तपाईले ‘निम्बु फ्रेस’ जुस पिउनु भएको छ ? पक्कै पनि पिउनु भएको होला । किनकी, यो अहिले नेपाली बजारमा चर्चित हल्का पेय पदार्थ अन्तर्गत पर्छ । केही समय अगाडी चीसो पिउने क्रममा हेर्दै पिउँपिउँ लागेपछि हामीले पनि ‘निम्बु फ्रेस’ पिएका थियौँ । यसको स्वादले हामीलाई यस्तो बनाइदियो की, अहिले चीसो भन्नासाथ निम्बु फ्रेसको स्वाद स्मरण भइहाल्छ । यसपछि यस्तो लाग्यो, यसको उत्पादक को होला ? कहाँ बनेको होला ? अरु के के उत्पादन होलान् ? आदि आदि ।
यहीँ बीचमा वितरक व्यवसायी दुर्गाराज श्रेष्ठसँग हाम्रो भेट भयो । हामीले निम्बु फ्रेसको विषयमा कुराकानी गर्यौँ । उनीमार्फत थाहा भयो कि, यसको उत्पादक कम्पनी मनकामना फ्रूट एण्ड बेभरेज प्रा.लि. रहेछ । उनीमार्फत नै हामी कम्पनीका प्रतिनिधिसम्म पुग्यौँ ।
कुरा गर्दै जाँदा थाहा भयो, मनकामना फ्रूट एण्ड बेभरेज प्रा.लि. सञ्चालनमा आएको ७ वर्ष भइसकेको रहेछ । यसको फ्याक्ट्री झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ मा रहेछ । कम्पनीका रिजनल सेल्स म्यानेजर दुर्गा भूजेलका अनुसार फ्याक्ट्री १ बिगाहा क्षेत्रफलमा फैलिएको छ । आजसम्म यस उद्योगमा ५० करोड हारहारी लगानी पुगिसकेको छ । जसमा १२० जनाले दैनिक प्रत्यक्ष रोजगारी पाएका छन् ।
कम्पनीका सञ्चालक नवराज भारतीका अनुसार जतासुकै विदेशी ब्राण्डका पेय पदार्थ देखेपछि उनलाई पनि नेपाली कच्चापदार्थ प्रयोग गरेर आफ्नै ब्राण्डका पेय पदार्थ उत्पादन गर्न किन सकिँदैन भन्ने प्रश्नले बारम्बार घोचिरह्यो । चीसो पेय पदार्थहरुमा एकछत्र विदेशी ब्राण्डहरुको दबदबा देख्दा विदेशी मुद्रा बाहिरिएको र नेपाली कच्चा पदार्थ मानिसका घर आँगनमै खेर गएको देख्दा उनको मन कुडियो ।
यस्तै कुराहरु मनमा खेलाउँदै निकै घोत्लिएपछि भारतीले नेपालमा नेपाली कच्चापदार्थको प्रयोग गरेर जुस उत्पादन सुरु गर्ने निधो गरे । उनले ठूलो काम आँटेका थिए, हिम्मत गरेर हात हाल्ने प्रयत्न गरेका थिए । जसोतसो आधारभूत कामको लागि लगानी पनि जुटाए । लगानी थप्दै जाने नीतिअनुसार भारतीले अन्तत: मनकामना फ्रूट एण्ड बेभरेज प्रा.लि.को सञ्चालन आरम्भ गरे ।
आज ७ वर्षको अवधिमा मनकामना फ्रूट एण्ड बेभरेजले दर्जन हाराहारीका ब्राण्डमा हल्का पेय पदार्थ बजारमा पठाइरहेको छ । जसका उत्पादनले ग्राहक तानिरहेको मात्रै छैन, स्वदेशी कच्चा पदार्थको उपयोग पनि बढाएको, नेपाली स्वाद अब छिट्टै अन्तराष्ट्रिय स्तरमा पुग्दै पनि छ । कागती, निम्बु, पुदिना जस्ता हाम्रा रैथाने उत्पादनको अहिले पूर्वतिर खेती नै हुन थालेको छ । अझ अर्को महत्वपूर्ण कुरा के छ भने, नेपालमा पनि विश्वस्तरीय जुस (पेय पदार्थ) बनाउन सकिन्छ भन्ने सन्देश प्रवाह भएको छ । जुन, मुलुककै लागी गौरवको कुरा हो ।
के के हुन्छ उत्पादन ?
मनकामना फ्रूट एण्ड बेभरेज प्रा.लि.ले हाल करिब एक दर्जन हाराहारीका ब्राण्डमा पेय पदार्थ बजार पठाइरहेको छ । कम्पनीले ड्यू फ्लेवरमा माच्छो ड्यू, कोला फ्लेवरमा क्लास–कोला, फ्यान्टा फ्लेवरमा फ्रेष्टा, स्प्राइट फ्लेवरमा स्ट्राइक उत्पादन गर्दै आएको छ । यीसहित निम्बु फ्रेस, सिकान्जी मसला, क्लास सोडा जस्ता पेय पदार्थले पनि बजारमा भव्य उपस्थिति जनाइरहेका छन् । आरुको जुस ‘पीच मस्ती’ र लिचीको जुसले पनि उत्कृष्ट स्वाद र उच्च गुणस्तरको प्रतिक्रिया पाइरहेका छन् ।

यीमध्ये माच्छो ड्यू, क्लास–कोला, फ्रेष्टा र स्ट्राइक विभिन्न ५ साइजका बोतलमा उपलब्ध छन् । यी उत्पादनहरु २५० एमएल, ६०० एमएल, १ लिटर, १.५ लिटर र २.५ लिटरका बोतलमा उपलब्ध रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मौसम गौतम बताउँछन् ।
कम्पनीका रिजनल सेल्स म्यानेजर दुर्गा भूजेलका अनुसार पीच मस्ती, सिकान्जी मसला र लिचीको जुस २५० एमएलमा उपलब्ध छ भने क्लास सोडा २५० एमएल र ५०० एमएलको बोतलमा उपलब्ध हुन्छ ।
कम्पनीले हालै मात्रै कागती र पुदिनाको स्वाद मिश्रित ‘मिन्ट लेमन्ड’ बजारमा ल्याएको छ । यो उत्पादन २५० एमएलको बोतलमा बजारमा पठाइएको छ ।

कम्पनीले केही समयमै ‘जीली जुस’ बजारमा ल्याउने तयारी गरिरहेको छ ।
विदेशी ब्राण्डसँग प्रतिस्पर्धा, स्वदेशी उत्पादनप्रति आकर्षण बढ्दो
अहिले विदेशी कम्पनीहरुका उत्पादनमा भन्दा मानिसहरु स्वदेशी उत्पादनमा बढी अकर्षित हुन थालेको कम्पनीको विश्वास छ । यसका पछाडी २ वटा कुरा प्रमुख रहेको विश्लेषण पनि गर्न थालिएको छ । पहिलो, विदेशी उत्पादन बराबरकै गुणस्तर र दोस्रो, स्वदेशी उत्पादनको माया ।
‘विदेशी बहुराष्ट्रिय कम्पनीका उत्पादन जुन गुणस्तरमा बनेका छन्, हाम्रा स्वदेशी उत्पादन पनि त्यहीँ गुणस्तरमा बनेको हुनाले मान्छेहरुलाई गुणस्तरमा विश्वास छ’ भूजेल भन्छन्, ‘अर्को कुरा, हामी सधैँभरी बाहिरबाट आएका वस्तु मात्रै खाएर हुँदैन, हाम्रै देशको उत्पादन उपभोग र उपयोग (खाने, लगाउने) गर्नुपर्छ भन्ने कुरा पनि अहिले बढिरहेको छ । यसले हामीलाई हौसला प्रदान गरेको छ ।’
कम्पनीका सञ्चालक नवराज भारती पनि विदेशी उत्पादनभन्दा कमजोर नभएकै कारण मनकामना फ्रूट एण्ड बेभरेज प्रा.लि.का उत्पादनले उपभोक्ताको मन जितिरहेको बताउँछन् । अहिले बजारमा बढिरहेको माग देखेर उनी खुशी छन् । नेपाली स्वादमा नेपाली उत्पादन बढाउँदै विदेशी उत्पादनलाई प्रतिस्थापन गर्ने लक्ष्यका साथ आफूहरुले काम गरिरहेको उनको भनाइ छ ।

देशैभर २०० डिलर
मनकामना फ्रूट एण्ड बेभरेज प्रा.लि.ले आफ्ना उत्पादन बजारमा पठाउन देशैभरी डिलर्सको सञ्जाल बनाएको छ । सीईओ गौतमका अनुसार हालसम्म देशभरीमा २ सयको संख्यामा कम्पनीका डिलर्सहरु छन् ।
३ वटा ‘सोल्ड डिष्ट्रीब्यूटर्स’ पनि बनाइएको छ । ‘सोल्ड डिष्ट्रीब्यूटर्स’ र डिलर्सले मनकामना फ्रूट एण्ड बेभरेजका दर्जन उत्पादनलाई मेची देखि महाकालीसम्म पुर्याइरहेका छन् । यो संख्या अझ बढ्दो क्रममा छ भने विदेशमा समेत निकासी गर्ने कम्पनीको लक्ष्य छ ।













