Friday, January 24, 2025
spot_img

केपी शर्मा ओलीः किसान परिवारमा जन्म, ४ पटक प्रधानमन्त्री

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार मुलुकको ४५औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । यसअघि ३ पटक प्रधानमन्त्री भइसकेका ओली चौथो पटक नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ (२) बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

निम्न मध्यम वर्गीय परिवारमा बुबा मोहनप्रसाद र आमा मधुमाया ओलीको सुपुत्रका रुपमा जन्मिएका ओली लोकतन्त्रका लागि सङ्घर्ष, जेलनेल, पटकपटक कठोर यातना भोग्ने सीमित नेताहरुमा पर्छन् । पूर्वी पहाडी जिल्ला तेह्रथुमको आठराईस्थित इवा गाउँको किसान परिवारमा २००८ साल फागुन ११ गते जन्मिएका ओली ४ वर्षको हुँदा नै आमा गुमाउन पुगे । आमा गुमाएपछि उनी हजुरआमा रमादेवीको पालन-पोषणमा हुर्के ।

तेह्रथुम छोडेर २०२० सालमा ओलीको परिवार झापा झर्यो ।

ओलीको राजनीतिक उदय झापा आन्दोलनबाट भएको हो । राजतन्त्रसहितको पञ्चायती शासन व्यवस्थाको विरोधसहित लोकतन्त्र, समानता, सामाजिक न्याय, भेदभावरहित समाजका लागि कम्युनिष्टहरुको सहभागितामा भएको आन्दोलनमा उनको नेतृत्वदायी भूमिका रह्यो ।

करिब छ दशक लामो राजनीतिक यात्राका क्रममा १४ वर्ष कठोर जेलजीवन बिताएका ओली ९औँ महाधिवेशनबाट नेकपा एमालेको अध्यक्ष बने । २०७८ मङ्सिरमा चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः दोहोरिए ।

१५ वर्षको उमेरमै २०२३ सालमा माक्र्सवादी अध्ययन दलमा सामेल भएका उनी २०२६ माघमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएर पूर्णकालिन कार्यकर्ता बने । उनी सोही वर्ष गिरफ्तारीमा परे ।

विसं २०२८ मा ओली झापा आन्दोलन कमिटीको प्रमुखमा मनोनीत भए । त्यसपछि ओलीलगायत झापा आन्दोलनका अगुवाहरु २०३० सालमा पक्राउ परे । त्यसपछि उनले ४ वर्ष गोलघरको यातनासहित १४ वर्ष लामो कठोर जेल जीवन बिताए ।

जेलमै रहँदा २०३५ साल पुस ११ मा गठित नेपाल कम्युनिष्ट पार्टी (माले)को संस्थापक बनेका ओली २०४४ साल असार ११ गते जेलबाट रिहा भए । २०४४ पौष २ मा बसेको नेकपा मालेको केन्द्रीय कमिटी बैठकले ओलीलाई केन्द्रीय सदस्य बनायो । सोही बैठकले पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनका लागि लुम्बिनी अञ्चल इन्चार्ज बनायो ।

निरन्तरको आन्दोलनबाट र २०४६ सालको जनआन्दोलनबाट पञ्चायती व्यवस्था ढल्यो । त्यसपछि २०४७ जेठ १ गते ओली पार्टीको युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको संस्थापक अध्यक्ष बने ।

कम्युनिष्ट आन्दोलन एकीकरण हुने क्रममा २०४७ पुस २२ गते नेकपा माले र नेकपा (माक्र्सवादी)बीच पार्टी एकीकरण भएर नेकपा (एमाले) बन्यो र एकीकृत पार्टीमा ओली केन्द्रीय सदस्य रहे ।

बहुदलीय व्यवस्थाको स्थापनापछि २०४८ सालमा भएको पहिलो आम निर्वाचनमा झापा–६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । त्यसको तीन वर्षपछि २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा झापा–२ बाट प्रतिनिधिसभा सदस्य बने । यस बीचमा उनी पार्टीको पोलिटब्यूरो सदस्यसहित विदेश विभाग, प्रचार विभाग र संसदीय विभाग प्रमुख भए ।

बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको प्रथम जननिर्वाचित कम्युनिष्ट सरकारमा उनी पहिलोपटक मुलुकको गृहमन्त्री भए ।

२०६५ सालमा बुटवलमा भएको नेकपा एमालेको ८औँ राष्ट्रिय महाधिवेशनमा उनी अध्यक्षको प्रत्याशी बने । झलनाथ खनालसँग झिनो मतान्तरले पराजित भए ।

९औँ महाधिवेशनमा माधब नेपाललाई हराएर अध्यक्ष बनेका ओली २०७२ सालमा संविधान जारी भएपछि पहिलो पटक प्रधानमन्त्री भए । २०७४ सालको निर्वाचनबाट तत्कालिन नेकपा कालमा उनी बहुमत सहितको प्रधानमन्त्री बने । तर, नेकपाको एकता टिक्न सकेन । एकता टुटेपछि पूर्व एमाले र पूर्व माओवादी आ–आफ्नै अवस्थामा फर्किएनन्, नेकपा एमालेसमेत विभाजित बन्यो । त्यतिबेला नै तेस्रो पटक ठूलो दलको तर्फबाट उनी तेस्रो पटक प्रधानमन्त्री बने ।

२०७९ सालमा भएको निर्वाचनमा ओलीकै नेतृत्वमा निर्वाचनमा होमिएको एमाले दोस्रो ठूलो दल बन्यो । अहिले उनै ओली पहिलो दल नेपाली कांग्रेसको समर्थनमा मुलुकको ४५औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनी सबैभन्दा बढी पटक (चार पटक) प्रधानमन्त्री हुने कम्युनिष्ट प्रधानमन्त्री पनि बनेका छन् ।

- Advertisement -

spot_img

राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई समस्यामा पर्न दिँदैनौँ: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय...

विश्वभर एकसाथ डाउन भयो ‘च्याट जीपीटी’

ओपन एआईले संचालनमा ल्याएको चर्चित च्याटबट 'च्याट जीपीटी' बिहीबार...

प्रदेश र स्थानीय तहले केन्द्र सरकारबाट पाउने अनुदानमा कटौती

सरकारले प्रदेश तथा स्थानीय तहलाई दिने समपूरक र विशेष...

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव सम्पन्न भएको छ...

अर्को साता ३ दिन मात्र शेयर कारोबार हुने

आगामी साता ३ दिन मात्र शेयर कारोबार हुने भएको...

४० बस थपेर महानगर यातायातद्वारा थानकोट-धुलिखेल रुटमा सेवा सुरु, पब्लिक लिमिटेडमा जाँदै

महानगर यातायात प्रा.लि.ले थानकोटदेखि धुलिखेलसम्मको रुटमा सेवा शुभारम्भ गरेको...