Friday, January 23, 2026
spot_img

बैङ्कमा थुप्रिएको पैसा बजारमा किन आएन ? प्रा.डा. गान्धि पण्डितको विचार

spot_img
spot_img

अहिले मुलुकको अर्थतन्त्र कमजोर अवस्थामा छ । रोजगारीको सिर्जना छैन, नयाँ उद्योगधन्दा स्थापना हुन सकेका छैनन् । अर्थतन्त्र चलायमान हुन सबैभन्दा बढी चलायमान हुनुपर्ने साना मझौला उद्यम व्यवसायको क्षेत्र ठप्प जस्तै छ । जसका कारण बजारमा ‘क्यास फ्लो’ हुन सकेको छैन ।

लगानी हुन नसक्दा खर्बौ रुपैयाँ पैसा बैङ्क तथा वित्तीय संस्थामा थुप्रिएको छ । यसको अर्थ खर्बौ पैसा कुनै उपयोगीता बिना स्थिर भएर बसेको छ । बैङ्कले लगानी गर्न नचाहेर पैसा थुप्रिएको होइन, बैङ्कले लगानी गर्न खोज्छ । उद्यम व्यवसायीले पनि ऋण लिएर उद्यम व्यवसाय चलाउन खोज्छन् । अहिले ऋण दिने पक्ष (बैङ्क तथा वित्तीय संस्था) पनि दिन सक्षम छ, लिने पक्ष (उद्यमी व्यवसायी) पनि लिन तयार छ । तर, यति हुँदाहुँदै पनि न दिनेले दिन सकेको छ, न लिनेले लिन पाएको छ ।

अहिलेसम्म बैङ्कमा पैसा थुप्रिएको छ । तर क्रमशः ब्याज घट्दो छ । बजारको महँगीको तुलनामा ब्याजदर कम हुँदा मान्छेले बैङ्कमा पैसा राख्न छोडेर सुनचाँदी जस्ता गरगहनामा बढी लगानी गर्न खोज्छन् । अहिले सुनको तोलाको डेढ लाख हाराहारीमा छ ।

यी यावत कुराहरु हेर्दा बैङ्कमा पैसा थुप्रिनु र लगानी नुहुनुमा दुई वटा पक्षको मुख्य कमजोरी छ । एउटा पक्ष राष्ट्र बैङ्क र अर्को पक्ष सरकार वा वित्त नीति बनाउने निकाय । यी दुइ पक्षबीच जुन तारतम्य हुनुपर्ने हो, अहिले नदेखिएको अवस्था छ । राष्ट्र बैङ्क भनेको बैङ्क तथा वित्तीय संस्थाको सुपरीवेक्षण, नियमन गर्ने निकाय हो । तर, राष्ट्र बैङ्कमा बैङ्कहरुको प्रभाव हाबी छ । केन्द्रीय बैङ्कको कार्यसम्पादन तथा सुपरीवेक्षण एवम् नियमनको तौरतरिका हेर्ने हो भने त्यहाँ बैकिङ्क क्षेत्र हाबी भएको देखिन्छ । बैकिङ्क क्षेत्र किन पनि हाबी छ भने, त्यहाँ राजनीतिक नेतृत्वदेखि प्रभाव पार्न सक्ने व्यक्तिको पैसा छ । यसकारण राष्ट्र बैङ्कले आजको दिनमा मौद्रिक नीति वा अरु जुनसुकै नीति देखाएपनि बैङ्कलाई मात्र संरक्षण गरेको छ । अर्थात् बैङ्कले मात्र नाफा आर्जन गरुन् भन्ने दृष्टिकोण राखेको छ ।

राष्ट्र बैङ्कको बटमलाइन नै के भयो भने बैङ्कमा भएको लगानी नडुबोस्, बैङ्कले हरेक वर्ष १० देखि १५ प्रतिशत नाफा कमाउन् । बैङ्क तथा वित्तीय संस्था पनि नाफामुखी नै हुन्, उनीहरुले सेवा मात्रै गर्नुपर्छ भन्ने हुँदैन । नाफा आर्जन गर्नका लागि खोलिएका व्यवसायहरुमा सधैँ नाफा मात्रै हुँदैन, नोक्सान ब्यहोर्न पनि तयार हुनुपर्छ । तर, बैङ्कको हकमा राष्ट्र बैङ्कले के नीति लिइरहेको छ भने, कमाउन चाहिँ जति नै कमाएपनि हुन्छ, यदि कमाइ घट्यो नै भनेपनि १५ प्रतिशत चाहिँ सुनिश्चित होस् । के कारण देखाएर राष्ट्र बैङ्क यसो भन्छ त ? बैङ्कमा सर्वसाधारणको निक्षेप हुन्छ, त्यो निक्षेप बचाउने दायित्व हाम्रो हो भन्छ । यसको अर्थ सर्वसाधारणको डिपोजिट बचाउने ‘सेन्टिमेन्ट’को च्यादर ओढेर राष्ट्र बैङ्कले बैङ्कहरुलाई फाइदाको ग्यारेन्टी गरिदिएको छ । आज निजी क्षेत्रको विकास ठप्प छ, उद्यम व्यवसाय ६० प्रतिशतले घटेको छ । मनोबल गिरेको अवस्था छ । तर, बैङ्कहरुले कमाएकै छन् ।

साथै, राष्ट्र बैङ्कको यस्तो नीति छ कि, बैङ्क सँगसँगै केही सिमित ठूला उद्यमी व्यवसायीलाई पनि संरक्षण पाएका छन् । जसले २ अर्ब, ४ अर्ब, ८ अर्ब, १० अर्ब ऋण लिएका छन्, त्यस्ता व्यवसायीहरुले ऋण तिर्न नसकेपनि, ब्याज तिर्न नसकेपनि उनीहरुलाई संरक्षण छ । कसरी संरक्षण छ भने बैङ्कले प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था गरेको छ । यदि कुनै ऋणीले आफूले लिएको ऋण समयमै तिरेन भने बैङ्कले जति रकम ऋण लगानी गरेको हो, त्यति बराबर प्रोभिजन गर्नुपर्छ । यसरी प्रोभिजन गरेको पैसा त बैङ्कमै रहन्छ, तर त्यो पैसा लाभांशका रुपमा बाँड्न प्रयोग गर्न पाइँदैन । २ अर्ब, ५ अर्ब, ७ अर्ब ऋण प्रोभिजन गर्नुपर्ने अवस्था आयो भने बैङ्कले लाभांश बाँड्नै सक्दैन । लाभांश बाँड्न नसकेपछि ‘शेयर भ्यालू’ घट्छ । यसकारण ठूला ऋणीलाई बैङ्कले नै आधार दर (बेस रेट)मै वा बेस रेटमा ०.५ प्रतिशत मात्रै प्रिमीयम थप गरेर ऋण दिन्छन् । मानौँ, बेस रेट ८ प्रतिशत छ भने अरु सामान्य ऋणीलाई ऋण दिँदा २ प्रतिशत, ३ प्रतिशत प्रिमीयम थप गरेर मात्रै ऋण दिने बैङ्कहरुले २ अर्ब, ५ अर्ब, ७ अर्ब ऋण लिनेहरुलाई बेस रेटमै वा त्यसमा ०.५ प्रतिशत थपेर ऋण दिएका हुन्छन् ।

यति मात्रै होइन, यदि त्यस्ता ऋणीहरु ‘डिफल्ट’ हुने अवस्था आयो भने बैङ्कले नै आफैँ ‘आईडीया’ दिएर बचाउँछ । यसको अर्थ, ठूला ऋणीलाई समस्या छैन । समस्या पर्ने भनेको साना उद्यमी व्यवसायीहरुलाई हो । उनीहरुले ऋण पनि महँगो ब्याजमा लिएका हुन्छन् । अनि तिर्न नसक्नासाथ बैङकहरुले सम्पत्ति लिलामी गर्छन् ।

सँगसँगै, बैङ्कमा डिपोजिट आएन भनेर तरलता बढाउनका लागि बैङ्कहरुले ब्याजदर बढाएर निक्षेप तान्ने गरेका छन् । ढेड वर्ष अगाडी निक्षेप संकलन बढाउने भनेर ब्याजदर बढाउँदा ९ प्रतिशतमा लिएको ऋण १६ प्रतिशतसम्म पुग्यो । त्यति नै बेला अर्थतन्त्र ओरालो लागेर बजार माग सुस्त थियो, निर्माण क्षेत्रदेखि सबै क्षेत्र अस्तब्यस्त थिए । उति नै बेला ब्याज बढ्दा ऋणीहरुले तिर्न सकेनन् र कालोसूचीमा पर्नेको दर निकै बढ्यो । कसैले ऋण तिर्न सम्पत्ति बेचे, कसैले बसिरहेको घरजग्गा बेचे । कसैको धितो राखेको सम्पत्ति लिलामी भयो । यसपछि बैङ्कबाट ऋण लिनु भनेको जोखिमयुक्त कदम रहेछ भन्ने सन्देश ब्याप्त भयो ।

अझ कतिपय बैङ्कहरुले त राम्रो राम्रो सम्पत्ति हत्याउन एक महिना, दुइ महिना किस्ता तिर्न छोड्नासाथ धितो लिलामीको प्रक्रियामा जाने गरेको पनि देखिएको छ । यस्तो बेलामा राष्ट्र बैङ्क निरीह भएर बसेको छ । बैङ्क सधैँ सही, उसको कतै त्रुटी नहुने, ऋणी चाहिँ सधैँ गलत नै हुन्छन् भन्ने भाष्य बनाइएको छ । बैङ्कले कुनै ऋणीको धितो लिलामी गर्न चाह्यो भने कसैले रोक्नै नसक्ने अवस्था छ । यसले ऋण लिनु भनेको जोखिमयुक्त कदम रहेछ भन्ने कुरालाई बल पु¥यायो ।

आज पनि ऋणीहरु ऋण लिन आएनन् भन्ने मात्रै बुझाई छ, यो मात्रै कारण होइन । आज ऋणको माग भएपनि साना उद्यमी व्यवसायीहरुले ऋण लिनका लागि पूरा गर्नै नसक्ने प्रक्रियागत झन्झट छ । कर तिरेको हुनुपर्ने, घरबहाल तिरेको हुनुपर्ने, घरबहाल सम्झौता गरेको हुनुपर्ने, मासिक रुपमा भने अनुसारको लगानी थप गर्दै लगेको हुनुपर्ने जस्ता शर्तहरुले ऋण लिनै नसक्ने बनाइदिएको छ । कागजात नै यति मागिन्छ कि, सामान्य मान्छेले ऋण लिएर व्यापार व्यवसाय गर्न सक्दै सक्दैन ।

एकातिर उद्योगधन्दालाई प्रोत्साहन गर्दैनौँ, आयात गर्नुपर्ने बाध्यता हुँदाहुँदै पनि आयातमा पनि अनेकौँ झन्झट लगाउने, उस्तै परे विदेशी मुद्राको सञ्चिति घट्यो भनेर आयात नै रोकिदिने पनि गछौँ । यी कारणले अर्थतन्त्रलाई ठूलो दबाव परेको छ । अहिलेको नयाँ सरकारले सबै कुराहरु बुझेर अर्थतन्त्र चलायमान बनाउन ठोस कदम चाल्न जरुरी छ । खासगरि, अर्थमन्त्री र गर्भनर बसेर सरकारको खर्च कसरी बढाउने र बजारमा कसरी पैसाको ‘फ्लो’ बढाउने भनेर योजना नै बनाएर अघि बढ्न आवश्यक देखिन्छ । राष्ट्र बैङ्क संवेदनशील र जिम्मेवार ढङ्गले प्रस्तुत हुनु आवश्यक छ भने अर्थ मन्त्रालयले आफ्नो बजेट खर्च गर्ने क्षमता विकास गर्नु जरुरी छ ।

यो अवस्थामा साना ऋणीहरुले ऋण लिँदा पूरा गर्नुपर्ने शर्तहरुलाई राष्ट्र बैङ्कल सरल बनाउनुपर्छ । सँगै, ऋणको ब्याजदर पनि केही समयलाई स्थायित्व हुने खालको नीति अवलम्बन गर्नुपर्छ । किनभने, अहिले लिएको ऋण केही महिनामै बढ्दा ऋणीहरुलाई मर्का पर्छ । साथसाथै, राष्ट्र बैङ्कले ऋण दिने बैङ्क तथा वित्तीय संस्थाहरुलाई र ऋण लिने उद्यमी व्यवसायीहरुलाई सन्तुलित व्यवहार गर्नुपर्छ । यसो हुँदा एक अर्कामा विश्वास पैदा हुन गई अर्थतन्त्रमा सकारात्मक योगदान पुग्छ ।

(प्रा.डा. गान्धि पण्डित वरिष्ठ अधिवक्ता हुन्)

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन

नेपाल लाइफ क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोष योजनाको...

पाल्पा सिमेन्टको वैदेशिक रोजगारी कोटाको आईपीओ आज बाँडफाँड हुँदै

पाल्पा सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ...

वैदेशिक रोजगारीमा रहेकाले शिखर पावरको आईपीओ भर्ने आज अन्तिम दिन

शिखर पावर डेभलपमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन...

५० मेगावाटको मर्स्याङ्दीवेसी जलविद्युत आयोजनाको अवरोध हट्यो, अब निर्माण सुरु हुने

लमजुङ जिल्लाका सबै राजनीतिक दलहरु ५० मेगावाट क्षमताको मर्स्याङ्दी...

SML ISUZU ब्राण्डका कमर्शियल सवारी साधन खरिद गर्दा रिलायन्स फाइनान्सले ऋण दिने

नेपालमा SML ISUZU ब्राण्डका कमर्शियल सवारी साधनहरूको एकमात्र वितरक...

मन्जुश्री फाईनान्सको २८औँ शाखा थापाथलीमा

मन्जुश्री फाईनान्सले आफ्नो २८औँ शाखा थापाथलीस्थित आफ्नै भवनबाट सञ्चालनमा...
spot_img
spot_img