सिंगटी हाईड्रो इनर्जी लिमिटेडको लगानी रहेको ह्याविट्याट पावर कम्पनी लिमिटेडले ११.२४ किलोमिटर प्रसारणलाइन निर्माण गर्ने भएको छ। कम्पनीले प्रसारणलाइन निर्माणको लागि निर्माण अनुमति माग गर्दै विद्युत विकास विभागमा आवेदन दिएको छ। सो प्रसारणलाइन निर्माण तथा संचालन गर्दा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा ३५ दिन भित्र राय प्रतिक्रिया दिन आग्रह गरेको छ।
यस प्रसारण लाईनको भोल्टेज ३३,००० भोल्ट, सिङ्गल सर्किट रहने र ९.९ मेगावाट सम्मको विद्युत शक्ति प्रसारण गर्न सकिनेछ । यस प्रसारण लाईन आयोजना, कोशी प्रदेश अन्तर्गतको पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं. १मा निर्माणाधीन हेवा ए खोला जलविद्युत आयोजनाको स्विचयार्ड देखि सोही जिल्लाको फालेलुङ गाउँपालिका, हिलिहाङ गाउँपालिका, फिदिम नगरपालिका भई नेपाल विद्युत प्राधिकरणको फिदिम सवस्टेसनसम्म जम्मा ११.२४ कि.मी., ३३ के. भी., सिङ्गल सर्किट प्रसारण लाईन निर्माण गरिने छ ।
यो प्रसारण लाईनको लम्बाई जम्मा ११.२४ कि.मी. हुनेछ जसमा १४० वटा Steel Tubular Pole हरु रहने छन् । पोलको उचाई १३ मी. तथा पोलहरु बिचको औसत दुरी ६३.१२ मी. हुनेछ । यस आयोजनाको पोल तथा प्रसारण लाइन निर्माण गर्न Right of Way (RoW) र Pole Foundation को लागि जम्मा ८.०४२ हेक्टर जग्गा स्थायी तथा अस्थाई रुपमा आवश्यकता पर्ने देखिन्छ ।
यो प्रसारण लाईनको क्षेत्राधिकार (RoW) विद्युत नियमावली, २०५० मा तोकिए बमोजिम न्यूनतम दुरीमा नघटाई प्राविधिक दृष्टिकोण बाट ६.६२ मी. (मध्य विन्दुबाट ३.३१ / ३.३१ मी. दायाँ बायाँ) कायम गरिने छ । यो प्रसारण लाईनको निर्माण कार्य १२ महिना भित्र सम्पन्न गरिने लक्ष्य रहेको छ ।
यो प्रसारण लाईन निर्माण तथा सञ्चालन गर्दा विद्युत ऐन, २०४९ को दफा २४ बमोजिम भु-क्षय, बाढी, वायु प्रदुषण आदि द्वारा वतावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने गरी निर्माण गरिने कम्पनीले जनाएको छ ।
ह्याविट्याट पावर कम्पनीले पाँचथर जिल्लामा ९.९ मे.वा. क्षमताको हेवाखोला ए साना जल विद्युत आयोजनाको निर्माण गरिरहेको छ । सो आयोजनाको विद्युत प्रवाह गर्न प्रसारणलाइन निर्माण गर्न लागेको हो ।












