आईएमई लिमिटेडले गत वर्ष २१८ प्रतिशत लाभांश प्रदान गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट २१८ प्रतिशत लाभांश प्रदान गरेको हो।
यस कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ७८ करोड ६० लाख कुल आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा सामान्य कमि हो । आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ८१ करोड २० लाख कुल आम्दानी गरेको थियो।
आईएमई लिमिटेड देश कै अग्रणी रेमिट्यान्स कम्पनी हो । यो कम्पनी आईएमई ग्रुपद्वारा प्रबर्दन गरिएको हो । सन् २००१ मा यो कम्पनी प्राइभेट कम्पनीको रुपमा स्थापना भएकोमा सन् २०१४ मा पब्लिक कम्पनी बनेको थियो । कम्पनीका अध्यक्ष हेमराज ढकाल हुन् । कम्पनीमा हेम राज ढकाल र चन्द्र प्रसाद ढकालको समान ३३.३ प्रतिशत स्वामित्व रहेको छ। कम्पनीले जीएमई रेमिटलाई प्राप्ति गरेर गत अगस्टदेखि आईएमई लिमिटेडदेखि एकिकृत कारोबार गरिरहेको छ। आइएमई लिमिटेड देशकै सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी हो । जीएमई जापान र कोरियाबाट सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउने कम्पनी रहेको थियो।
कम्पनीले आईपीओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ। कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्काशन गर्ने छ।













