अमेरिका र इरानबीच चलेको युद्ध समाप्त गर्नका लागि एक पृष्ठको सम्झौता प्रस्तावमा छलफल तीव्र भएको छ। १४ बुँदे सम्झौताको लागि दुई पक्ष सकारात्मक र नजिक पुगेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।
सम्झौताको मस्यौदामा युद्धको अन्त्य घोषणा गर्ने, स्ट्रेट अफ होर्मुज खुला गर्ने, इरानको न्यूक्लियर कार्यक्रममा सीमा लगाउने र अमेरिकी प्रतिबन्ध हटाउने विषय समावेश छन्। त्यस्तै इरानले युरेनियम संवर्धनमा अस्थायी रोक (मोरेटोरियम) लगाउने, स्टकपाइल अमेरिकालाई हस्तान्तरण वा सीमित गर्ने तथा १२–१५ वर्ष वा २० वर्षसम्म उच्च संवर्धन रोक्ने प्रस्ताव छ। सो पछि पनि कम स्तर (३.६७%) मा मात्र अनुमति हुने मस्यौदामा उल्लेख छ।
त्यस्तै होर्मुजमा इरानले नाकाबन्दी हटाउने, अमेरिकाले आफ्नो नौसेना ब्लकेड हटाउने र ३० दिनभित्र पूर्ण कार्यान्वयन गर्ने विषयमा मस्यौदामा समावेश छ । अन्य बुँदामा अमेरिकाले इरानी फ्रोजन फन्ड रिलिज गर्ने, र दुवै पक्षले ३० दिनमा थप वार्ता गर्ने उल्लेख छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो २४ घण्टामा निकै राम्रो कुराकानी गरिएको र सम्झौता हुने सम्भावना धेरै रहेको बताएका छन्।” यदि सम्झौता भएन भने “अझ तीव्र बमबारी” गर्ने चेतावनी उनले दिएका छन्।
इरानले भने अमेरिकी प्रस्ताव “अझै विचाराधीन” रहेको बताएको छ। आफ्नो १४-बुँदे मागमा जोड दिँदै प्रतिबन्ध पूर्ण हटाउने र क्षेत्रीय सुरक्षा मागिरहेको छ। इरानी अधिकारीले “अझै अन्तिम जवाफ दिइसकेका छैनौं” भनेका छन्।
अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार दुवै पक्षले प्रगति स्वीकार गरेका छन्। तर विगतका वार्ता (इस्लामाबाद, जेनेभा) मा अन्तिम घडीमा असफल भएकोले सम्झौता हुने सम्भावना मध्यम रहेको बताईएको छ ।
यो युद्ध फेब्रुअरी २०२६ मा सुरु भएको हो । अप्रिलमा पाकिस्तान मध्यस्थतामा २ हप्ताको युद्दविराम भएको थियो तर होर्मुज विवादले तनाव कायम छ। होर्मुज बन्द हुँदा विश्व तेल आपूर्तिमा प्रभाव परेको छ र ग्यासको मूल्य बढेको छ। युद्दका कारण इरानतर्फ हजारौं मृत्यु भएको छ भने अमेरिका-इजरायल पक्षमा पनि क्षति पुगेको छ।













