Tuesday, September 8, 2026
spot_img

वाणिज्य बैंक बन्ने कसरतमा मुक्तिनाथः राष्ट्र बैंककै आग्रहमा ‘सिन्धु’ र ‘जानकी’ प्राप्तीको निर्णय

spot_img

मुक्तिनाथ विकास बैंकको २०८२ कार्तिक १५ गते सम्पन्न १९ औं वार्षिक साधारणसभाले विकास बैंकलाई वाणिज्य बैंकमा अपग्रेड गर्नको लागि आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिएको थियो। अर्थात् बैंकले साधारणसभाले वाणिज्य बैंकमा अपग्रेड हुने र यसका लागि आवश्यक सबै कामको अख्तियारी सञ्चालक समितिलाई दियो।

सो साधारणसभा अघिसम्म बैंकको साधारण शेयरतर्फको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार ४९ रुपैयाँ ८ पैसा थियो । उक्त साधारणसभाले १३.५३ प्रतिशत बोनस शेयर पारित ग¥यो । सो बोनसपछि बैंकको साधारणतर्फको चुक्ता पुँजी ८ अर्ब नाघ्ने थियो ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको लागि तोकेको न्युनतम चुक्ता पुँजी नै ८ अर्ब हो । बैंकले आर्थिक वर्ष २०८१÷०८२ को बोनस शेयर वितरण गरेपछि चुक्ता पुँजी ८ अर्ब कट्यो । र, बैंकले १ अर्बको अविमोच्य असञ्चिति अग्राधिकार सेयर पनि जारी गरेकोले बैंकको जारी तथा चुक्ता पुँजी ९ अर्ब नाघ्यो ।

साधारणसभापछि बैंकले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गरेर २०८२ मङ्सिरमा वाणिज्य बैंक बन्नको लागि राष्ट्र बैंकमा निवेदन दर्ता गराएको थियो । राष्ट्र बैंकले मर्जरमा जान प्रोत्साहन र दबाब समेत दिएर वाणिज्य बैंकको संख्या ३२ वटाबाट घटाएर २० वटामा झारेको थियो । अन्तिम मर्जर भएको ३ वर्ष पनि नपुगेको अवस्थामा वाणिज्य बैंकको संख्या थप हुने प्रस्ताव आएपछि राष्ट्र बैंक पनि अलमलमा प¥यो । लामो समयसम्म राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकको आवेदनलाई अध्ययन प्रक्रिया मै छ भनेर ‘होल्ड’मा राख्यो ।

लामो समयसम्म सैदान्तिक स्वीकृति पनि नपाएपछि बैंकले राष्ट्र बैंकमा यसबारे अनौपचरिक रुपमा बुझ्न थाल्यो । त्यस क्रममा भने राष्ट्र बैंकले आफ्नो आशय प्रष्ट नै राख्यो । अर्थात् राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकलाई खराब अवस्थाबाट गुज्रिरहेका केही वित्तीय संस्थालाई पनि गाभेर सँगै लैजान आग्रह नै ग¥यो ।

बैंक स्रोतका अनुसार खराब वित्तीय अवस्थाबाट गुज्रिरहेका केही वित्तीय संस्था मर्जर÷प्राप्ती गरेमा राष्ट्र बैंकबाट मुक्तिनाथ विकास बैंकलाई वाणिज्य बैंकमा अपग्रेडको लागि सैदान्तिक स्वीकृति दिन सक्ने आशय प्रकट भयो । वित्तीय अवस्था केही कमजोर भएका कम्पनीलाई मुक्तिनाथ विकास बैंकले गाभेमा राष्ट्र बैंकलाई नियमन, अनुगमन र सुपरिवेक्षणमा पनि सहज हुने आशय राष्ट्र बैंकले व्यक्त गरेको बताईन्छ । राष्ट्र बैंकले मर्जर÷प्राप्तीको लागि मुक्तिनाथका अधिकारीहरु समक्ष केही नाम समेत सुझाएको बताइएको छ ।

राष्ट्र बैंकले सुझाएका वित्तीय संस्थाको नामबारे बैंकले अध्ययन ग¥यो । त्यसपछि आफैँले पनि रणनीतिक अध्ययन गरेर मुक्तिनाथले हाल दुई वटा वित्तीय संस्थालाई गाभ्ने निर्णय गरेको छ । मुक्तिनाथ विकास बैंकको भदौ १९ गते बिहान ११ बजे बसेको सञ्चालक समितिको बैठकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई गाभ्ने निर्णय गरेर सोहि दिन प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरिसकेको छ ।

विशेषत गण्डकी प्रदेश र काठमाडौँमा बलियो उपस्थिति रहेको मुक्तिनाथ विकास बैंकले भविष्यको लागि भौगोलिक बजारको अवस्था समेत हेरेर रणनीतिक रुपमा प्राप्तीको लागि वित्तीय संस्था छनौट गरेको छ । बागमती प्रदेशभित्र आफूलाई विस्तार गर्ने उदेश्यले मुक्तिनाथले सिन्धुपाल्चोक र दोलखामा राम्रो उपस्थिति रहेको सिन्धु विकास बैंकलाई चयन गरेको देखिन्छ । सिन्धु विकास बैंकका कुल शाखामध्ये आधाजसो शाखा सिन्धुपाल्चोक र दोलखामा छन् । त्यस्तै मुक्तिनाथले मधेश केन्द्रित रहेर काम गरिरहेको जानकी फाइनान्सलाई पनि गाभ्दै छ । यसबाट पनि भौगोलिक उपस्थिति मजबुत बनाउने बैंकको योजना प्रष्ट हुन्छ ।

तर मुक्तिनाथले गाभ्न लागेका यी दुवै संस्थाको वित्तीय अवस्था भने खराब छ । सिन्धु विकास बैंक नाफामै रहेपनि वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ । खराब कर्जा ५.९२ प्रतिशत रहेको छ । राष्ट्र बैंकले यसलाई शीघ्र सुधारात्मक कारबाही पनि गरेको छ ।

उता नाफा मै रहेपनि जानकी फाइनान्सको खराब कर्जा चिन्ताको विषय छ । जानकी फाइनान्सको खराब कर्जा ६१.५५ प्रतिशत छ । यसले प्राप्तीपछि मुक्तिनाथलाई समस्या पार्न सक्ने आँकलन गरिएको छ ।

यद्यपी, बैंकले यी दुई संस्थालाई ‘सस्तै’मा प्राप्ती गर्ने कोशिस गर्नेछ । केही बजार विश्लेषकका अनुसार बैंकले सिन्धु विकास बैंकलाई ५५ देखि ६५ आसपासको स्वाप र जानकीलाई ३५ देखि ४५ सम्मको स्वाप प्रदान गर्न सक्छ । अन्तिम स्वाप रेसियो भने डीडीए अनुसार नै तय गर्ने गरि मर्जर कमिटिले टुङ्गो लगाउने सम्झौतामा उल्लेख गरिएको छ ।

बैंकका अध्यक्ष खिम प्रकाश मल्ल बैंकलाई अझै सबल र सक्षम बनाउनको लागि वाणिज्य बैंकमा अपग्रेड हुन खोजेको बताउँछन् । बैंकले यस अघि नै सबै मापदण्ड पूरा गरेर नै आवेदन दिएकोले अब यी दुई संस्थालाई प्राप्ती गरेपछि राष्ट्र बैंकले वाणिज्य बैंकको रुपमा मान्यता प्रदान गर्ने उनको विश्वास छ । यसअघि साविकका सानिमा विकास बैंक र प्रभु विकास बैंक पनि स्तरोन्नति भएर नै वाणिज्य बैंक बनेकोले मुक्तिनाथ पनि वाणिज्य बैंक बन्ने उनी बताउँछन् ।

अर्का सञ्चालक भरत लम्सालले पनि नेपालको कान्छो वाणिज्य बैंक बन्नको लागि मुक्तिनाथले अन्तिम कदम बढाएको बताएका छन् । स्याङ्जा पुतलीबजार–१ मा प्रधान कार्यालय राखेर ३ जिल्ला कार्यक्षेत्र र १ करोड ३० लाख पुँजीसहित २० वर्ष अगाडि खुलेको मुक्तिनाथ विकास बैंकले अब दुई संस्थालाई प्राप्तीसहित आफूलाई स्तरोन्नति गर्दै नेपाल कै कान्छो वाणिज्य बैंक बन्ने लक्ष्यतर्फ आफ्नो अन्तिम कदम अघि बढाएको उनको भनाइ छ ।

बैंकका सहायक डेपुटी सीइओ तिल बहादुर गुरुङका अनुसार वित्तीय क्षेत्रको सुदृढीकरण, संस्थागत क्षमता अभिवृद्धि, व्यवसायको विस्तार तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्रस्तावित प्राप्ती प्रक्रिया अघि बढाइएको हो।

हाल प्राप्तीको लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । अब राष्ट्र बैंकबाट सैदान्तिक स्वीकृति आएपछि प्राप्तीको अन्य काम अघि बढ्ने छन् ।

वाणिज्य बैंकमा अपग्रेड भएमा बैंकले पूर्ण विदेशी विनिमय कारोबार गर्ने, आयात निर्यातका लागि लेटर अफ क्रेडिट (एलसी) को सुविधा दिने, सरकारी राजस्व संकलन गर्ने लगायतका कार्य गर्न पाउने छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बढ्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

वर्ल्डलिंकद्वारा बाढी प्रभावितको लागि १ करोड १ लाख रुपियाँ सहयोग

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले भोटेकोशी बाढी प्रभावितको...

नेपाल टेलिकमका कर्मचारीको तर्फबाट २ करोड २ लाख सहयोग

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका...

पूँजीबजार विकास र सुधारका उपाय पेश गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक अझै बेपत्ता, सबैभन्दा धेरै भारतका

रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी...