Saturday, April 19, 2025
spot_img

अध्यक्ष चौधरीको अक्षमताले नाडा फुटेको हो ?

आधा शताब्दी लामो इतिहास बोकेको अटोमोबाइल्स व्यवसायीहरुको संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल अन्तत: विभाजित भएको छ । ठूला व्यवसायीहरुले ‘नेपाल अटोमोबाइल्स इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसियशन’ (नाइमा) नामक संस्था दर्ता गरेका हुन् । स्रोतका अनुसार फागुन ९ गते यो संस्था दर्ता भएको छ । तर, हालसम्म औपचारिक घोषणा भने गरिएको छैन ।

यससँगै, ५० वर्षदेखि अटोमोबाइल्स व्यवसायीको छाता संस्थाका रुपमा रहँदै आएको नाडाको विरासत कमजोर बन्ने लगभग पक्का भएको छ । त्यसै पनि पछिल्लो समय नाडाले सम्पूर्ण अटोमोबाइल्स व्यवसायीहरुको हितमा काम गर्न नसकेको आरोप लाग्दै आएको थियो । यसको पछिल्लो उदाहरण हो राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत गरेको विद्युतीय सवारीको ‘लोन टू भ्यालू रेसियो’ सम्बन्धि प्रावधान । नाडा नेतृत्वको अक्षमता र कमजोर लविङकै कारण केन्द्रीय बैंकले ईभीको लोन टू भ्यालू रेसियो २० प्रतिशतबाट ४० प्रतिशत पुर्‍याएको कतिपयको आरोप छ । अझ कतिपयले त, नाडाका अध्यक्ष करण चौधरीको कम्पनीले ईभी नबेच्ने भएकाले ईभीको प्रोत्साहनमा उनले खासै ध्यान नदिने समेत आरोप लगाउने गरेका छन् ।

एकातिर राष्ट्र बैंकको नीति ईभीका लागि प्रतिकुल हुने गरि आएको र अर्कातिर नाडाले स्पष्ट रुपमा नीतिगत लविङ गर्न नसकेको आरोपका बीच नाडा विभाजित हुनुले नाडाभित्र विगतदेखि नै विवाद थियो भन्ने कुराको पुष्टि गर्ने एक जना अटोमोबाइल्स व्यवसायी दाबी गर्छन् । अर्को संस्था गठनको प्रयास भइरहेको छ भन्ने जानकारी हुँदाहुँदै पनि वर्तमान अध्यक्ष चौधरीले बैठक राखेर छलफल नगरेको ति व्यवसायीको दाबी छ ।

‘आफ्नै संस्थामा भएका, कार्यसमितिमै भएका व्यवसायीहरुले अर्को संस्था बनाउँदैछन् भन्ने जानकारी पाउँनासाथ उहाँ (अध्यक्ष चौधरी)ले कार्यसमितिको बैठकमा यसबारे छलफल राख्नुपथ्र्यो’ कार्यसमिति सदस्य समेत रहेका एक जना व्यवसायीले भने, ‘तर, उहाँले यसबारे छलफल नै राख्नुभएन । यसबाटै भन्न सकिन्छ कि, नाडाको विभाजन रोक्नुपर्छ भन्ने उहाँलाई लाग्दै लागेन ।’

युनाइटेड ट्रेडर्स सिण्डिकेटकी निर्देशक रितु वैद्यलाई अध्यक्ष बनाइएको नाइमामा नाडाको कार्यसमितिका पदाधिकारी पनि देखिएका छन् । नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले बिजनेश पानासँग कुराकानीकै क्रममा आफू नाइमाको पनि सदस्य बन्ने बताइसकेका छन् । ‘अब अटोमोबाइल्स इन्डष्ट्रीमा नयाँ संस्था आएको छ, म आफू पनि मेरो कम्पनी (फोर्ड गाडीको आधिकारिक बिक्रेता जिओ फोर्ड) लाई त्यो संस्थाको सदस्य बनाउँछु’ उनले भने, ‘यसको अर्थ नाडा छोड्ने भन्ने होइन, दूबैतिर रहने हो ।’

नाडाका उपाध्यक्ष निराकार श्रेष्ठले प्रतिनिधित्व गर्ने लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल पनि नाइमा तिर छ । नाडा कार्यसमिति सदस्य यमुना श्रेष्ठले प्रतिनिधित्व गर्ने बिवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक पनि नाइमाको सदस्य बनिसकेको बताइन्छ । नाडाको कार्यसमिति सदस्य रहेका निशान ढकालले प्रतिनिधित्व गर्ने अशोक लेइल्याण्डका गाडीको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई ग्रुप अन्तर्गतको आइएमई मोटर्स पनि नाइमा तिर देखिएको छ ।

यीबाहेक ओमोडा एण्ड जेइको गाडीको आधिकारिक बिक्रेता शारदा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्स, एमजी गाडीको आधिकारिक बिक्रेता विशाल ग्रुप अन्तर्गतको पारामाउण्ट मोटर्स, होण्डा गाडी तथा बाइक र स्कुटरको आधिकारिक बिक्रेता पद्म ज्योति ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङ, बजाज (पल्सर) मोटरसाइकलको आधिकारिक आयातकर्ता गोल्छा अर्गनाइजेनश अन्तर्गतको हंशराज हुलासचन्द एण्ड कम्पनी र रोयल इन्फिल्डको आधिकारिक बिक्रेता त्रिवेणी ग्रुप अन्तर्गतको अल्फा अटोमोटिभ पनि नयाँ संस्थाको सदस्य बन्ने भएका छन् । एमएडब्ल्यू र सिजी पनि यो संस्थामा आवद्ध हुने पक्का भइसकेको बताइएको छ ।

कमर्सियलतर्फ महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी ग्रुप अन्तर्गतको अग्नी इन्कर्पोरेट पनि नयाँ संस्थाको सदस्य बन्ने निश्चित भइसकेको बताइन्छ ।

पूर्व पदाधिकारी भन्छन्, ‘करण चौधरी असक्षम सावित भए’

नाडाका निवर्तमान अध्यक्ष ध्रुब थापाकै पालामा अर्को संस्था गठनको पहल भएको थियो । तर, त्यतिबेला थापाले बुद्धिमानीपूर्वक रोकेका थिए । यसका लागि ठूला कर्पोरेट हाउसहरुलाई मनाउन थापाले निकै समय खर्चिएको स्रोतले बताएको छ । तर, विगतमा थापासँगै अध्यक्षमा पराजित भएका करण चौधरी यसपाली सर्वसम्मत रुपमा नाडाको अध्यक्ष बनेपनि विभाजन रोक्न सकेनन् ।

अध्यक्ष बनेको एक हप्तामै पूर्व सहमति विपरित मनोनीत कोटामा एकलौटी गरेको आरोप चौधरीमाथि लागेको थियो । त्यतिबेला नै वरिष्ठ उपाध्यक्षसहित केही पदाधिकारीले सामूहिक रुपमा नाडा छोड्ने चेतावनीसमेत दिएका थिए ।

‘ध्रुब थापाको पालामा बहुमत सदस्य चौधरी पक्षका निर्वाचित भएका थिए, आकाश गोल्छा र निराकार श्रेष्ठसहित थोरै मान्छे मात्रै थापा पक्षका थिए, त्यतिबेला पनि नाडाको विकल्पमा नयाँ संस्था ल्याउने कसरत भएको थियो, तर ध्रुब थापाले कर्पोरेट हाउसहरुसँग छलफल गरेर त्यतिबेला विभाजन रोक्न सफल भएका थिए’ एक जना पूर्व पदाधिकारी भन्छन्, ‘यसपाली पनि त्यो गृहकार्य सुरुबाटै भयो । तर त्यसलाई रोक्नेतर्फ अध्यक्ष ज्यूले कुनै कसरत नै गर्नुभएन । उहाँको अपरिपक्वता र आलोकाँचो स्वभावले गर्दा आधा दशक लामो विरासत बोकेको नाडा जस्तो संस्था विभाजित हुन पुग्यो । विगतमा नाडा भनेको उद्योग वाणिज्य महासंघको नेतृत्व उत्पादन गर्ने सबैभन्दा सशक्त वस्तुगत संगठन थियो, अब यो विरासत सकियो भन्दा पनि हुन्छ ।’

अटोमोबाइल्स इन्डष्ट्रीलाई राम्रै हुन्छ: वरिष्ठ उपाध्यक्ष गोल्छा

नाइमाको समेत सदस्य बन्ने घोषणा गरिसकेका नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले भने नाडाको भन्दा अझ राम्रो काम गरौँ भन्ने भएरै नाइमा बनेको बताउँदै अर्को संस्था आउँदा समग्र अटोमोबाइल्स इन्डष्ट्रीलाई झन बढी फाइदा पुग्ने बताएका छन् ।

‘इन्डष्ट्रीलाई राम्रै गरौँ भन्ने भएरै नयाँ संस्था बनेको हो भन्ने लाग्छ, नाडाको भन्दा अझ बढी राम्रो काम गरौँ भनेर बनाइएको हो जस्तो लाग्छ’, उनले भने, ‘अर्को संस्था आउँदा इन्डष्ट्रीलाई फाइदै होला, म आफू पनि त्यसको सदस्य बन्छु ।’

के भन्छन् नाडा अध्यक्ष चौधरी ?

नाडाका अध्यक्ष चौधरीले भने नाडा विभाजित भएर अर्को संस्था बनेको विषयमा अहिले आफूले केही नबोल्ने बताएका छन् । बिजनेश पानासँगको सम्पर्कका क्रममा अध्यक्ष चौधरीले समय आएपछि मात्रै आफूले मुख खोल्ने बताएका छन् ।

‘मैले अहिले यस विषयमा बोलेको छैन, समय आएपछि बोल्छु’ अध्यक्ष चौधरीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फोहोर वर्गीकरण गर्न महानगरले वडालाई दियो एक एक लाख

काठमाडौं महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न एक एक...

परीक्षा बोर्डले भन्योः कक्षा १२ को परीक्षा सरेको छैन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको जानकारी...

रेडमी ए५ नेपालमा सार्वजनिक, मूल्य कति ?

शाओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी...

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा सडक आश्रितलाई १८ दिन भोजन

सिटिजन्स बैंकले आफ्नो १८औं बार्षिक उत्सवको अवसरमा घरबारविहीन र...

नाडासँग बीमा प्राधिकरणका अध्यक्षले भने, ‘ईभीको लागि छुट्टै बीमा पोलिसी बन्दैछ’

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका प्रतिनिधिमण्डलले बीमा प्राधिकरणका अध्यक्ष...

हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि सञ्चालनमा

हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालनमा आएको छ...
spot_img