विश्व चर्चित मिडिया बीबीसीले आज सार्वजनिक गरेको जेन्जी प्रदर्शनबारेको डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले पत्राचार गरेको छ । आयोगले प्रेस काउन्सिललाई पत्र लेखेर सो भिडियो हटाउनको लागि आवश्यक निर्णय गर्न भनेको हो।
निर्वाचन आचारसंहिता विपरित हुने र निर्वाचनको माहोल भाडिन सक्ने भएकोले सो सामग्री हटाउनको लागि पत्र लेखिएको आयोगले जनाएको छ ।
गत भदौमा नेपालमा भएको जेन्जी प्रदर्शनबारेको डकुमेन्ट्री बीबीसीले आज सार्वजनिक गरेको हो। नेपाल प्रहरीबाट प्राप्त गोप्य सूचना, संचार सम्पर्कको अडियो, र सामाजिक संजालमा राखिएका हजारौं भिडियोलाई विश्लेषण गरेर डकुमेन्ट्री तयार पारेको जनाएको छ । डकुमेन्ट्रीमा बीबीसीले टाइमलाइन सहित कुन समयमा के भयो, कति बजे गोली चल्न थाल्यो, सुरुमा मृत्यु भएकाहरुलाई कसरी गोली लाग्यो, र कसले गोली हान्ने आदेश दियो भन्ने बारे उल्लेख गरेको छ।
डकुमेन्ट्रीमा प्रहरीलाई KILO 1 बाट गोली हान्ने आदेश आएको र गोली हानेर स्थिति नियन्त्रणमा लिने आदेश आएको उल्लेख गरिएको छ। KILO 1 को नेतृत्वमा थिए जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुखको रुपमा रहेका बरिष्ठ उपरिक्षक (एसएसपी) विश्व अधिकारी । अर्थात् उनी जेन-जी आन्दोलनका बेला काठमाडौं प्रहरी प्रमुख रहेका थिए ।
डकुमेन्ट्रीमा उल्लेख भए अनुसार KILO 1 लाई पनि सो आदेश माथिबाट आएको थियो । KILO 1 लाई PETER 1 बाट १२:४० बजे कर्फ्यु लागि सकेको र गोली हान्नको लागि अर्को आदेश कुर्नु नपर्ने आदेश आएको डकुमेन्ट्रीमा दाबी गरिएको छ। PETER 1 भन्नाले नेपाल प्रहरीको आईजीपी भन्ने बुझिन्छ, त्यस समयमा आईजीपी चन्द्र कुवेंर खापुङ थिए । बीबीसीले आफ्ना स्रोतहरुको आधारमा PETER 1 बाट नै गोली हान्ने आदेश दिएको उल्लेख गरेको छ ।
तर नेपाल प्रहरीको प्रवक्ताले भने आइजीपीले गोली हान्ने आदेश नदिएको र सो आदेश जिल्लाको सुरक्षा समन्वय समितिको बैठकबाट आएको दाबी गरेको डकुमेन्ट्रीमा उल्लेख छ । जिल्लाको सुरक्षा समन्वय समितिको नेतृत्वमा भने काठमाडौँका सीडीओ छबिलाल रिजाल थिए । रिजालले आफुले सो आदेश नदिएको बताएका छन् । त्यस्तै गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी ओलीले पनि आफुले गोली हान्ने आदेश नदिएको बताएका छन् ।
दोस्रो दिनमा भने प्रहरीलाई आफ्नो , आफ्नो पोशाक, आफ्नो हतियार र आफ्ना गाडीको मात्र सुरक्षा गर्ने आदेश आएको डकुमेन्ट्रीमा भनिएको छ । दोस्रो दिनको लागि दिउँसो भिडलाई रोक्न सकिन्छ भने मात्र अश्रु ग्यास प्रयोग गर्ने र नसकिने भएमा आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्न आदेश आएको डकुमेन्ट्रीमा उल्लेख छ ।
हेर्नुस् डकुमेन्ट्री












