भारतको केन्द्रीय विद्युत् प्राधिकरण (CEA) ले नयाँ ग्राउन्ड-माउन्टेड सोलार र अनशोर वायु ऊर्जा परियोजनाहरूमा ऊर्जा भण्डारण प्रणाली अनिवार्य गर्ने मस्यौदा नियम जारी गरेको छ। ति परियोजनाको लागि ब्याट्री स्टोरेज प्रणाली अनिवार्य गर्ने गरि भारतले मस्यौदा सार्वजनिक गरेको हो।
प्रस्तावित नियम अनुसार नयाँ सौर्य वा वायु ऊर्जा प्लान्ट बनाउँदा उत्पादित क्षमताको कम्तीमा १० प्रतिशत बराबरको भण्डारण क्षमता राख्नुपर्नेछ। यो भण्डारण co-located अर्थात् प्लान्टसँगै जोडिएको हुनुपर्छ। उदाहरणको लागि १०० मेगावाटको सौर्य प्लान्टमा कम्तीमा १० मेगावाट क्षमताको ब्याट्री भण्डारण चाहिन्छ जसले २ घण्टासम्म बिजुली भण्डारण गर्न सक्छ (अर्थात् २० मेगावाट-घण्टा)।
अहिले नयाँ सौर्य वा हावा ऊर्जा परियोजनामा अनिवार्य रूपमा यस्तो भण्डारण राख्नुपर्ने नियम छैन। केही ठूला टेन्डर वा स्वैच्छिक रूपमा भण्डारण जोडिने गरेको छ। तर ग्रिड स्थिरताका लागि Energy Storage Obligation (ESO) जस्ता अन्य व्यवस्थाहरू छन् जसमा वितरण कम्पनीहरूले क्रमशः बढ्दो अनुपातमा भण्डारण क्षमता सुनिश्चित गर्नुपर्छ।
प्रस्तावित प्रावधान अनुसार १ जुलाई २०२७ पछि सञ्चालनमा आउने ग्राउन्ड-माउन्टेड सौर्य र अनशोर हावा परियोजनाहरूमा स्थापित क्षमताको कम्तीमा १० प्रतिशत भण्डारण व्यवस्था गर्नुपर्छ। त्यस्तै १ जुलाई २०२९ देखि ३० जुन २०३१ सम्म सञ्चालनमा आउने परियोजनाहरूलाई पनि ब्याट्री क्षमता १० प्रतिशत नै रहन्छ तर अवधि बढेर न्यूनतम ४ घण्टा हुन्छ (१०० मेगावाटको प्लान्टमा १० मेगावाट/४० मेगावाट-घण्टा)। १ जुलाई २०२७ पछिका नवीकरणीय ऊर्जा प्लान्टमा कम्तीमा १५ प्रतिशत इन्भर्टरहरू “ग्रिड-फर्मिङ” क्षमतायुक्त हुनुपर्नेछ। ब्याट्री भण्डारणका पावर कन्भर्जन सिस्टमहरू पनि ग्रिड-फर्मिङ हुनुपर्नेछ।
यो मस्यौदा CEA (Technical Standards for Construction of Electric Plants and Electric Lines) को दोस्रो संशोधनअन्तर्गत आएको हो।
यो मुख्यत ग्राउन्ड-माउन्टेड सौर्य र अनशोर वायु परियोजनाहरूका लागि हो। रूफटप सौर्य वा अन्य प्रकारका लागि फरक व्यवस्था हुन सक्छ। यसले विकासकर्ताहरूको पूँजीगत खर्च बढ्नेछ तर बिजुलीको विश्वसनीय आपूर्ति र राजस्व स्थिरता बढ्ने अपेक्षा गरिएको छ। भारतले ब्याट्री ऊर्जा भण्डारण प्रणाली (BESS) को ठूलो विस्तार गरिरहेको छ र २०३१-३२ सम्म सयौं गिगावाट-घण्टा क्षमताको लक्ष्य राखेको छ।
यसले नेपालजस्ता देशहरूका लागि पनि सिकाइ हुन सक्छ किनकि नवीकरणीय ऊर्जा बढ्दै जाँदा भण्डारणको महत्त्व विश्वव्यापी रूपमा बढिरहेको छ।
फाइदा के छन्?
सौर्य र हावा ऊर्जा “अस्थिर” (intermittent) हुन्छन् – घाम लाग्दा वा हावा चल्दा बढी उत्पादन हुन्छ तर माग नहुन सक्छ। भण्डारणले अतिरिक्त बिजुली जम्मा गरेर माग बढ्दा वा उत्पादन घट्दा प्रयोग गर्न सकिन्छ।
कर्टेलमेन्ट (उत्पादन भएर पनि ग्रिडले नलिने अवस्था) कम हुन्छ। भारतमा अप्रिल–जुन २०२६ मा मात्रै ८,१३३ गिगावाट-घण्टा सौर्य ऊर्जा कर्टेल भएको थियो।
ग्रिड स्थिरता बढ्छ – भोल्टेज र फ्रिक्वेन्सी नियन्त्रणमा सहयोग पुग्छ।
नवीकरणीय ऊर्जाको ठूलो हिस्सा सजिलै ग्रिडमा एकीकृत गर्न सकिन्छ। भारतले २०३० सम्म ५०० गिगावाट नन-फसिल क्षमताको लक्ष्य राखेको छ।
रातको समय वा मागको शिखरमा पनि हरित ऊर्जा उपलब्ध गराउन मद्दत पुग्छ।









