बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले आज पुस १४ गते बजारबाट २५ अर्ब खिचेको छ। राष्ट्र बैङ्कको मौद्रिक व्यवस्थापन विभागले १ वर्ष अवधिको राष्ट्र बैंक ऋणपत्र जारी गरेर बोलकबोल मार्फत सो रकम खिचेको हो।
राष्ट्र बैंकले १ वर्ष अवधिको लागि नेपाल राष्ट्र बैंक ऋणपत्रको बोलकबोल गरेको थियो । यस उपकरणको नाम ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ (NRB Bond 2083 ‘Ka’) रहेको थियो। राष्ट्र बैंकले कुल २५ अर्ब आह्वान गरेको थियो।
तर बैंकहरुले त्यो भन्दा ४८.८२ अर्थात् १२ खर्ब २० अर्ब ५५ करोडको लागि आवेदन दिएका छन् । बैंकहरुबाट अत्यधिक माग भएपनि राष्ट्र बैंकले २५ अर्ब मात्रको ऋणपत्र निष्काशन गरेको छ। बोलकबोलबाट यस ऋणपत्रको ब्याजदर २.६४ प्रतिशत कायम भएको छ।
ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने व्यवस्था थियो। जसमा ३२ वटा बैंक तथा वित्तीय संस्थाले १२९ वटा आवेदन दिएका थिए।
बैंकहरुले न्यूनतम रु. ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने व्यवस्था थियो । राष्ट्र बैंकले २०८३ पुस १४ गते सावाँ फिर्ता गर्ने छ । ब्याज भुक्तानी भने अर्थवार्षिक रुपमा हुने छ। यस ऋणपत्रलाई राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने छ ।
ऋणपत्र निष्कासनको शर्त बमोजिमको अवधिमा निर्धारित ब्याज रकम तथा परिपक्व अवधिमा साँवा रकम बैंकले सम्बन्धित
काउण्टरपार्टीको यस बैंकमा रहेको खातामा जम्मा गरी दिनेछ । ऋणपत्रको स्वीकृत बोल रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइने छैन । तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नु पर्ने वैधानिक तरलता अनुपात (Statutory Liquidity Ratio) र खुद तरल सम्पत्ति अनुपात (Net Liquid Asset to Total Deposit Ratio) मा उक्त रकम गणना गर्न सकिनेछ ।
ऋणपत्रको परिपक्व मिति अगावै सो वापतको रकम फिर्ता दिइने छैन । स्वीकृत बोलपत्रअनुसार ऋणपत्र खरीद गर्ने काउण्टरपार्टीलाई विभागले नेपाल राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि (सातौं संशोधन, २०८१), २०७८ को अनुसूची–९ बमोजिमको प्रमाण–पत्र प्रदान गर्नेछ । परिपक्व मितिमा सो वापतको साँवा ब्याज भुक्तानी भएपछि उक्त प्रमाणपत्र स्वतः रद्द हुनेछ ।













