रु रु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.७८९ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । विद्युत नियमन आयोगले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।
साथै कम्पनीले बोनस वितरणपछि कायम हुन आउने चुक्ता पुँजीको १:०.८० को अनुपातमा अर्थात् ८० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ । कम्पनीले सुम्निमा हाइड्रो पावर कम्पनीमा ५१ प्रतिशत शेयर लगानी गर्ने निर्णय गरेकोले लगानी जुटाउनको लागि हकप्रद निष्काशन गर्न लागेको हो। कम्पनीले सुम्निमा हाइड्रो पावर कम्पनी मार्फत दुई वटा जलविद्युत आयोजना निर्माण गर्ने निर्णय गरेको हो । जस अनुसार कम्पनीले सुम्निमा हाइड्रो पावरद्वारा प्रर्वद्धित ४.९ मेगावाटको अपर पिखुवा खोला जलविद्युत आयोजना र ४.१ मेगावाटको पिखुवा पशुपति जलविद्युत आयोजना निर्माण गर्ने भएको हो।
कम्पनीले कार्तिक ११ गते साधारणसभा आह्वान गरेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।









