चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ४५ मेगावाटको चुमचेत स्यारखोला जलविद्युत आयोजना निर्माणको लागि लाईसेन्स पाएको छ। विद्युत विकास विभागले मङ्सिर ५ गते कम्पनीलाई उत्पादन लाईसेन्स दिएको हो। लाईसेन्सको अवधि ३५ वर्षको रहेको छ ।
अब आयोजनाको वित्तीय व्यवस्थापन भएपछि आयोजना निर्माणले गति लिने छ। कम्पनीले बनाउने यो आयोजना गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर ५ र ६ मा रहने छ । कम्पनीका अनुसार आयोजनाको लागि चुमनुव्री गाउँपालिका-६ को गुमलुङ्गमा अवस्थित झोलुङ्गे पुल भन्दा ३०० मि. तल ८.५० मि. अग्लो र १५.५० मि. लम्बाइको Weir निर्माण गरी १३.८५ घनमिटर प्रति सेकेण्ड पानीको बहावलाई ग्रेभल ट्रेप हुदै बालुवा थिग्राउने पोखरीमा पुऱ्याई सफा पानीलाई ४९३२.३७ मि. लामो सुरुङ्ग मार्फत सर्ज शाफ्टमा पठाईने छ ।
तत्पश्चात् उक्त पानीलाई ७२५ मि. लामो २.० मि. आन्तरिक व्यास भएको प्रेसर शाफ्ट मार्फत चुमनुव्री गाउँपालिका-६ लोक्पा गाउँ नजिक निर्माण हुने भूमिगत विद्युतगृहमा खसाली पेल्टन टर्वाइनको सहायताले ४५ मे.वा. विद्युत उत्पादन गरिने छ । त्यसपछि निष्कासन हुने पानीलाई ३९० मि. लम्बाइ ३.६० मि. चौडाइ र ३.७५ मि. उचाइको टेलरेस सुरुङ्ग मार्फत पुनः स्यार खोलामा नै छोडिने कम्पनीले जनाएको छ । प्रस्तावित आयोजनाको सम्पूर्ण संरचनाहरु स्यार खोलाको दायाँ किनारमा अवस्थित रहने छन् ।
यस आयोजनाबाट उत्पादित विद्युतीय ऊर्जालाई २२० के.भी. सिङ्गल सर्किट विद्युत प्रसारण लाइन मार्फत बुढी गण्डकी प्रोक जलविद्युत आयोजनाको स्वीचिङ्ग स्टेशमा जोडिने छ । तत्पश्चात बुढी गण्डकी प्रोक जलविद्युत आयोजना, बुढी गण्डकी प्रोक-१ जलविद्युत आयोजना र चुमचेत स्यारखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युतीय ऊर्जालाई ७० किलोमिटर लामो एकिकृत २२० के.भी. डबल सर्किट विद्युत प्रसारण लाइन मार्फत लापाङ्ग बिहारथोकमा प्रस्तावित २२० / १३२/३३ के.भी. सवस्टेसनमा जोडी ने. वि. प्रा. को ग्रिडमा २२० के.भी. भोल्टेज लेभलमा Evacuate गर्ने योजना रहेको छ ।
आयोजनाको कुल लागत ९ अर्ब १५ करोड ३९ लाख अनुमान गरिएको छ ।












