Thursday, May 7, 2026
spot_img
spot_img

पहाडी फुड्सः ‘अर्गानिक उत्पादन’मार्फत देश चिनाउने सङ्कल्प

spot_img
spot_img

नेपालको ‘पहाडी भेग’ हावापानी र मौसका कारण रैथाने कृषि उब्जनीका लागि अनुकुल भूमि मानिन्छ । तर, उत्पादित कृषि उपजले बजार पाउन सकिरहेका हुँदैनन् । जसका कारण युवा जनशक्ति कृषि कर्ममा रमाउन छोडेको छ, गाउँका बारी बाँझा र उजाड हुँदै गएका छन् ।

यस्तै यस्तै निराशाका बीचमा पनि आशाको दीप प्रज्वलन गराइरहेका छन् प्रशान्त घिमिरे । हो, उनले देशका पहाडी भू–भागमा फलेका अन्न तथा गेडागुडीलाई नेपालका शहरहरुमा मात्रै होइन, विश्व बजारमा पु¥याइरहेका छन् । त्यो पनि ‘पहाडी फुड्स’को नामबाट मुलुककै ब्राण्डिङ हुने गरी ।

यतीमात्रै होइन, काठमाडौँ उपत्यकामा सामान अर्डर गरेको १० देखि १५ मिनेटमै उपभोक्ताको दैलोसम्म पु¥याउने ‘फास्टो नेपाल’ नामक ‘क्विक कमर्श’ पनि उनकै समूहले एकसाथ अघि बढाइरहेको छ ।

जसले ‘हाईलाईफ ब्राण्ड’ जन्माए
रुपन्देहीको तीलोत्तमास्थित मणिग्राममा जन्मिएका प्रशान्त घिमिरे सानैदेखि रचनात्मक कर्म गर्न रुचाउँथे । उनी प्राविधिक क्षेत्रमा अधिक रुचि राख्थे । उनका हजुरबुबा किराना पसल चलाउँथे । प्रशान्तका बुबा र अंकलले उद्यमको आकार बढाउँदै लगेका थिए । बुबा तुलसी घिमिरेले काठमाडौँको न्यूरोडमा होलसेल पसल पनि चलाउँथे । त्यसै सिलसिलामा काठमाडौँमै धागो फ्याक्ट्री पनि खोलेका थिए । तर, कालान्तरमा काठमाडौँबाट उक्त फ्याक्ट्री मणिग्राममै सारियो ।

त्यसपछि प्रशान्त पनि बुबासँगै काठमाडौँबाट मणिग्राम नै फर्किए । त्यहाँ फर्किएर प्रशान्तका बुबाले कर्नफ्लेक्स उद्योग खोले । यो २०२५८ सालतीरको कुरा हो । उनका बुबा पनि त्यतीबेला नै प्रविधिमा रुचि राख्थे, उद्योग तथा कम्पनीको काममा पनि सकेसम्म प्रविधि नै प्रयोग गर्थे । यसका लागि कम्युटर ईन्जिनियर नै पढेको मान्छेलाई तुलसी घिमिरेले कर्मचारीका रुपमा राखेका थिए । प्रशान्त ती व्यक्तिसँगै बसेर उसले गरेको काम हेर्थे । ‘म छेउमा बसेर हेर्थे, सिक्ने रुचि पनि थियो । यसैगरी नै धेरै कुरा सिकियो’ प्रशान्त स्मरण गर्छन्, ‘त्यसपछि कतीपय काम त मैले नै गर्न थालेँ । कक्षा ७ मा पढ्दा नै म कम्प्युटरका धेरै कुरा जान्ने भइसकेको थिएँ ।’

प्रशान्त घिमिरे, रविन शर्मा लगायत उनीहरु भेला हुन्थे, बालमस्तिष्कमा अनायासै आएका उद्यम व्यवसायका कुरा झिक्थे । बिल गेट्स जस्ता विश्वका धनी व्यक्तिहरुका कुरा गर्थे । अनेकन बिजेनसका आइडिया निकाल्थे, बिल गेट्स जस्तै बन्ने सपना बुन्थे ।

कक्षा ८ मा पढ्न भने प्रशान्त काठमाडौँ आए । विद्यालय तहमा उनको पढाई राम्रो थियो, तर कक्षा १० भन्दा माथि उनले पढ्न रुचि गरेनन् । ‘कम्प्युटर सम्बन्धी धेरै कुराहरु सिकेको थिएँ, बाहिरी किताबहरु पढ्थे, अंकलले ल्याएर राखेका कम्युनिष्ट घोषणापत्रका किताबहरु पढ्थेँ’ उनी भन्छन्, ‘मलाई कलेज गएर घोकेर पढ्ने रुचि भएन ।’

त्यसपछि उनी बुटवल गए । त्यहाँ उनको परिवारले चिउरा फ्याक्ट्री बनाउँदै थियो । जसको नेतृत्व प्रशान्तका अंकलले गरिरहेका थिए । प्रविधिको ज्ञान भएपनि प्रशान्तसँग बिजनेस सम्बन्धी ज्ञान, सीप र अनुभव थिएन । त्यसपछि अंकलले नै चिउरा फ्याक्ट्रीको एकाउण्टिङ् हेर्ने जिम्मा दिए । उनले १ वर्ष एकाउण्टको काम सम्हाले ।

तर, उनीहरुले बेच्ने चिउराको कुनै ‘ब्राण्ड नाम’ थिएन, बोरामा राखेर बेच्न पठाउँथे । क्वालिटीको चिउरा भएपनि ब्राण्डिङ थिएन । फलतः चिउराको व्यवसाय घाटामा जान थाल्यो । यसले सिङ्गो परिवारलाई नै चिन्तित बनायो ।

यसपछि अब बोरामा होइन, ब्राण्ड बनाएर ‘प्याकेट’मा राखेर चिउरा बजार पठाउनुपर्छ भन्नेमा परिवार एकमत भयो । तर, गर्ने कसरी ? प्रशान्तले फ्याट्ट आइडिया लगाएः ‘हाईलाईफ’ । साथमा, स्तरीय प्याकेजिङ र बजारीकरण । ‘हामी घरमा वा साथीभाईसँग टिभी हेर्दा अरु समाचार हेर्थे, फिल्म र गीत हेर्थे । मचाहिँ विज्ञापन हेर्थेँ’ प्रशान्त सम्झिन्छन्, ‘भारतीय च्यानलमा आउने विभिन्न वस्तुका विज्ञापनमा देखिएको प्याकेट मन परेर खोजीखोजी समान ल्याउँथे । नेपालमा नपाएको अवस्थामा म सुनौली गएर पनि सामान लिएर आएको छु । हाम्रो घरबाट सुनौली नाका नजिकै पर्छ ।’

यसले उनलाई प्याकेजिङमा पनि ‘कम्प्रोमाइज’ गर्नुहुँदैन भन्ने सिकाएको थियो । त्यसपछि ‘हाईलाईफ’ ब्राण्डको जन्म भयो । प्याकेटको चिउरा बोकेर उनी आफै बुटवल बजारमा डुल्थे, पसल पसलमा पुगेर प्रतीक्रिया लिन्थे । फलस्वरुपः करिब ३ वर्षमै हाईलाईफले चिउरासहित झण्डै १ सयभन्दा बढी आईटम बनाउन थाल्यो ।

लगानी बिस्तार गर्ने क्रममा हाईलाईफमा लगानीकर्ता थपिए÷भित्रिए । हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड र बिग ईन्डस्ट्रिज लिमिटेड लगानीकर्ताका रुपमा हाईलाईफमा भित्रिएपछि प्रशान्तले त्यसको व्यवस्थापकीय भूमिकाबाट आराम पाए ।

अनि जन्मियो ‘पहाडी फुड्स’
नेपालका डाँडाकाँडा र रनवन डुल्दा नेपाली माटोका उब्जनीहरुले ‘अर्गानिक’ वस्ुतको मोल नपाएको भान प्रशान्तलाई हुन्थ्यो । पहाडी हावापानीमा उब्जेका स्वच्छ र स्वस्थ खानेकुराको मूल्य किसानले नपाईरहेको देखेका उनले एकदिन हाईलाईफकै सञ्चालक समितीको बैठकमा ‘हाईलाईफ अर्गानिक’ भनेर स्थानीय र अर्गानिक उत्पादनको क्षेत्रमा पनि काम गर्ने प्रस्ताव गरेका थिए रे । तर, उनको प्रस्ताव अनुुसार अघि बढ्न बोर्ड तयार भएन ।

साथमा, प्रशान्त र उनको टिम ‘क्वीक कमर्श’को मोडलमा ‘फास्टो नेपाल’ नामक डेलिभरी कम्पनीको तयारीमा पनि जुटिरहेको थियो । तर, ठूलो बजेट आवश्यक पर्ने भएकाले तत्काल यसलाई ‘लन्च’ गरिएको थिएन ।

समय क्रमसँगै ४० करोड पोर्टफोलियो पुगेको हाईलाईफबाट प्रशान्त बाहिरिए । र, आफ्नो योजना मुताबिक काम गर्न स्वतन्त्र भए । श्रीमती कामना घिमिरे साथमा थिइन् । त्यसपछि अर्गानिक खानेकुरालाई ब्राण्डिङ गर्ने योजना बनाए । श्रीमान् र श्रीमतीको २०÷२० लाख रुपैयाँ लगानीबाट २०७९ वैशाखमा ‘पहाडी फुड्स’को विधिवत् जन्म भयो ।

कुनैपनि यात्रामा एक्लै निस्कँदा गन्तव्यमा पुगिन्छ कि पुगिन्न भन्ने टुङ्गो हुँदैन । साथी र सहयात्री साथमा भए भने ढिलोचाँडो अवश्य पनि गन्तव्य चुम्न सकिन्छ । ‘हामीले ४० लाखबाट सुरु गरेपछि सोही वर्ष अरु साथीहरु पनि जोडिनुभयो, त्यसवर्ष हाम्रो लगानी १ करोड ६० लाख पुगेको थियो’ प्रशान्त भन्छन्, ‘एक्लै गरेर हुने कामपनि होईन यो, साझेदार चाहिन्छ । अहिले हामी ३० जना सहयात्री पुगेका छौँ । हाम्रो लगानी पनि १० करोड पुगेको छ ।’

माग धान्न मुस्किल
गेडागुडीलाई केन्द्रित गरेर काम गर्दै आएको पहाडी फुड्सले वस्तुको बिक्री सुरु गरेको १५ महिना पूरा भएको छ । गत आर्थिक वर्षमा कुल ११ करोडको कारोबार गरेको पहाडीले ४ करोडको त निर्यात नै गरेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामै १ करोड बराबरको निर्यात भइसकेको छ ।

पहाडीले आन्तरिक बजारमा ५० आइटम बिक्री गर्दै आएको छ भने विदेशमा २ सयभन्दा बढी आईटमहरु पठाउँदै आएको छ । जुम्लाको गेडागुडी, भोजपूरको सिमी, पाल्पा, गुल्मी र अर्घाखाँचीको गहत, पर्वत र बागलुङको फापरसहित काभ्रे, नुवाकोट र धादिङ लगायतका जिल्लाबाट पहाडीले अर्गानिक सामान ल्याउँछ । कतिपय वस्तुको भने पहिले नै समर्थन मूल्यसमेत तोकेर खरिद गर्ने गरिन्छ । तर, प्रशान्तका अनुसार माग धान्न भने धौधौ छ ।

उदाहरणका लागि, पहाडी फुड्ससँग बहराईनका व्यवसायीले हरेक महिना ३ कन्टेनर सेतो बोडी उपलब्ध गराउन प्रस्ताव गरे । तर, यो माग बराबर उपलब्ध गराउन कम्पनी असमर्थ भयो । कारण हो, उत्पादन नै कम छ । मसुरोको मागपनि अधिक छ तर उत्पादन नै छैन ।

‘मार्केट, नेटवर्क, अपरेशन र ब्राण्डिङमा समस्या छैन तर किसानबाट सामान ल्याउनै गाह्रो छ’ प्रशान्त भन्छन्, ‘मागअनुसारको उत्पादन छैन, किसानलाई राज्यको प्रोत्साहन नै पुगेको छैन । जसका कारण बारीहरु जंगलमा परिणत भएका छन् ।’

निर्यातमा नीतिगत सहजताको खाँचो
युरोपका देशबाट ‘जेठो बुढो चामल’को माग धेरै आउँछ । तर, यो चामल निर्यात गर्नै नपाइने प्रावधान रहेकाले पठाउन नसकिएको प्रशान्तको अनुभव छ । मार्सी चामल भने अहिले फाट्टफुट्ट निकासी हुन थालेको छ ।

त्यस्तै, भाङको दानाको ५ सय टनको अर्डर पनि आएको थियो । तर, भाङको दाना पनि निर्यात गर्न नपाइने प्रावधान रहेछ । ‘डग च्यू’ (छुर्पी) को अष्ट्रेलियामा उल्लेख्य माग छ । तर, नेपालबाट भारत लैजाने र त्यहाँबाट ‘हाई भ्यालू’मा निर्यात गर्ने गरिएको प्रशान्त बताउँछन् ।

‘सरकारले यस्ता खालका पोलिसी सुधार गर्नुपर्छ, रेगुलेटरी मापदण्ड पूरा गरेर पठाउन दिनुपर्ने हो’ उनी भन्छन्, ‘राज्यले प्रोडक्सन बढाएर निर्यात गर्ने नीति लिनुपर्छ । दिगो र बलियो अर्थतन्त्रका लागि निर्यातलाई नै सरकारले प्राथमिकतामा राख्नुपर्छ ।’

‘फास्टो’ पनि सँगसँगै
काठमाडौँको व्यस्त दैनिकीमा किनमेल गर्नपनि एकाध घण्टा समय छुट्याएर मात्रै बजार निस्कनुपर्छ । सवारी जामले खर्चिने समय पनि छँदैछ । यसलाई सरलीकृत गर्न ‘क्वीक कमर्श’को अवधारणा अनुसार प्रशान्तकै नेतृत्वमा ‘फास्टो नेपाल’ पनि अघि बढ्दैछ ।

काठमाडौँ उपत्यकाको चक्रपथभित्र र बाहिर अर्डर गरेको १० देखि १५ मिनेटभित्रै सामान उपलब्ध गराइने प्रशान्त बताउँछन् । यसका लागि १५ वटा डिपार्टमेन्ट स्टोर मोडलका ‘वेयर हाउस’ बनाइएका छन् । ‘अर्डर गरेको १५ मिनेटभित्र सामान पु¥याउँछौँ’ उनले भने, ‘अहिले १५ वटा वेयर हाउस बनाएका छौँ । दशैँ अगाडि नै ३२ वटा पु¥याउँदैछौँ ।’

फास्टोमार्फत चामल, दाल, तेल, आँटा, चिया–कफी, गेडागुडी, चिउरा, डेरी प्रोडक्ट, अचार र मसला लगायतका भान्छामा आवश्यक पर्ने सबैजसो सामान डेलिभरी हुन्छ । यतिमात्रै होइन, ब्युटी र पर्सनल केयरका सामान पनि उपलब्ध छन् । चिसो पेय पदार्थ र लिक्वेयरदेखि ‘हाउस होल्ड’का सामान र इलेक्ट्रोनिक्स सामानसमेत डेलिभरी गरिन्छ ।
प्रशान्तका अनुसार उपभोक्ताले एप्सबाट अर्डर गरेपछि लोकेसन अनुसार जुन स्टोरबाट नजिक पर्छ, त्यहीँबाट डेलिभरी गरिन्छ । यसका लागि अहिलेलाई ९० जना ‘डेलिभरी मेनपावर’ राखिएको छ । स्टोर थपिँदै जाँदा डेलिभरी गर्ने जनशक्ति पनि थपिँदै जानेछ ।

‘१० देखि १५ मिनेटभित्रै अर्डर गरेको सामान आईपुग्छ भन्दा मान्छेलाई अचम्म लागेको छ, अहिले हामीले परीक्षण गर्दा यसमा सफल पनि भईसकेका छौँ’ प्रशान्तले सुनाए, ‘अब फास्टोका प्रयोगकर्ता बढ्नेवाला छन् । चाँडै नै हामी यसको सेवालाई बिस्तार पनि गर्नेछौँ ।’
भविष्यको लक्ष्य
प्रशान्तका अनुसार अहिले पहाडी फुड्सलाई आन्तरिक र बाह्य बजारको कमी छैन । विश्वभरि छरिएका नेपाली समुदायले नेपालकै उत्पादन उपभोग गर्न खोजिरहन्छन्, माग पठाइरहन्छन् । साथै, नेपाली बाहेकका समुदायले पनि नेपाली गेडागुडी, चामल, अचार, छुर्पी, भाङका दाना जस्ता वस्तु मगाईरहेका छन् । निर्यातमा नीतिगत सहजता हुने हो भने वार्षिक अर्बौ रुपैयाँ बराबरका यस्ता सामान विदेशमा निर्यात गर्न सकिने उनको भनाई छ ।

‘नेपालीहरुले मगाउने सामान त छँदैछ, विदेशीले पनि नेपाली उत्पादन खोजिरहेका छन् । हामीले अन्तर्राष्ट्रिय मेलामा भाग लिएर चखाएपछि अर्डर पनि आइरहेका छन्’ प्रशान्त भन्छन्, ‘हाम्रो देशको कफी विदेशीले पनि रुचाउँछन् । यस्ता धेरै प्रोडक्ट छन्, जुन विदेशमा भएका नेपालीलाई मात्रै होइन, विदेशीलाई समेत बिक्री गर्न सकिन्छ ।’

यसैवर्ष पहाडीले ४० करोडको कारोबार पु¥याउने लक्ष्य राखेको छ । तर, केवल कारोबार बढाउने मात्रै लक्ष्य छैन । अर्गानिक उत्पादनमार्फत मुलुकलाई नै विश्व बजारमा परिचित गराउने संकल्प पनि प्रशान्तको टिमले बोकेको छ । अबको ५÷७ वर्षमा नेपाललाई विश्वमा ‘अर्गानिक उत्पादनको हब’का रुपमा चिनाउने लक्ष्य लिईएको छ । यसका लागि कृषि पेशा छोडेका किसानलाई पुनः कृषिमै फर्काउने अभियानमा उनी छन् ।

‘किसानलाई कृषिमै फर्काउने अभियानमा छौँ, यसो हुँदा उत्पादन बढ्न जान्छ र बजार माग पूरा गर्न सकिन्छ’ उनी थप्छन्, ‘नेपाल भनेको सगरमाथाको देश, भगवान गौतम बुद्धको देश भनेर त चिनिन्छ । तर, यहाँको उत्पादनबाट चिनाउन सकिएको छैन । यसकारण हामी अबको पाँचसात वर्षमा नेपाललाई अर्गानिक खानेकुरा उत्पादन हुने देश भनेर चिनाउने लक्ष्यमा छौँ ।’

(यो सामग्री बिजनेशपाना म्यागेजिनको पछिल्लो अङ्कमा पनि प्रकाशित छ)

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...

अध्यक्ष अन्जन श्रेष्ठको कार्यकालमा महासंघले ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रम कार्यान्वयन गर्ने

नेपाल उद्योग वाणिज्य महासंघले ‘छ स्तम्भ, साठी पहल’ कार्यक्रम...

आईपीओ निष्काशनको तयारीमा रहेको छायाँदेवी कम्प्लेक्स भत्काउन माग

सम्पदा संरक्षण नेपालका अभियानकर्मीले काठमाडौँको ठमेलमा रहेको छायाँदेवी कम्प्लेक्स...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि दुई महिना थप

अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कार्यकारी बोर्डले नेपालका लागि...

सरकारले लिने हाइड्रो आयोजना संचालनको लागि छुट्टै ‘सम्पत्ति व्यवस्थापन कम्पनी’ खुल्ने

लाइसेन्स अवधि सकिएपछि सरकारले लिने जलविद्युत आयोजना संचालन र...

को बन्दैछ महासंघको वरिष्ठ उपाध्यक्ष ?

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चयनको गृहकार्य सुरु...
spot_img