तीनपांग्रे सवारीसाधन निर्माता रायन इनर्जी प्रा.लि.ले आक्रमक रुपमा व्यवसाय विस्तारको योजना थालेको छ। कम्पनीले हाल विभिन्न प्रकारका इलेक्ट्रिक सवारी साधनहरु (दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे) एसेम्बल गर्नको निमित्त अनुमति प्राप्त गरी कार्य सञ्चालन गरिरहेको छ। यसको लागि कम्पनीले २०७८ साल पौषमा उद्योग, पर्यटन तथा वन मन्त्रालयबाट अनुमति पाएको थियो ।
अब कम्पनीले विद्युतीय सवारीसाधन एसेम्बल गर्ने मात्र नभई ब्याट्री बनाउने, र चार्जीङ स्टेसनको लागि आवश्यक पूर्वाधार बनाउने लक्ष्य लिएको छ। कम्पनीले सन् २०२६ सम्म १०० वटा ब्याट्री एक्सचेन्ज स्टेसन निर्माण गर्ने लक्ष्य लिएको छ । कम्पनीले महिलालाई आफ्नो सवारी साधन दिएर उनीहरुलाई उद्यमी बनाउने काम पनि गरिरहेको छ । ति सवारीसाधन प्रति किलोमिटर १ रुपैयाँ भन्दा कम लागतका गुड्ने कम्पनीले जनाएको छ। कम्पनीले ग्राहकहरुलाई ब्याट्री एक्सचेन्जको सुविधा पनि दिदै आएको छ। कम्पनीले विदुतीय सवारीसाधन प्रबर्दन गर्दै देशलाई उर्जामा आत्मनिर्भर बनाउने लक्ष्य पनि लिएको छ ।
यो कम्पनी नेपालका अग्रणी नविकरणीय ऊर्जा क्षेत्रका लगानीकर्ताद्वारा स्थापना गरेका हुन् । दुई तथा तीन पाङ्ग्रे विद्युतीय सवारी साधनहरुको संयोजन तथा उन्नत ब्याट्री स्वाप मेकानिजम् र सञ्चालन प्रणाली एकीकृत गर्ने तथा नेपालको यातायत क्षेत्रमा दीगो भविष्य निर्माण गर्ने उद्देश्यले कम्पनी स्थापना भएको हो । वि.सं.२०७७ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रा.लि. को रुपमा दर्ता भएको रायन इनर्जीको रजिष्टर्ड (केन्द्रीय) कार्यालय दरबारमार्ग, काठमाण्डौंमा रहेको छ ।
यो कम्पनी नवीकरणीय ऊर्जा क्षेत्रमा ३० वर्षभन्दा बढी समयदेखि कार्य गर्दै आएका सक्रिय उत्साही व्यवसायीहरु तथा विभिन्न क्षेत्रमा अनुभवी व्यक्ति समूहद्वारा स्थापित व्यवसायिक संस्था हो । यस समूहले एसेम्ब्ली प्लान्ट, नवीकरणीय ऊर्जा प्रणाली एकीकरण र वितरण, ग्रामीण तथा शहरी विद्युतीकरणको साथै सौर्य सिंचाई, पावर ब्याकअप प्रणाली एकीकरण तथा स्थापना लगायतका विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेको छ । यसले हालको बजार अवस्थाको गहिरो विश्लेषण गर्दै नेपालमा दीगो तथा स्वच्छ यातायात प्रणाली विकासमा अग्रणी स्थान हासिल गर्न सक्ने विश्वास लिइएको छ ।
कम्पनीले नवीकरणीय ऊर्जामा आधारित दीगो यातायात प्रवद्र्घन गर्न प्रतिबद्घ रहनुका साथै बजारमैत्री विद्युतीय सवारी साधनहरुको निर्माण तथा डिजाईन, विकास तथा एसेम्बली मार्फत अत्याधुनिक प्रविधि, उच्च कार्यक्षमता, उत्कृष्ट प्रदर्शन तथा वातावरणीय स्थायित्वप्रति प्रतिबद्घता सहित स्वच्छ तथा दिगो यातायात प्राणली विकासमा कटिबद्घ रही कार्य गर्ने लक्ष्य राखेको छ ।
कम्पनीले आगामी आ.व २०८२/०८३ मा प्राथमिक शेयर निष्काशन गर्ने योजना बनाएको छ। कम्पनीले संस्थागत परामर्श तथा व्यवसायिक अवधारणा र प्राथमिक शेयर निष्काशन सम्बन्धी सेवाको लागि ग्लोबल आइएमई क्यापिटलसँग Business Concept to Listing अन्तर्गत द्विपक्षीय सम्झौता गरेको छ। सम्झौतामा रायन इनर्जी प्रा.लि.को तर्फबाट प्रबन्ध सञ्चालक दिपक कुमार रौनियार र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइटेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
हाल कम्पनीको चुक्ता पुँजी ९० करोड रहेको छ ।













