बुधबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एयरलायन्सको जहाजमा १९ जना सवार रहेको पाईएको छ । सो जहाजको पाइलट मनिष शाक्य थिए भने कोपाइलट एस कटुवाल रहेका थिए।
बाँकि १७ जना सौर्य एयरलायन्स कै कर्मचारी थिए । जस मध्ये १६ पुरुष र १ महिला रहेका छन् । विमानमा रहेका सौर्यका कर्मचारीहरुमा अमित मान महर्जन, सागर आचार्य, दिलिप वर्मा, मनुराज शर्मा, आश्विन निरौला, सुदिपलाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकर, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्य रत्न शाही र अरेफ रेडा (विदेशी नागरिक) रहेका छन् ।
यी मध्ये १५ जनाको मृत्यु भएको र ४ जनाको उद्दाहर गरि ३ जनाको टिचिङ तथा एक जनाको केएमसी अस्पतालमा उपचार भईरहेको नेपाल प्रहरीले जनाएको छ । जहाज उडाईरहेका क्याप्टेन मनिष थापाको उद्दार गरि सिनामंगलस्थित केएमसी अस्पताल लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
९एन-एएमई कल साइनको सो जहाज मर्मतको लागि एयरलायन्स कै इन्जीनियर र अन्य कर्मचारी बोकेर पोखराको लागि उडेको थियो । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार सो जहाज प्राविधिक परीक्षणका लागि पोखरा जान लागेको थियो ।
जहाज बुधबार बिहान ११ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटना भए लगत्तै विमानमा आगो लागेको थियो ।