उद्योगमन्त्री दामोदर भण्डारीले सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगसहित मयुरधाप औद्योगिक क्षेत्रको अवलोकन गरेका छन् ।
आज हेटौंडा सिमेन्ट उद्योगको निरीक्षण गर्दै मन्त्री भण्डारीले सिमेन्ट उद्योगको समस्याका बारेमा सङ्घीय सरकार अवगत रहेको बताउँदै हेटौँडा सिमेन्ट उद्योगका समस्या समाधान गर्ने कार्यक्रम ल्याउन सरकारले गृहकार्य गरिरहेको बताए ।
हेटौंडा कपडा उद्योगको पनि अवलोकन गर्दै मन्त्री भण्डारीले उद्योगको वर्तमान अवस्थाका बारेमा जानकारी लिएका छन् । हेटौंडा कपडा उद्योग सञ्चालनको ‘मोडालिटि’बारे सरकारले गृहकार्य गरिरहेको जानकारी दिँदै मन्त्री उहाँले कपडा उद्योग सञ्चालनमा आउँदा एक हजार युवाले रोजगार पाउने बताएका छन् ।
यस्तै, हेटौंडा उपमहानगरपालिका–१४ मयुरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रको पनि मन्त्री भण्डारीले अवलोकन गरेका छन् । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका कारण मयुरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण गर्न वन मन्त्रालयले अवरोध गरिरहेको छ ।
मन्त्री भण्डारीले वन मन्त्रालयसँग समन्वय गरी छिट्टै मयुरधाप औद्योगिक क्षेत्रको पूर्वाधार निर्माण कार्य अघि बढाउने आश्वासन दिएका छन् ।












