नेपाल बिजनेस समिटको दोस्रो संस्करण २०८२ बैशाख ७ गते आयोजना हुने भएको छ । बिजनेस समिटको दोस्रो संस्करण आयोजनाका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई)बीच सहकार्य गर्ने सम्झौता भएको छ ।
उक्त सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेत आयोजक रहने छ ।
नेपाल बिजनेश इन्स्टिच्युटका कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटिका संयोजक विशाल गैरेका अनुसार यसपालीको सम्मेलन आर्थिक, बैंकिङ, उद्योग÷व्यवसाय तथा सम्भावनाका क्षेत्रहरुमा देखिएका समस्या समाधानमा केन्द्रित हुनेछ । कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञ, उदीयमान युवा तथा महिला उद्यमीहरुबीच व्यापक छलफल तथा बहस हुनेछ । त्यसरी छलफलमा आएका विषयहरु समेटेर प्रतिवेदन तयार पारिने छ । उक्त प्रतिवेदन कार्यान्वयनका लागि तीनै तहका सरकारहरुलाई हस्तान्तरण गरिने बताइएको छ ।
औद्योगिकरण, कृषि, पर्यटन, जलविद्युत, वनपैदावार, प्रविधि, साना तथा मझौला उद्योगको स्तरोन्नति, स्वउद्यमशीलता तथा स्टार्टअप व्यवसायहरु, भेन्चर क्यापिटल, इक्यूवेशन लगायतका क्षेत्रमा व्यापक लगानी विस्तार गर्दै दिगो र फराकिलो आर्थिक विकासका लागि बिजनेस समिटले सहयोगी भूमीका निर्वाह गर्ने विश्वास लिइएको छ ।
समिटमा तीनै तहका सरकार, उच्च राजनीतिक नेतृत्व, स्वदेशी तथा विदेशी विषयविज्ञ, अर्थविद्, बैंकिङ विज्ञहरु, दातृ निकायका प्रतिनिधि, निजी क्षेत्रसहित उच्च शिक्षाका विद्यार्थीहरुसहित ५ सय बढीको सहभागिता रहने जनाइएको छ ।













