नेपाल उद्योग परिसंघले नेपाल गुणस्तर तथा नापतौल विभागलाई प्रयोगशाला यन्त्र सहयोग गरेको छ । परिसंघले जुत्ता तथा गार्मेन्टको गुणस्तर परीक्षण गर्न आवश्यक पर्ने करिब २० लाख रुपैयाँ बराबरका यन्त्र तथा उपकरण हस्तान्तरण गरेको हो ।
जेनजी आन्दोलनका क्रममा आगलागी तथा तोडफोडबाट विभागको प्रयोगशालामा क्षति पुगेको थियो । माघ २७ गते नेपाल गुणस्तर तथा नापतौल विभागमा आयोजित कार्यक्रममा परिसंघले उक्त उपकरणहरु हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्वदेशी वस्तुको उत्पादन एवं बजारीकरणमा गुणस्तर प्रमाणीकरण अत्यन्त महत्त्वपूर्ण रहेको बताए । उनले उत्पादनको प्रमाणीकरण कार्यलाई सहज बनाएर निजी क्षेत्रका उद्यमीलाई व्यवसाय प्रवर्द्धनमा सघाउने उद्देश्यले विभागलाई जुत्ता तथा गार्मेन्टको गुणस्तर परीक्षणमा आवश्यक पर्ने यन्त्र तथा उपकरणहरु उपलब्ध गराइएको बताए ।
सीएनआईबाट यस प्रकारको सहयोग निरन्तर रहने प्रतिवद्धता समेत व्यक्त गर्दै उनले यन्त्र उपकरणहरु ग्रहणका लागि विभाग एवं विभागका महानिर्देशकप्रति हार्दिक आभार एवं कृतज्ञतामसते व्यक्त गरे ।
विभागका महानिर्देशक ज्योति जोशी भट्टले जेनजी आन्दोलनका दौरान विभागमा नोक्सानी पुग्नुका साथै प्रयोगशालाका सामग्री तथा उपकरणहरु समेत नष्ट भएकाले स्वदेशी वस्तुहरुको गुणस्तर परीक्षण गर्न समस्या भइरहेको बताइन् ।
उनले विभागमा गुणस्तर प्रमाणिकरणका लागि आफ्नै प्रयोगशालामा परीक्षण सुविधा उपलब्ध नहुँदा छिमेकी मुलुकमा स्याम्पल पठाउनु पर्ने र यसबाट परीक्षण लागत र समय दुवै धेरै लाग्ने बताइन । जसले गर्दा वस्तुको समग्र उत्पादन लागत नै बढेर प्रतिस्पर्धी क्षमतामा धक्का पुग्ने महानिर्देशक भट्टको भनाइ छ ।
उपकरण हस्तान्तरण कार्यक्रममा फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशनका अध्यक्ष सुरज बन्जाडे पनि उपस्थित थिए ।












