समस्याग्रस्त घोषणा भई नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिएको साविकको सुपर लघुवित्त अब सञ्जीवनी लघुवित्त वित्तीय संस्थाको नामबाट संचालनमा आएको छ । नेपाल राष्ट्र बैंकले २०७९ भदौ २२ गते लघुवित्तलाई समस्याग्रस्त घोषणा गरेर माघमा व्यवस्थापन नियन्त्रणमा लिएको थियो।
२०८० भदौ मा राष्ट्र बैंकले सो लघुवित्तको व्यवस्थापन सम्हाल्नको लागि व्यवस्थापन समूहको संयोजक र सदस्य नियुक्त गरेको थियो । जसमा निर्मल कुमार कार्की संयोजक र सदस्यमा शेष नारायण पोखरेल चयन भएका थिए।
कार्की नेतृत्वको सो टिमले नेपाल राष्ट्र बैंकले दिएको जिम्मेवारी पुरा गरेको छ । अब भने लघुवित्तमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ र नयाँ संचालक समिति पनि गठन भईसकेको छ। लघुवित्तले गत भदौ ६ गते ४ वटा आर्थिक वर्षको वार्षिक साधारण सभा एकै पटक सम्पन्न गरी संस्थालाई नियमित रुपमा सञ्चालन गर्ने प्रस्तावहरु पारित गरेको थियो ।
त्यसपछि राष्ट्र बैंकबाट सञ्जीवनी लघुवित्तको नाममा लघुवित्तलाई संचालन गर्नको लागि अनुमति लिएर हिजो पुस १५ गते लघुवित्तले विशेष साधारणसभा सपन्न गरेको छ । हिजो सम्पन्न साधारणसभाले नयाँ संचालक समिति पनि गठन गरेको छ र कम्पनीको अध्यक्षको जिम्मेवारी रजित मास्केलाई दिएको छ । नव नियुक्त अध्यक्षले नेपाल राष्ट्र बैंकको नेपालगंज कार्यालयमा आज सपथ लिएका छन् । नयाँ संचालकमा यशोधन पाण्डे, सुवाष कुँवर, अनन्तराज पन्त र विजय शर्मा रहेका छन् ।
अब नयाँ संचालक समितिले काम गर्न थाल्ने छ । नयाँ संचालक समितिले अब राष्ट्र बैंकलाई नियमित कारोबार संचालन गर्न, प्रतिबन्ध फुकुवा गर्न, नयाँ व्यवस्थापन गठन गर्नको लागि अनुमति माग गर्ने छ । राष्ट्र बैंकले अनुमति दिएपछि सञ्जीवनी लघुवित्तको नामबाट लघुवित्तले आफ्नो नियमित कारोबार संचालन गर्ने छ।
वित्तीय क्षेत्र मै नयाँ नजिर: संयोजक कार्की
समस्याग्रस्त रहेको अवस्थामा व्यवस्थापन समूहको जिम्मेवारी पाएका कार्कीले समस्याग्रस्त वित्तीय संस्थालाई सुधार गरेर पुनसंचालन गर्ने बारे सुपर लघुवित्त नयाँ नजिरको रुपमा रहने बताएका छन् । कठिन परिस्थितिमा पनि १ करोड ९५ लाख पुँजी भएको सस्थालाई १ अर्ब १९ करोड भएको सस्थामा ल्याउन सफल भएको उनले बताए।
कार्कीका अनुसार अहिले संस्थामा प्रभु बैंक, शंग्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैंक, फर्स्ट माइक्रोफाइनान्स र आरएसडिसी लघुवित्तले लगानी गरेका छन्। जसमा प्रभु बैंकले सबैभन्दा धेरै लगानी गरेको छ। यी मध्ये कतिपय संस्थाले लघुवित्तमा ऋण लगानी गरेका थिए र त्यसलाई नै पुँजीमा परिणत गरिएको हो। साथै संस्थामा नयाँ लगानी पनि भित्रिएको छ। राष्ट्र बैंकको संचालक समितिले अवरोध फुकुवा गरेसंगै यी वित्तीय संस्थालाई लगानीकर्ताको रुपमा ल्याउन सकिएको कार्की बताउछन् ।
अब लघुवित्तमा पुराना लगानीकर्ताको शेयर स्वामित्व २.५ प्रतिशत मात्र कायम भएको छ भने बाँकि स्वामित्व नयाँ लगानीकर्ताको भएको छ। लघुवित्तमा ६८ प्रतिशत शेयर संस्थापक र ३२ प्रतिशत सर्वसाधारण शेयरधनीको हुने गरि प्रस्ताव गरिएको छ । अर्थात् कम्पनीले ३२ प्रतिशत शेयर आईपीओको रुपमा निष्काशन गर्ने छ।
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दा लघुवित्तलाई कर्जा प्रवाह र संकलनमा रोक लगाएको थियो। यस अवधिमा व्यवस्थापन समितिले बचतकर्ताको बचत फिर्ता दिएको छ। लघुवित्तले ५७ करोड कर्जा प्रवाह गरेको थियो। जुन हाल ४८ करोडमा आईपुगेको छ। ४८ करोड कर्जा मध्ये ३१ करोड बढी कर्जा नक्कली कर्जा थियो, जसको कुनै कागजात नै थिएन। सिधै चेक काटेर कर्जा दिएको अवस्था भेटिएको थियो। यसरी संचालक समितिका सदस्य, तथा कतिपय कर्मचारीले नक्कली ऋणी खडा गरेर कर्जा दिएर आर्थिक हिनामिना गरेका थिए। ति मध्ये ५७ जना विरुद्द अहिले उच्च अदालत तुलसीपुरमा मुद्दा चलिरहेको छ। नयाँ व्यवस्थापन समूह आईसकेपछि मुख्य अभियुक्त भनिएका ज्योति प्रसाद चौधरी अहिले तुलसीपुर कारागार थुनामा छन्, जसलाई सर्वोच्च अदालतले पनि थुनामा नै राख्न अनुमति दिएको छ।
संयोजक कार्कीका वास्तविक ऋणीबाट ऋण असुल गर्दै अनुसार बचतकर्ताको बचत फिर्ता भएको छ। बचतकर्ताले ऋण पनि लिएकोले ६ करोड बचत भने फिर्ता गर्नु परेको छैन । समूहले नै विभिन्न अदालतमा दायर भएका मुद्दा पनि लडेको र सर्वसाधारणको निक्षेप हिनामिना गर्नेलाई कानूनी कठघरामा उभ्याउन सफल भएको कार्कीको भनाई छ।
उनका अनुसार संस्था १२६ प्रतिशतले पुँजी पर्याप्तता नेगेटिभ भएको अवस्थाबाट २७.९६ प्रतिशतले पोजेटिभ भएको उनले बताए। बिग्रेको वित्तीय संस्था यति छोटो अवधि (२ वर्ष र थपिएको छोटो समय) मा ठिक ठाउंमा ल्याईएको यो नै पहिलो पटक भएको उनले बताए । साथै संस्थालाई सपार्न यस लघुवित्तमा प्रयोग गरिएको मोडल अरु त्यस्तै लघुवित्तमा पनि लागू गर्न सकिने गरि नयाँ नजिरको रुपमा समेत स्थापना भएको कार्की बताउछन्।
उनका अनुसार अहिले अदालतमा मुद्दा चलिरहेको छ। मुद्दाको अन्तिम किनारा लागेसंगै फैसला पनि अन्तिम चरणमा रहेको छ। अदालतबाट अन्तिम फैसला भएसंगै सम्पति जफत गर्ने बाटो खुल्ने भएकोले छिट्टै संस्थामा नाफामा जाने अवस्था पनि बनेको कार्कीको भनाई छ। शतप्रतिशत प्रोभिजन भईसकेकोले कर्जा उठ्ने बित्तिकै कम्पनी नाफामा जाने छ।











