नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा ‘फीन इलेक्ट्रो टेक–२०२४’ कार्तिक २९ गतेबाट सुरु भएको छ । ११ औं संस्करणको ट्रान्सवेल्ड ट्रान्सफर्मरद्वारा प्रायोजित उक्त मेला भृकुटीमण्डपमा सञ्चालन भएको हो ।
मेलामा स्वागत मन्तव्य राख्दै नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीहरूको अन्तर्राष्ट्रियस्तरको बृहत् यो मेलामा सम्पूर्ण विद्युतका सामग्रीहरू उपलब्ध हुने बताए । महासंघले मेला अवधिभर उपभोक्ता हकहित सम्बन्धी जन चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने बताएको छ ।
‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ भन्ने नाराका साथ आयोजना भइरहेको यस मेलाका उद्घाटन उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले गरेका हुन् ।
मेला उद्घाटनको क्रममा मन्त्री सिंहले सरकार उत्पादनका लागि आवश्यक ऊर्जा व्यवस्था मिलाउनमा लागि रहेको र यो अवस्थामा महासंघले यस्तो मेला आयोजना गर्दा सरकारको लक्ष्य पूरा गर्नमा पनि मद्दत गर्ने बताए । मन्त्री सिंहले निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने सरकारको प्राथमिकताको विषय रहेको बताउँदै भृकुटीमण्डपमा रहेको प्रदर्शनी हल जीर्ण भएकाले अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी हल बनाउने आफू लाग्ने पनि सिंहले बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्ने वातावरण छैन भन्ने भाष्य चिर्नुपर्ने बताउँदै सत्तामा भए पनि नभए पनि अर्थतन्त्रका एजेन्डामा सबै पार्टी एक हुनुपर्ने बताए । निजी क्षेत्र देशको इन्जिन भएकाले जसबाट प्राप्त सुझाव पनि समेटेर सरकार अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।
यसैगरी नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवालले नेपालबाट विद्युत् बिक्रीसँगै आन्तरिक विद्युत खपत बढाउन आवश्यक रहेको बताए । ‘सरकारले विद्युत उत्पादनको लक्ष्य पूरा गर्नुका साथसाथै विद्युतको आन्तरिक खपत बढाउन पनि आवश्यक छ, यसको मूल्य घटाउँदै पनि जानु पर्छ, निजी क्षेत्र मार्कमा परेको विषयलाई बुझेर सरकारले यसको समाधान गर्दै जानुपर्यो,’ उनले भने ।
महासंघका अनुसार फीन इलेक्ट्रो टेकमा हल भित्र र बाहिर गरी ८२ वटा स्टलहरू छन् । जसमा नेपाली उत्पादन लगायत बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरू, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ ।
प्रत्येक दुई वर्षमा आयोजना हुने इलेक्ट्रो टेकमा यस पटकको टाइटल स्पोन्सरमा ट्रान्सवेल्ड ट्रान्सफर्मर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) र प्लेटिनम स्पोन्सरमा प्रिमियर वायर्स (प्रिमियर वायर्स प्रा.लि.) रहेको छ ।
प्रदर्शनीमा भारत, चीन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सम्बन्धी उत्पादनहरु पनि राखिएका छन् । यस्तै, मेलामा ट्रान्सवेल्ड, प्रिमियर, अर्किड, जानकी, सि एण्ड एस, लिशा, दिन्ज, स्विफट गोल्ड, केइआई, जनता, एच.पि.एल., फिलिप्स, हेभल्स, सिमेन्स, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार, अल्मीक, लिब्राईट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यान लगायतका स्वदेशी तथा विदेशी ब्रान्डहरूको सहभागिता रहेको छ ।
मंसिर २ गतेसम्म चल्ने प्रदर्शनीमा करिव ५० हजार बढीले अवलोकन गर्ने अपेक्षा महासंघले लिएको छ । मेलाको पहिलो दिन आज ७ हजार जनाले अवलोकलन गरेका छन् ।












