कालिन्चोक हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद थपिएको छ । म्याद थप भएसंगै अब स्थानीयले चैत्र १२ गतेसम्म आवेदन दिन सक्ने छन् । यद्यपि सो अगावै माग भन्दा बढीको आवेदन परेमा सार्वजनिक सूचना जारी गरेर बिक्री बन्द गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले फागुन १३ गतेदेखि आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयलाई ५ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो। जसमा दोलखाको बिगु गाउँपालिका वडा नम्बर ८ का स्थानीय, कालिन्चोक गाउँपालिका वडा नम्बर २ र ३ का स्थानीयले आवेदन दिन सक्ने छन् । यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि आरविवि मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।
नेपाल धितोपत्र बोर्डले माघ १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । यस कम्पनीले दोलखामा ५ मेगावाट क्षमताको सोरुन खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको ८३ प्रतिशत कार्य सम्पन्न भएको छ ।
यस कम्पनीकी अध्यक्ष इन्दिरा पन्त हुन्।











