ट्रेड टावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ भोलि आइतबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओ असार १ गते आइतबार बिहान बाँडफाँड गर्ने तयारी गरिएको छ।
कम्पनीले जेठ १४ गतेदेखि जेठ २० गतेसम्म आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई ३२ लाख ९६ हजार ५ सय ५ दशमलव १९ कित्ता शेयर निष्काशन गरेको थियो।
कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चैत्र २५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियोे । कम्पनीले कुल ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६ सय ९३ कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीले जारी पुँजीको ४८.६९६ प्रतिशत शेयर आईपीओको रुपमा निष्काशन गरेको हो।
यस कम्पनीले थापाथलीमा ट्रेड टावर निर्माण सम्पन्न गरि संचालन गरिरहेको छ। त्यस्तै भैसिपाटीमा जनता रेसिडेन्सी नामको अपार्टमेन्ट र गौशालामा होटेल क्रिस्टल पशुपति निर्माण सम्पन्न गरि संचालन गरिरहेको छ।
यस कम्पनीका अध्यक्ष शिवहरि दंगाल हुन् । कम्पनीमा उनको सबैभन्दा धेरै शेयर स्वामित्व रहेको छ।