विद्युत विकास विभागले बुट मोडलमा १४ वटा हाइड्रोपावर आयोजना निर्माण गर्नको लागि फेरि आशयपत्र माग गरेको छ। यस अघि आशयपत्र जारी गर्दा आवेदन नपरेपछि विभागले पुस १ गते फेरि योग्य तथा इच्छुक कम्पनीहरुसंग आशयपत्र माग गरेको हो।
विभागले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५, र सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन नियमावली २०७७ को व्यवस्था अनुसार ति आयोजना बनाउनको लागि आशयपत्र माग गरेको हो । योग्य तथा इच्छुक कम्पनीले २०२६ जनवरी १६ दिउँसो १२ बजेसम्ममा आशयपत्र पेश गरिसक्नु पर्ने छ।
विभागले परेका आशयपत्रलाई मुल्यांकन गरेर योग्य कम्पनीलाई सर्टलिस्ट गर्ने छ । कम्पनी सर्टलिस्ट गर्दा प्रविधिक क्षमतालाई ३० प्रतिशत, वित्तीय क्षमतालाई अधिकतम ४० प्रतिशत र आयोजना निर्माणको अनुभवलाई ३० प्रतिशतको अंकभार अनुसार गरिने छ।
आशयपत्र पेश गरेपछि विभागले कम्पनीलाई सर्टलिस्ट गर्ने छ। सर्टलिस्टमा परेका कम्पनीले विभागमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्नु पर्ने छ। ति मध्ये सबैभन्दा बढी upfront fee पेश गर्नेलाई छनौट हुने छ ।
छनौट हुने कम्पनीलाई विभागले विद्युत ऐन २०४९ र विद्युत नियमावली २०५० को व्यवस्था अनुसार बुट मोडलमा आयोजना निर्माण गर्नको लागि लाईसेन्स प्रदान गर्ने छ।
आशयपत्र माग गरिएका आयोजनामा २.५२ मेगावाटको देखि ६१.०२ मेगावाटसम्मका आयोजना हुन् । यी आयोजना वातावरणीय प्रभाव मुल्यांकन र सम्भाव्यता अध्ययन पनि सम्पन्न भईसकेका आयोजना हुन् ।
कुन कुन आयोजना छन् समावेश ?
- हुम्ला कर्णाली जलविद्युत आयोजना (६१.०२ मेगावाट) – हुम्ला जिल्ला
- इङ्खु खोला जलविद्युत आयोजना (२१.४ मेगावाट) – सोलुखुम्बु जिल्ला
- अपर चमेलिया जलविद्युत आयोजना (५३.८५ मेगावाट) – दार्चुला जिल्ला
- कवाडी खोला–१ जलविद्युत आयोजना (३३.३ मेगावाट) – हुम्ला र बाजाङ जिल्ला
- कवाडी खोला जलविद्युत आयोजना (३० मेगावाट) – हुम्ला र बाजुरा जिल्ला
- जुगाडा बुढीगंगा जलविद्युत आयोजना (१५.५ मेगावाट) – बाजुरा जिल्ला
- जावा खोला जलविद्युत आयोजना (१५.२५ मेगावाट) – जुम्ला जिल्ला
- म्याग्दी खोला जलविद्युत आयोजना (१५.२ मेगावाट) – म्याग्दी जिल्ला
- बुढीगंगा सानो जलविद्युत आयोजना (१०.८५ मेगावाट) – बाजुरा जिल्ला
- रूपागढ जलविद्युत आयोजना (८.६२५ मेगावाट) – डोल्पा जिल्ला
- लुङ्ग्री खोला जलविद्युत आयोजना (६ मेगावाट) – रोल्पा जिल्ला
- भेरी खोला जलविद्युत आयोजना (४.१ मेगावाट) – जुम्ला जिल्ला
- न्याउरीगाड जलविद्युत आयोजना (४.०१५ मेगावाट) – जुम्ला जिल्ला
- डोटीगाड जलविद्युत आयोजना (२.५२ मेगावाट) – डडेल्धुरा जिल्ला












