुक्तानीमा समस्या आएको छ । अहिले २१ अर्ब रूपैयाँभन्दा बढी शोधभर्ना बाँकी छ । शोधभर्ना लिन सधै दातृ निकायलाई घचघच्याउनुपर्ने अवस्थाको अन्त्य गरी प्रणालीगत रूपमा स्वतः रकम आउने वातावरण बनाउन सकियो भने भुक्तानीको समस्या केही हदसम्म समाधान हुन्छ ।

अनावश्यक ठुलो बजेट कार्यान्वयनका चुनौती
गत आर्थिक वर्ष कुल सरकारी खर्च १४ खर्ब आठ अर्ब रूपैयाँ भयो । तर, चालु वर्ष १८ खर्ब ६० अर्ब अर्थात् गत वर्ष कार्यान्वयन भएको भन्दा साढे चार खर्ब ठुलो बजेट आएको छ । विगतका वर्षदेखि नै एउटा व्यक्तिले बजेट ल्याउने र अर्कोले कार्यान्यवन गर्नुपर्ने परिस्थिति सिर्जना भइरहेको छ । यसले बजेट कार्यान्वयनमा केही अप्ठ्यारो हुने गरेको छ । तर, जिम्मेवारीबाट भाग्न मिल्दैन । अध्ययन नभएका, पूर्वतयारीको कुनै पनि काम नभएका र आवश्यकता एकिन नभएका योजनाहरु जबरजस्ती चालु बजेटमा समेटिएको छ । गत वर्षसम्म नेपाल सरकारका करिब सात हजार योजना रहेकामा चालु वर्षमा नयाँ ११ हजार थपेर १८ हजार पुऱ्याइएको छ । यसले पनि देखाउँछ, चालु बजेट कार्यान्वयनको जटिलता। त्यसैले चालु बजेट कार्यान्वयनमा लैजाँदा केही चयनात्मक (सेलेक्टिभ) हुनुपर्छ । राष्ट्रिय गौरवका राष्ट्रिय प्राथमिकता प्राप्त, निर्माणाधीन अवस्थाका र राम्रो प्रतिफल दिने आयोजना छनोट गरेर बजेट खर्च हुन्छ । चालु बजेटमा सूचीकृत गरिएका अनगिन्ती आयोजनाहरुको अध्ययन गरी आवश्यकता र औचित्यका आयोजना अघि बढ्छन् ।

चालु बजेट कार्यान्वयनमा देखिएका जटिलताबाट केही सिक्नुपर्छ । बजेट निर्माण गर्दाका मान्यतालाई तोड्नु हुँदैन । विगतमा बजेट निर्माण गर्दा बनाइएका केही मान्यता, प्रणाली र अनुशासन तोडेर चालु वर्षको बजेट आएका कारण केही अप्ठ्यारो अवस्था आएको हो । बजेट बनाउँदा योजना छनोटमा बढी ध्यान दिनुपर्छ । मुख्यतः योजनाको आवश्यकता पहिचान हुनुपर्छ । आयोजनाको अध्ययन भई विस्तृत परियोजना प्रतिवेदन तयार भएर लागत निश्चित भएपछि मात्रै बजेट छुट्याउनुपर्छ । आयोजना त जति पनि थप्न सकिन्छ । आयोजना सूचीकृत गर्नुअघि अर्थ मन्त्रालयले स्रोत कहाँबाट ल्याउने भन्ने तय हुनुपर्छ । आयोजना सकिन कति समय लाग्छ ? त्यसले समग्रमा कस्तो प्रतिफल दिन्छ स्पष्टता हुनुपर्छ ।  अनावश्यक योजना सूचीकृत गर्ने तर, कार्यान्वयन गर्न नसक्ने अवस्थाबाट माथि ननिस्कएसम्म बजेट कार्यान्वयनका जटिलता सधै रहिरहन्छ । बजेट कार्यक्रममा रहेका योजना ठेक्का लगाउनै समस्या छ । नयाँ ठेक्काका सम्बन्धमा सम्बन्धित मन्त्रालयहरुले गृहकार्य गरिरहेका छन् । अध्ययन भएर पूर्वतयारीका आयोजनामा ठेक्का लगाउन ढिलाइ हुँदैन । तर, पूर्वतयारीकै काम नभएका योजनामा ठेक्का कसरी लगाउने ? समयमा ठेक्का नलाग्दा बजेट कार्यान्वयन नभएको विश्लेषण हुन्छ । नयाँ ठेक्का मात्रै होइन चालु रहेका ठेक्कामा समेत छुट्याएको बजेट खर्च नभइरहेको स्थिति छ । खर्च बढाउन अहिलेका ठेक्कालाई छिटो काम सम्पन्न गराउनतर्फ सबै निकाय जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्छ ।

राजस्वले पुँजीगत खर्च धान्दैन

पुँजीगत खर्चभन्दा वित्तीय खर्च बढ्दै गएको छ । राजस्वबाट पुँजीगत खर्च गर्न सक्ने अवस्था छैन । सरकारले उठाउने राजस्व साधारण खर्च धान्नेमा ठिक्क हुन्छ । पूर्वधार आयोजनाका लागि ऋण वा अनुदान ल्याउनु अहिलेको बाध्यता हो । अनुदान कुरेर ३/४ आयोजना बनाउन सकिएला तर, ‘कनेक्टिभिटी पूर्वधार बनाउन ऋण ल्याउनै पर्ने बाध्यात्मक अवस्था छ । त्यसैले पूर्वधार आयोजना छनोट गर्दा बढी ध्यान दिनुपर्छ । देशभित्र रहेका अनगिन्ती आवश्यकतालाई राज्यले प्राथमिकता निर्धारण गरेर अघि बढ्नुपर्छ । एकैपटक सबै आयोजना बनाउन सकिँदैन । क्रमशः आयोजना निर्माण गर्दै जानुपर्छ । पूर्वधारमा लगानी गर्ने ऋण सही र उच्चतम् प्रतिफल हुने गरी खर्च हुनुपर्छ ।

दीर्घकालका लागि ऋणभन्दा राजस्व परिचालनमा बढी ध्यान दिनुपर्छ । यसका लागि मुख्यतः तीनवटा काम गर्नुपर्छ । करदातामैत्री व्यवहार हुनुपर्छ । कर प्रशासनले करदातामैत्री व्यवहार सुनिश्चित गर्नुपर्छ । कर तिर्नुपर्छ भन्ने अभियानलाई आमनागरिकमा स्थापित गर्नुपर्छ । दोस्रो- करका दायरा विस्तार गर्नेमा सरकारले ध्यान केन्द्रित गरेको छ । एउटै वस्तुमा कर थोपर्दै जानुभन्दा बजारमा नयाँ सुरू भएका व्यवसाय र कर प्रणालीबाहिर रहेका कतिपय पुराना व्यवसायलाई कर प्रणालीभित्रै ल्याउनुपर्छ । तेस्रो- राजस्व चुहावट नियन्त्रण गरी कर प्रशासनलाई चुस्तदुरूस्त राख्नुपर्छ । कर तिर्दिनँ भनेर चुनौती दिने, भन्सार नाकाबाट चोरीपैठारीबाट अवैध वस्तु आयात गर्ने काम रोक्न कर प्रशासनले चनाखो भएर काम गर्नुपर्छ । सीमा क्षेत्रको वस्तुको मूल्यमा ध्यान दिएर करका दर हेरफेर गर्नुपर्छ । कर प्रशासनको सामर्थ्य र क्षमतालाई अझै बढाउनुपर्छ र त्यसका लागि सरकार सक्रिय भइरहेको छ । त्यस्तै, वैदेशिक ऋण र अनुदानलाई मुलुकको आवश्यकता र प्राथमिकताका आधारमा लिई उपयोग गर्नुपर्छ । कुन आयोजनामा ऋण लिने भन्ने स्पष्टता हुनुपर्छ । विदेशीले ऋण दिन्छु भन्दैमा आयोजना छनोटमा निरपेक्ष बस्नु हुँदैन ।

(पौडेल उपप्रधान तथा अर्थमन्त्री र नेकपा एमालेका उपाध्यक्ष हुन्। उनको यो लेख नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को वार्षिक जर्नल अर्थचित्र २०८१ बाट साभार गरिएको हो । )

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img