प्रधानमन्त्री केपी शर्मा ओली र विश्वका डलर खर्बपति बन्दै गरेका एलन मस्कबीच शुक्रबार भर्चुअल कुराकानी भएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत मस्कसँग कुराकानी गर्दै गरेको तस्बिर सार्वजनिक गरेका छन् ।
एलन मस्कले नेपालमा आफ्नो कम्पनी स्टार लिंकमार्फत सूचना प्रविधिको व्यापार गर्न खोजिरहेका छन् । स्टारलिंकका प्रतिनिधिले गत कात्तिक १० गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर यसको डेमो देखाएका थिए ।
स्टारलिंकले नेपालमा आफ्नो फ्रिक्वेन्सी आउँदा २० प्रतिशत स्थानीय लगानीको शर्त हटाएर सहजीकरण गरिदिन माग गरेको छ । नेपाल दूरसञ्चार ऐनमा भने विदेशी कम्पनी आउँदा २० प्रतिशतको स्थानीय साझेदार हुनैपर्ने व्यवस्था छ । मस्कको कम्पनीले उक्त व्यवस्था परिवर्तन गर्न लविइङ गरिरहेको बुझिएको छ ।
शुक्रबार प्रधानमन्त्री ओली र एलन मस्कबीच यो लगायत अमेरिकी लगानी र त्यसको प्रतिफल फिर्ता लैजाने सन्दर्भमा पनि कुराकानी भएको बुझिएको छ । साथै, अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएसँगै मस्कले महत्वपूर्ण जिम्मेवारी पाएका छन् । उक्त जिम्मेवारी प्राप्त गरेकोमा ओलीले मस्कलाई बधाई दिँदै ट्रम्प प्रशासनसँग सहकार्य गर्न नेपाल सरकार तयार रहेको पनि जानकारी गराएको बताइएको छ ।













