नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले इजरायलका राजदूत मार्फत नेपालमा लगानी गर्न इजरायली लगानीकर्तालाई आग्रह गरेका छन् ।
नेपालमा लागी इजरायली राजदूत श्मुलिक आरी बाससँग भएको भेटवार्ताका अवसरमा अध्यक्ष ढकालले दुई देशबीच आपसी सम्बन्ध सुधार, आर्थिक विकास तथा व्यापार प्रवद्र्धनका विषयमा छलफल गरेका हुन् ।
नेपालको कृषि क्षेत्रको विकास एवं नेपाली युवाहरुलाई रोजगारी प्रदान गर्ने विषयमा इजरायलले लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै अध्यक्ष ढकालले यो सम्बन्धलाई थप प्रभावकारी बनाउने गरि सहकार्य गर्न राजदूत बास समक्ष आग्रह गरेका हुन् ।
“नेपालको कृषि, पर्यटन उर्जा तथा सूचना प्रविधि क्षेत्रमा लगानीमा प्रशस्त सम्भावनाहरु रहेका छन् । उद्योग र व्यापारमा भएका यी सम्भावनाहरुबाट दुबै देशले फाइदा लिन सक्छन्” अध्यक्ष ढकालले भने, “तसर्थ म इजरायली लगानीकर्तालाई राजदूतमार्फत नेपालमा लगानीका लागि आग्रह गर्छु ।”
इजरायली राजदूत श्मुलिक आरी बासले नेपाल र इजरायबीच लामो सम्बन्ध रहि आएको चर्चा गर्दै आफ्नो कार्यकालमा नेपालको आर्थिक तथा सामाजिक विकासमा सक्दो योगदान गर्ने प्रतिवद्धता जनाएका छन् ।













