जाम्बियाले नेपालको खनिज र पर्यटनमा लगानी गर्न चासो देखाएको छ । ४ दिने नेपाल भ्रमणका रहेका नेपालका लागि जाम्बियाको गैर आवासीय राजदूत पर्सि प्याट्सन चन्दाले राष्ट्रपति रामचन्द्र पौडेलदेखि मन्त्रीहरु र निजी क्षेत्रका संगठनका नेतृत्वहरुलाई भेटेर नेपालको खनिज र पर्यटनमा लगानी गर्न जाम्बियाको निजी क्षेत्र तयार रहेको बताएका हुन् ।
उनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटमा नेपालको खानी तथा खानीजन्य क्षेत्रमा प्राविधि तथा आर्थिक लगानी गर्ने प्रस्ताव राखेका थिए ।
यसैगरी उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटमा पनि जाम्बियासँग खानी उत्खननको विषयमा राम्रो ज्ञान भएको र नेपालमा पनि सो क्षेत्रमा लगानी गर्न जाम्बियाली लगानीकर्ता इच्छुक रहेको भन्दै सहजीकरण गरिदिन आग्रह गरेका थिए । साथै आफूहरुको लागि नेपाल लगानीको लागि आकर्षक गन्तव्य हुन सक्ने भन्दै उनले सो विषयमा सहकार्य गर्न जाम्बिया तयार रहेको बताएका थिए ।
प्याट्सले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग पनि भेट गरी दुई देशका लगानीकर्ताबीच सहकार्य गरी अघि बढन् आग्रह गरेका छन् । साथै उनले नेपाल उद्योग वाणिज्य महासंघ र जाम्बियाको उद्योग वाणिज्य संघबीच व्यवसायिकक समझदारी पत्रमा हस्ताक्षर गरी अघि बढ्ने प्रस्ताव समेत राखेका थिए । जाम्बियाको लगानीकर्ताहरु नेपालमा लगानी गर्न तयार रहेको भन्दै सोही अनुरुप दुबै संस्थाबीच समझदारी गरेर अघि बढ्नुपर्ने भन्दै सोका लागि आफूले सहजकर्ताको रुपमा काम गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् ।
गैरआवासीय राजदूतको नेपाल भ्रमणले नेपालमा जाम्बियाको भित्र्याउन महत्वपूर्ण सहयोग गर्ने विश्वास लिइएको नेपालका लागि जाम्बियाको महावाणिज्यदूत देशबन्धु वस्नेत (अजित)ले बताए ।
‘नेपालको ४ दिने भ्रमणमा आउनु भएका राजदूत प्याट्सनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुका साथै परराष्ट्र र उद्योग मन्त्रीसँग पनि लगानीको विषयमा छलफल गर्नुभयो,’ वस्नेतले भने, ‘साथै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग पनि भेट गरी जाम्बिया र नेपाली उद्योगी व्यवसायीबीच सहकार्य गरी लगानीको वातावरण सिर्जना गर्न आग्रह गर्नुभए थियो ।’
साथै नेपालमा जाम्बियाको लगानी भित्र्याउने सम्बन्धमा महासंघसँग छिट्टै नै एक समझदारी पत्रमा हस्ताक्षर हुने समेत उनले जानकारी दिएका छन् ।
नेपालको ४ दिने भ्रमणमा रहेका राजदूत प्याट्सनले नेपाल र जाम्बियाको भौगोलिक बनावट समेत एउटै रहेको र नेपालमा खानी उत्खनन् र पर्यटनको उच्च सम्भावना रहेको भन्दै सो विषयमा जाम्बिया सरकार तत्काल सहकार्य गर्न तयार रहेको बताएका थिए । साथै जाम्बियाको वार्षिक ६० हजार करोड बराबरको खानी उत्खनन हुने गरेको छ उक्त प्राविधिक सहायतामा नेपालमा पनि ठूलो मात्रामा खानी उत्खनन गर्न सकिने उनले जानकारी दिएका थिए ।












