विश्वप्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर सहयोग प्रदान गरेका छन्। यो नेपाली मुद्रामा १ अर्ब ५० करोड ७७ लाख बराबर हो
रसुवा जिल्लाको भोटेकोशी नदी बेसिन क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारको उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि यो रकम उपलब्ध गराइएको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिहीबार भिडियो सन्देशमार्फत यस सहयोगको आधिकारिक जानकारी दिँदै नेपाल सरकार र सम्पूर्ण नेपालीका तर्फबाट हार्दिक आभार व्यक्त गरेका छन्।
अर्थमन्त्री वाग्लेले भने, “नेपाल सरकारको तर्फबाट म श्री जेन्सेन हुआङलाई प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड डलर सहयोग गर्नुभएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यो ठूलो योगदानले अरूलाई पनि यस पुण्य कार्यमा सहभागी हुन प्रेरणा मिल्ने आशा गरेको छु।”
यस सहयोगसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा संकलित कुल रकम १० अर्ब रुपैयाँभन्दा माथि पुगेको अर्थमन्त्रीले बताएका छन्। यो सहयोग बाढीपहिरो राहतका लागि कुनै व्यक्ति वा बहुराष्ट्रिय कम्पनीबाट प्राप्त भएको सबैभन्दा ठूला योगदानमध्ये एक मानिएको छ।









