नेपाली बजारमा पछिल्लो साता ग्यासको अभाव देखिएको छ । उपभोक्ताले माग अनुसार ग्यास नपाइरहेको गुनासो गर्न थालेका छन् । गत सातादेखि नै विभिन्न कम्पनीका बिक्रेता तथा डिलरहरुले सहज रुपमा ग्यास उपलब्ध गराउन सकेका छैनन् ।
भारतबाट जनवरी महिनाको पहिलो हप्तादेखि नै आयात कम हुन थालेको थियो । मागअनुसार एलपी ग्यास आयात नहुँदा त्यसको असर स्वरुप नेपाली बजारमा गत हप्ताबाटआपूर्ति असहज भएको हो । नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) को बरौनी रिफाइनरी केन्द्र अहिले मर्मत भइरहेकाले उक्त रिफाइनरीबाट माग अनुसार आयात हुन नसकेको हो । निगमले उक्त रिफाइनरीबाट कोटा अनुसारको ग्यास लोड हुन नसक्दा नेपालमा आपूर्ति असहज देखिएको जनाएको छ ।
नेपालमा खासगरीः बरौनी, मथुरा, पारादीप र दुर्गापुर रिफाइनरीबाट ग्यास आयात हुँदै आएको छ । यीमध्ये मथुरा रिफाइनरीबाट मात्रै नियमित ग्यास आइरहेको छ । बरौनी रिफाइनरीको पूरानो प्लान्ट मर्मत भइरहेकाले अहिले त्यहाँबाट नेपाल आउने ग्यास लोड नै हुन सकेको छैन ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार बरौनी रिफाइनरीबाट ग्यास लोड हुन नसकेको र अन्य रिफाइनरी प्लान्टबाट पनि भारतीय बजारमै खपत हुँदा नेपालमा ग्यासको आयात कम मात्रामा भइरहेको छ । ‘बरौनी रिफाइनरीको प्लान्ट मर्मत हुँदा त्यहाँबाट नेपाल आउने मात्रै होइन, भारतीय बजारमै खपत हुने ग्यास पनि कम मात्रामा गइरहेको छ’ उनले भने, ‘मुख्य रिफाइनरीबाटै काम मात्रामा ग्यास बजारमा आएपछि अन्य रिफाइनरीको पनि आन्तरिक बजार (भारत)मै माग बढ्यो । त्यहीँ भएर पारादीप र दुर्गापुर रिफाइनरीबाट पनि नेपालमा कम आपूर्ति भइरहेको छ ।’
भारतमै बढ्दो माग
यसैबीच, जाडोयाममा भारतमै ग्यासको माग बढ्छ । आन्तरिक बजारमै खपत बढ्ने भएकाले इन्डियन आयल कर्पोरेशन आन्तरिक माग पूरा गर्नमा केन्द्रित हुने गरेको निगमको भनाइ छ । आन्तरिक माग पूरा भएपछि मात्रै आईओसीले नेपालतर्फ निर्यात गर्छ ।
आईओसीले अहिले आन्तरिक मागलाई नै प्राथमिकतामा राखेको छ ।
नेपालमा प्रतिमहिना करिब ४८ हजार मेट्रिक टन ग्यास आवश्यक रहँदै आएको निगमको तथ्यांक छ । तर, जनवरी महिनामा करिब ४३ हजार मेट्रिक टन (अन्तिम विवरण आउन बाँकी) मात्रै ग्यास आयात भएको छ । यस आधारमा करिब ५ हजार टन कम आयात हुँदा त्यसको असर बजारमा देखिएको हो ।
यस्तै, पारादीप रिफाइनरी नेपालका लागि टाढा पर्छ । अहिले पारादीप रिफाइनरीमा गाडी पठाउनै पनि अभाव रहेको व्यवसायीहरु बताउँछन् । तर, अबको करिब एक हप्ताभित्र समस्या समाधान भएर आपुर्ति सहज हुने उनीहरुको विश्वास छ ।












