नेपाल विद्युत प्राधिकरणले सौर्य विद्युत उत्पादनका लागि खुलाएको टेण्डर निष्पक्ष नभएको भन्दै सहभागीहरुले नयाँ टेण्डर आह्वन गर्न माग गरेका छन् । टेण्डर खोल्ने दिन बिना सूचना ३ घण्टा आवेदन कै लागि समय थपिएको र त्यस समयमा उलेख्य आवेदन परेको देखिएको भन्दै सहभागीहरुले टेण्डर प्रक्रियाको निष्पक्षतामा प्रश्न उठाएका हुन् ।
प्राधिकरणको विद्युत ब्यापार विभागले २०८० चैत्र २१ गते ४५ दिनको समयसीमा राखेर ८०० मेगावाट सौर्य विद्युत् उत्पादन गर्नको लागि इच्छुक विकासकर्ताबाट विद्युतीय बोलपत्रमार्फत आह्वान गरेको थियो । प्राधिकरणले आफ्नो नजिकका सबस्टेसनमा जोड्न मिल्ने गरी विकासकर्ताबाट प्रस्ताव आह्वान गरेको थियो । तर विकासकर्ताको सहभागिता न्यून भएको भन्दै प्राधिकरणले ३ पटक म्याद थप्यो । पहिलो पटक असार ४ गतेसम्मका लागि, दोस्रो पटक असार २५ गतेसम्मका लागि र तेस्रो पटक साउन ३० गतेसम्म आवेदन दिने म्याद थपेको थियो ।
प्राधिकरणले न्यून सहभागिता भन्दै समय थप गरे पनि केही निश्चित समूहले समयमा आयोजनाको लागि जग्गाको चाँजोपाजो मिलाउन नसकेपछि उनीहरुको लागि भनेरै पटक पटक समय तपिएको केही विकासकर्ता दाबी गर्छन्। एक विकासकर्ताले नाम नबताउने शर्तमा बिजनेशपानासँग भने ‘ मारवाडी समुदायका केही कम्पनीलाई जग्गा खोज्न समय पुगिरहेको थिएन, उनीहरु कै लागि प्राधिकरणले पटक पटक समय थप गरेको हो’ ।
यद्यपि पूर्व जानकारी दिएर समय थप गरिनु प्राधिकरणको क्षेत्राधिकारको विषय भए पनि टेण्डर खोल्ने भनिएको दिन साउन ३० गते पनि ३ घण्टाको लागि समय थप गरिएकोमा विकासकर्ताले प्रश्न उठाएका छन्। बिना जानकारी साउन ३० गते १२ बजेदेखि ३ बजेसम्मको लागि समय थप गरिएको र त्यो समयमा धेरै विकासकर्ताले आफुले कबुल गरेको मूल्य हेरफेर गरेको र टेण्डर प्रक्रिया मै चलखेल गरिएको अर्का एक विकासकर्ताले बताए । उनले भने ‘समय थपिएको जानकारी धेरैलाई हुदै भएँन, थपिएको समयमा मूल्य हेरफेर गरेर चलखेल गर्ने काम भएको छ, बोलपत्रको लागि आवेदन दिने वेबसाइटमा पनि साउन ३० मा समय थप गरिएको सूचना राखिएको छैन’। उनले टेण्डर प्रक्रिया नै रद्द गर्न माग गरेका छन् । यदि प्रक्रिया रद्द गरेर पुन: प्रक्रिया सुरु नगरेमा अख्तियारमा उजुरी दिने, सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिने, तथा आवश्यक परे न्यायलय जाने उनको भनाई छ।
प्राधिकरणले उपलब्ध गराएको टेण्डरको मुचुल्कामा पनि कुल ३६ आवेदकले साउन ३० गते १२ बजेपछि आफ्नो टेण्डर आवेदन मोडिफाई गरेको देखिन्छ । यस क्रममा आफुले टेण्डर पाउन अनुकुल हुने गरि मूल्य नै हेरफेर गरिएको अशन्तुष्ट आवेदकहरु बताउछन् । मुचुल्कामा २ आवेदक कम्पनीले साउन ३० गते दिउँसो ३ बजेपछि अर्थात ३ बजेर १ मिनेट र ३ बजेर ४ मिनेटमा विड सब्मिट अर्थात् आवेदन बुझाएको देखिन्छ। ३ बजेसम्मको समय तोकिएकोमा ३ बजेपछि पनि आवेदन लिएको देखिएकोले टेण्डरमा चलखेल भएको भन्दै छानबिन गरिनु पर्ने माग अर्का एक आवेदकले गरेका छन् ।
यता नेपाल विद्युत प्राधिकरणले भने नियम र विधि सम्मत नै टेण्डर आह्वान गर्ने तथा खोल्ने काम भएको जनाएको छ। प्राधिकरणको विद्युत व्यापार विभागका निर्देशक राजन ढकालले त्यस दिन सार्वजनिक खरिद अनुगमन कार्यालयको सर्भरमा समस्या आएकोले समय थपिएको बताए । उनले विद्युत प्राधिकरणको टेण्डरको मात्र नभई त्यस दिन टेण्डर खोल्ने तय भएका अन्य सबै टेण्डरको हकमा पनि सर्भरमा समस्या आएको कारणले समय थप गरिएको बिजनेशपानालाई बताए। सर्भरमा समस्या आएकोले सार्वजनिक खरिद अनुगमन कार्यालयले नै समय थप गरेको र सबै टेण्डरको हकमा समय थप भएकोले प्राधिकरणले सूचना जारी गरिरहनु नपरेको निर्देशक ढकालको भनाई छ।
निर्देशक ढकालका अनुसार अब आवेदकहरुको प्राविधिक मुल्यांकन गरिने छ। त्यसपछि प्राविधिक मुल्यांकनमा योग्य ठहरिएका कम्पनीहरुको आर्थिक मुल्यांकन गरिने र आर्थिक मुल्यांकनपछि मात्र कसले आयोजना निर्माणको लागि अनुमति पाउछ भन्ने टुंगो लाग्ने निर्देशक ढकालले बताए ।