Thursday, March 20, 2025
spot_img
spot_img

होटल उद्योगमा बढ्दो लगानीः ‘ओभर इन्भेष्टमेन्ट’को जोखिम कति ?

सन् २०२४ मा ११ लाख ४७ हजार २४ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२४ को डिसेम्बर ३१ सम्म ११ लाख ४७ हजार २४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो संख्या हवाई मार्गमार्फत नेपाल भित्रिएका पर्यटकको मात्रै संख्या हो ।

बोर्डका तथ्याङ्कले पर्यटक आगमन सन् २०१९ कै लयमा फर्किएको देखाउँछ । २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल आएका थिए । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार कोभिडपछि नेपालको पर्यटन ९६ प्रतिशतसम्म ‘रिकभरी’ भएको देखिएको छ ।

होटलमा बढ्दो लगानी
अहिले नेपालमा विदेशी चेन होटल ब्राण्डले व्यवस्थापन सम्हाल्ने गरी तारे होटलहरुको निर्माण ठूलो संख्यामा भइरहेको छ । वर्ष २०२४ मा मात्रै करिब २० अर्ब लगानीका ४ वटा पाँचतारे होटल थपिएका छन् । काठमाडौँको नक्सालमा होटल हिल्टन र होलिडे इन, बूढानीलकण्ठमा ‘लेमन ट्री प्रिमियर’ र सुकेधारामा ‘मक्र्योर काठमाडौँ’ नामक होटल थपिएका छन् । काठमाडौँ बाहिर पनि तारे होटलहरुको संख्या बढ्दैछ । होटल व्यवसायी शशिकान्त अग्रवालका अनुसार एउटा पाँचतारे होटल सञ्चालनमा आउँदा १५० जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउँछन् ।

केन्द्रीय तथ्याङ्क कार्यालयले पौष १७ गते सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’को नतिजा अनुसार नेपालमा १ लाख ४२ हजार २२३ वटा होटल तथा रेस्टुरेन्ट रहेको देखाएको छ । तथ्याङ्क कार्यालयका निर्देशक राजेश धितालका अनुसार यी होटलको कुल सम्पत्ति ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रुपैयाँ छ ।

नेपालमा सञ्चालनमा रहेकामध्ये १ हजार १२१ वटा होटलमा पूर्णरुपमा विदेशी लगानी छ । ५९ वटा होटलमा नेपाली र विदेशीको संयुक्त लगानी रहेको तथ्याङ्क छ । नेपालको होटल उद्योगमा विदेशी लगानी १० अर्ब रुपैयाँभन्दा बढी रहेको कार्यालयले जनाएको छ ।

कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीका अनुसार सर्वेक्षणमा होटल, लज, रिसोर्ट, होमस्टे, अतिथि गृह÷सेवा सदन, छात्राबास÷होस्टेल, रेस्टुरेन्ट तथा क्याटरिङ÷पार्टी प्यालेस समेतको विवरण समावेश छ ।

२०७९ साउन १ देखि २०८० असार ३० सम्म गरिएको सर्वेक्षण अनुसार देशभर सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टमध्ये १ लाख ३७ हजार ७१६ वटा होटल तथा रेस्टुरेन्टका लगानीकर्ता एकल नेपाली नागरिक छन् । जसको सम्पत्ति ४ खर्ब १८ अर्ब ६२ करोड रुपैयाँ छ । ३ हजार ३२७ वटा होटल प्रतिष्ठानमा भने नेपाली नागरिकहरुबीच साझेदारी छ । जसमा १ खर्ब १४ अर्ब रुपैयाँ लगानी रहेको तथ्याङ्कले देखाउँछ ।

पौने ४ लाख जनशक्ति संलग्न, १ लाख ६ हजार कर्मचारी
सर्वेक्षण अनुसार नेपालको होटल उद्योगमा करिब ४ लाख जनशक्ति संलग्न छ । लगानीकर्ता, साझेदार, बेतलबी पारिवारिक सदस्य र तलबी रोजगार जनशक्ति गरी होटल उद्योगमा कुल ३ लाख ८७ हजार ७ सय ४७ जना रोजगार रहेको सर्वेक्षणको तथ्याङ्क छ ।

होटल रेस्टुरेन्टमा नियमित तलब ज्याला लिने गरी कार्यरत कर्मचारी तथा कामदारको संख्या भने १ लाख ६ हजार ४५९ रहेको तथ्याङ्कले देखाएको छ । होटल तथा रेस्टुरेन्टले कर्मचारी तथा कामदारको तलब भत्तामा वार्षिक २० अर्ब ६१ करोड ५० लाख रुपैयाँ खर्च गर्दै आएका छन् ।

‘ओभर इन्भेष्टमेन्ट’को जोखिम कति ?
नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा होटल क्षेत्रको योगदान १.९६ प्रतिशत छ । हाल बागमती प्रदेशमा सबैभन्दा बढी ५२ हजार १२३ वटा होटल प्रतिष्ठान छन् । कोशीमा २५ हजार ८८७, लुम्बिनीमा २० हजार १५८, गण्डकीमा १६ हजार ९७६, मधेशमा ११ हजार ७४०, सुदूरपश्चिममा ८ हजार २२८ र कर्णालीमा ७ हजार ११० वटा होटल तथा रेस्टुरेन्ट रहेको तथ्यांकले देखाएको छ ।

कुल २२ लाख पर्यटक क्षमता रहेको नेपालको होटल पूर्वाधारमा अझै लगानी बिस्तार भइरहेको छ । खासगरी, विदेशी चेन होटल भित्र्याउने क्रम पछिल्लो समय बढिरहेको छ । यसकारण होटल क्षेत्रमा ‘ओभर इन्भेष्टमेन्ट’ भएर नयाँ, पूराना सबैलाई चूनौती सिर्जना हुने जोखिम पनि बढेकोे जानकारहरुको बुझाई छ ।

कस्ता होटल कति ?
तारे होटल: १२६ वटा
ताराविहीन होटल÷लज : ११,९१९ वटा
रिसोर्ट : १२६ वटा
होमस्टे : १,३४५ वटा
होस्टेल: १,०४७ वटा (स्कुल, कलेजको बाहेक)
रेस्टुरेन्ट: १,२६,८५९ वटा
क्याटरिङ एवम् पार्टी प्यालेस : ८०१ वटा

होटल एसोसिएन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाह विदेशी पर्यटकको आगमन अनुसार मुलुकका विभिन्न भेगमा सुविधा सम्पन्न होटल निर्माण भइरहेको बताउँछन् । एउटा होटल खुल्दा त्यसको लाभ किसानसम्म पुग्ने र थप रोजगारीसमेत सिर्जना हुने भएकाले होटलको क्षमता अनुसार पर्यटक भित्र्याउने पहल आवश्यक रहेको उनको भनाइ छ ।

‘होटल तथा रेस्टुरेन्टको सर्वेक्षणले धेरै कुरा उल्लेख गरेको छ । सप्लाई साइड बलियो हुँदाहुँदै पनि हामीकहाँ क्षमता अनुसार पर्यटक भित्र्याउने पहल पर्याप्त मात्रामा भइरहेको छैन भन्ने प्रष्ट छ’ अध्यक्ष शाहले भने, ‘होटल पूर्वाधारले जति संख्यामा पर्यटक धान्न सक्छ, हाम्रा विमानस्थलको क्षमता त्यति छैन । बनेका एयरपोर्ट पनि चलेका छैनन् । यसतर्फ विशेष ध्यान दिनु जरुरी छ ।’

उनले होटलमा लगानी गर्दा पर्याप्त अध्ययन भने गर्नुपर्ने सुझाव दिन्छन् । पछिल्लो समय सर्वसाधारण लगानीकर्तामा आईपीओ निष्काशन गर्ने र आफ्नो लगानी सुरक्षित गर्ने मनशायले मात्रै होटल खुल्ने क्रम बढिरहेको आरोप आउने गरेकोतर्फ सचेत रहँदै व्यावसायिक योजनाका साथ होटलहरु सञ्चालन हुनुपर्ने अध्यक्ष शाहको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापतिसमेत रहेका होटल व्यवसायी देशबन्धु बस्नेत (अजित) पनि विदेशी चेन ब्राण्डहरु नेपाल भित्रिँदा त्यसबाट मुलुकको विश्वव्यापी प्रचार र नेपालको आतिथि सत्कारको विश्व बजारमा प्रवद्र्धन हुने भएकाले सम्भाव्य शहरहरुमा होटलको अझै बिस्तार हुनुपर्ने बताउँछन् ।

होटल क्षेत्रलाई उद्योगको मान्यता दिइनुपर्नेमा पनि बस्नेतको जोड छ । मुलुकको द्रुत विकास र हरेक दिन विदेशी मुद्राको आर्जन हुने क्षेत्र पर्यटन भएकाले यसको विकास र बिस्तारमा निजी क्षेत्रले गरिरहेको योगदानलाई सरकारले प्रोत्साहन गर्दै पर्यटनमैत्री नीति, नियमहरु बनाउनुपर्ने उनको भनाइ छ ।

होटल संघ नेपाल (हान)की पूर्व अध्यक्ष सिर्जना राणा भने सरकारले होटल बनाउने अनुमति प्रदान गर्दा नै ‘सप्लाई’ र ‘डिमाण्ड’लाई हेरेर निर्णय गर्नुपर्ने बेला आएको बताउँछिन् । यद्यपि, होटल बन्नुहुँदैन भन्ने आफ्नो धारणा नरहेको उनको प्रष्टीकरण छ ।

‘काठमाडौँमा मात्रै भन्दापनि उपत्यका बाहिर बरु सरकारले इन्सेन्टिभ नै दिएर होटल बनाउन प्रोत्साहन गर्नुपर्छ भन्ने लाग्छ’ उनले भनिन्, ‘यसो हुँदा विदेशी पर्यटकको मात्रै भर पर्नुपर्ने बाध्यता हुँदैन ।’

कोभिडअघिको तुलनामा पर्यटकको संख्या स्थिर रहेको तर होटलको संख्या र होटलमा बेडको संख्यामात्रै बढ्दा सबैलाई चुनौती पनि बढेको पूर्वअध्यक्ष राणाको भनाइ छ ।

स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न रोडको अवस्था राम्रो छैन, एउटै अन्तर्राष्ट्रिय एयरपोर्ट क्षमताभन्दा बढीमा चलाउनु परिरहेको छ, नयाँ एयरपोर्टहरु चलाउनै सकिएको छैन । यस्तो अवस्थामा टुरिस्टको संख्या बढ्नसक्ने अवस्था छैन तर होटलमा बेडको संख्या भने बढिरहेकोले काठमाडौँ र मेजर सिटीभन्दा बाहिर होटल खोल्न सरकारले प्रोत्साहन गर्दा राम्रो हुनेमा राणाको जोड छ ।

कति छ प्रतिफल ?
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुराँ सर्वेक्षण’का अनुसार नेपालमा आवास तथा भोजनसँग सम्बन्धित व्यवसायहरूले एक रुपैयाँ लगानी बराबर एक वर्षमा औसत २० पैसा नाफा कमाउने देखिएको छ । २० प्रतिशत प्रतिफल हुनु आफैमा राम्रो हो ।

वि.सं. २०८१ पुस मसान्तसम्मको तथ्याङ्क अनुसार हाल शेयर बजारमा होटेल तथा पर्यटन समूहका ६ वटा कम्पनी सूचीकृत छन् । शेयर बजारमा सोल्टी होटेल लिमिटेड, तारागाउँ होटेल रिजेन्सी लिमिटेड, ओरियन्टल होटेल लिमिटेड, चन्द्रागिरी हिल्स लिमिटेड, कालिन्चोक दर्शन लिमिटेड र सिटी होटेल लिमिटेड सूचीकृत छन् । यीमध्ये सोल्टी होटेल वि.सं. २०५० सालमा शेयर बजारमा सूचीकृत भएको हो । सोल्टी होटेल शेयर बजारमा सूचीकृत हुने पहिलो होटेल पनि हो । त्यस्तै तारागाउँ होटेलले वि.सं. २०५५ सालमा सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको छ भने ओरियन्टल होटेलले वि.सं. २०५७ सालमा आईपीओ निष्काशन गरेको थियो ।

सोल्टी होटेल लिमिटेड, तारागाउँ होटेल रिजेन्सी लिमिटेड, ओरियन्टल होटेल लिमिटेडले लगानीकर्तालाई नियमित लाभांश पनि दिईरहेका छन् । जसमध्ये सोल्टी होटेलले सबैभन्दा आकर्षक लाभांश दिँदै आएको छ. विगत ११ वर्षको लाभांशको विवरण हेर्दा सोल्टी होटेलको औसत लाभांश २५ प्रतिशत बढी छ । विगत ११ वर्षको अवधिलाई हेर्दा कोभिड प्रभावित वर्ष बाहेक सोल्टी होटेलले हरेक वर्ष लाभांश दिएको छ ।

सोल्टी होटेल लिमिटेड, तारागाउँ होटेल रिजेन्सी लिमिटेड, ओरियन्टल होटेल लिमिटेडले पछिल्लो ११ वर्षमा प्रदान गरेको लाभांशको तालिका

कुनै समय शेयर बजारमा याक एण्ड यति होटेल पनि सूचीकृत भए तापनि वि.सं. २०६२ देखि नै कारोबार भएको छैन । हाल यसको सूचीकरण खारेज भईसकेको छ । शेयर बजारमा सूचीकृत होटेल र पर्यटन समूहका अन्य कम्पनीले भने अहिलेसम्म लाभांश प्रदान गरेका छैनन् ।

थप ७ कम्पनी शेयर बजारमा सूचीकृत हुँदै
होटेल तथा पर्यटन समूहका थप ७ वटा कम्पनीले शेयर बजारमा सूचीकृत हुने प्रक्रिया अघि बढाएका छन् । वि.सं. २०८१ पुस मसान्तसम्मको विवरण अनुसार यस समूहका थप ७ कम्पनीले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । ७ वटा कम्पनी मध्ये २ वटा केवलकार कम्पनी हुन् भने बाँकी होटेल ।

तनहुँमा होटेल र सिनेमा हल संचालन गरिरहेको एपेक्स हस्पिटालिटी लिमिटेड २४ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा छ । काठमाडौँको बुढानिलकण्ठमा ५ तारे होटेल चलाईरहेको होटेल फरेस्ट इन्ले ९८ लाख कित्ता आईपीओ निष्काशन गर्ने छ । काठमाडौँको रबिभवनमा होटेल क्राउन इम्पिरियल संचालन गरिरहेको अर्किड होल्डिंग लिमिटेडले १ करोड १५ लाख कित्ता आइपीओ निष्काशन गर्नेछ । काठमाडौँकै धुम्बाराहीमा रहेको आकामा होटेल लिमिटेडले प्रति शेयर ५० रुपैयाँमा ४५ लाख कित्ता आईपीओ निष्काशन गर्नको लागि आवेदन दिएको छ ।

ठमेलमा रमाडा इन्कोर काठमाडौँ होटेल संचालन गरिरहेको ठमेल प्लाजा होटेल एण्ड स्विट्स लिमिटेडले १० लाख कित्ता शेयर निष्काशनको तयारी गरेको छ ।

(बिजनेशपाना म्यागेजिनको फागुन अंकबाट साभार)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

संचालकबीच नै विवाद भएपछि गोर्खाज फाइनान्सका सीइओको नियुक्ति खारेज

गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीको नियुक्ति...

महासंघद्धारा आगामी नीति तथा कार्यक्रमका लागि सुझाव प्रस्तुत

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक बर्ष २०८२।८३ को नीति...

सुनको भाउ स्थिर, चाँदीको घट्यो

आज बिहिबार सुनको भाउ स्थिर छ । बुधबार प्रतितोला...

सुरु भयो यस वर्षको एसइई परीक्षा, असार ७ भित्रै नतिजा

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ।...

आज डलर र युरोको मूल्य घट्यो, अरु विदेशी मुद्राको दर कति ?

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको...

माछापुच्छ्रे क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

माछापुच्छ्रे क्यापिटल लिमिटेडले फागुन २२ गतेदेखि निष्काशन गरेको सामुहिक...
spot_img