नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ। कम्पनीले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो।
सम्झौतामा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरेका छन्।
कम्पनीले जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो। कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले २२ करोड ५० लाखले हुन आउने २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको हो।
कम्पनीले २०७९ चैत २७ मा निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले २०८० वैशाख २६ गतेदेखि कारोबार सञ्चालन गर्दै आईरहेको छ।