काठमाडौँ उपत्यकामा ‘राइड सेयरिङ सर्भिस’ लोकप्रयि मात्रै होइन, अत्यावश्यक जस्तै भइसकेको छ । राइड सेयरिङ सेवा अहिले काठमाडौँबाहिर पोखरा, बुटवल, भैरहवा, चितवन लगायतका शहरहरुमा पनि अभिङ्ग अंग जस्तै बनेका छन् ।
पठाओ, इन्ड्राइभ, याङ्गो जस्ता राइड सेयरिङ सेवा अहिले नेपालमा चल्तीमा छन् । टुटल, जुमजुम, सहारा जस्ता सेवा प्रदायक पनि बजारमा चलिरहेकै छन् । तर, पछिल्लो समय यी सेवाहरुले सुरक्षा चुनौति थपेको प्रयोगकर्ताहरु नै बताउन थालेका छन् ।
‘भ्लग’का नाममा महिला प्रयोगकर्ताको मानमर्दन
लोकप्रीय बनिरहेको राइड सेयरिङ सेवा प्रदायक पठाओ नेपालका प्रबन्ध निर्देशक अशिममान सिंह बस्न्यातका अनुसार राइड सेयरिङ सेवाकै कारण नेपालमा ‘पार्ट टाइम जब’ र ‘महिलाहरुमा पनि ओभर टाइम काम गर्ने संस्कृति’को सुरुवात भएको छ । श्रम ऐनले साँझ परेपछि महिलालाई ‘ओभर टाइम’ काम गर्न बन्देज लगाएको भएपनि अहिले राइड सेयरिङकै कारण महिलाहरु पनि निर्धक्क भएर ‘ओभर टाइम’ काम गर्न सक्ने भएको बस्न्यातको दाबी छ ।
साँझ ७ बजेपछि सार्वजनिक बस चल्दैनन्, महिलाहरुलाई अफिसबाट घरसम्म पुग्न असहज हुन्छ भनेर श्रम ऐनमा महिलालाई निश्चित समयपछि काममा लगाउन नपाइने प्रावधान राखिएको भएपनि अहिले क्रमशः त्यो अवस्था हट्दै गएको र यो सुधार हुनुमा राइड सेयरिङकै मुख्य योगदान रहेको बस्न्यातको भनाइ छ । तर, पछिल्लो समय पठाओ, इन्ड्राइभ जस्ता सेवा प्रदायकका राइडर वा चालकहरुले ‘भ्लग’का नाममा महिला प्रयोगकर्ताहरुको मानमर्दन गरिरहेका छन् ।
रात्रीकालिन व्यवसाय (दोहारी साँझ, डान्स बार वा क्लबहरु)मा काम गर्ने व्यक्तिहरु काम सकेर घर फर्किँदा अवेर हुने नै भयो । उनीहरुका लागि सजिलो विकल्प भनेकै राइड सेयरिङ सेवा हो । तर, महिला तथा युवतीहरु राइडरहरुको ‘भ्लग’को शिकार हुने क्रम बढ्न थालेको छ ।
रात्रीकालिन व्यवसायमा काम गर्ने महिला तथा युवतीहरु तथा मदिरा पिएका महिलाहरुसँग ‘कामुक’ गफ गर्ने र उक्त कुराकानीलाई रेकर्ड गरेर युट्युब तथा फेसबुकमा अपलोड गर्ने क्रम पछिल्लो समय बढिरहको छ । सामाजिक सञ्जालहरुमा पनि यस्ता भिडियोहरु छरपस्ट देख्न सकिन्छ ।
यी हुन् प्रतिनिधिमूलक उदाहारण
दीपक चाम्लिङ नाम गरेका व्यक्तिले डिसेम्बर २१ मा ‘म्याडमको नाइटको प्राइज कति ?’ शीर्षकमा भिडियो पोस्ट गरेका छन् । उक्त भिडियोमा उनी एक जना महिला सेवाग्राहीसँग कुराकानी गरिरहेको सुनिन्छ । चाम्लिङले पठाओभ्लग, इन्ड्राइभभ्लग जस्ता ह्यास ट्याग राखेका छन् । जहाँबाट उनी चालक हुन् भन्ने अझ प्रष्ट हुन्छ ।

डिसेम्बर १७ मा विकल मोटो भ्लग नामक फेसबुक प्रयोगकर्ताले ‘रातो ज्याकेट काण्ड’ शीर्षकमा एउटा भिडियो पोष्ट गरेका छन् । उनैले डिसेम्बर २२ मा ‘अबदेखि त प्यासेन्जर चढ्ने बितिक्कै अनुहार हेर्छु’ भनेर अर्को भिडियो पनि राखेका छन् ।

दीपक चाम्लिङ नामक फेसबुक प्रयोगकर्ताले डिसेम्बर ६ मा ‘म्याडम राती झ्याप भएपछि बाटोमा’ शीर्षकको भिडियो राखेका छन् । जसमा उनले मदिरा पिएकी महिला प्रयोगकर्तासँग कुराकानी गरेको सुनिन्छ ।
यस्ता अधिकांश भिडियोहरुमा महिलाहरुलाई प्रयोग गरिएको छ । यसले राइड सेयरिङ सेवा महिलाहरुका लागि असुरक्षित बन्दै गएको देखिन्छ । साथै, पुरुषहरु (जो प्रविधिसँग अभ्यस्त छैनन्, रेकर्ड भइरहेको छ भन्ने जानकारी नै पाउँदैनन्) पनि भ्लगको शिकार भएका छन् ।
के भन्छन् सेवा प्रदायक ?
पठाओ नेपालका प्रबन्ध निर्देशक अशिममान सिंह बस्न्यात राइडर तथा चालकहरुले आफ्नो सुरक्षाका लागि क्यामेरा राख्ने भएकाले आफूहरुले ‘क्यामेरा नराख्’ भन्न नमिल्ने बताउँछन् । ‘चालकहरुले नितान्त आफ्नो सुरक्षाका लागि क्यामेरा लगाउने हुन्, हामीले क्यामेरा नराख् भन्न मिल्दैन । विदेशतिर त झन अनिवार्य नै छ’ उनले भने, ‘अब आपत्तिजनक फुटेजहरु सोसल मिडिया वा युट्युबमा राखेको छ भने त्यो प्रहरीको साइबर ब्यूरोमा गएर उजुरी दिन सकिने विषय भयो ।’
उनले चालक र सेवाग्राहीबीच भएको कुराकानीका फुटेजहरु ‘मिस यूज’ भएको भए वा ति फुटेजहरु चालक तथा राइडरले सोसल मिडियामा राखिदिँदा आफूलाई ‘ह्यारेसमेन्ट’ गरेको अनुभूति भएमा सेवाग्राहीले प्रहरीमा गएर उजुरी दिन सक्ने बताए । ‘हामी सेवा प्रदायक भएकाले राइडर र सेवाग्राही दूबैको सुरक्षाको पाटो हामीसँग सम्बन्धि हुने भयो, तर यो कुरा चाहिँ हामीसँग भन्दा पनि प्रहरीसँग बढी जोडिने भयो’ उनले भने ।












