अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजबाट लागू हुने गरी अण्डाको मूल्य बढाएको हो ।
अब सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट ५२० रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ५ सय रुपैयाँ र मिडिएम साइजको अण्डा प्रतिक्रेत ४९० रुपैयाँ कायम गरिएको छ । संघले यसअघिको मूल्यमा प्रतिक्रेट ५५ रुपैयाँले भाउ बढाएको हो ।
भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ भएसँगै भारतीय अण्डा नेपाली बजारमा छिर्न नपाएकाले नेपालका कुखुरा पालक कृषकले अण्डाको भाउ पाएको संघले जनाएको छ । अण्डाको लागत मूल्य नेपालमा प्रतिगोटा १६.५७ रुपैयाँ पर्न आउने र बढेको भाउमा अण्डा बिक्री गर्दा नेपालका किसानले लागत मूल्य पाउने संघको भनाइ छ ।
साथै, जाडो महिनामा अण्डाको खपत पनि बढ्छ । त्यस अनुसार माग पनि बढ्न जान्छ र उत्पादन सिमित हुँदा अन्य वर्षहरुमा पनि जाडो याममा भाउ बढ्ने गरेको थियो ।
नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन हुँदै आएको छ ।












