नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत नियुक्तिको लागि दरखास्त आह्वान गरिएको छ । सीइओ नियुक्तिको लागि गठित सिफारिस समितिले आज साउन १२ गते सर्वजनिक सूचना जारी गर्दै १५ दिन भित्र अर्थात् साउन २६ गतेसम्म आवेदन दिन भनेको छ।
इच्छुक तथा योग्य नेपाली नागरिकले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंमा आवेदन दिनु पर्ने छ । आवेदनसाथ गोप्य खामवन्दी व्यावसायिक कार्ययोजना समेत पेस गर्नु पर्ने छ।
अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको उपाधि हासिल गरी पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा सात वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभव सहित कम्तीमा पन्ध्र वर्षको कार्य अनुभव भएको नेपाली नागरिकले आवेदन दिन सक्ने छन्।
यस पटक अर्थमन्त्रालयले नेप्सेको सीईओको लागि आवश्यक पर्ने योग्यता केही घटाएको छ । यसपटक व्यवस्थापकीय तह भन्नाले नेपाल सरकारको अधिकृत स्तरको कम्तीमा द्वितीय श्रेणी वा सो सरह वा कम्पनी वा सङ्गठित संस्थाको हकमा कार्यकारी प्रमुख वा सो को दुई तह मातहत सम्मको व्यवस्थापकीय नेतृत्वमा रहेको व्यक्ति सम्झनु पर्ने व्यवस्था छ। यस अघि भने उच्च व्यवस्थापकीय तह भन्नाले नेपाल सरकारको अधिकृतस्तरको कम्तीमा प्रथम श्रेणी वा सो सरह वा कम्पनी वा संगठित संस्थाको हकमा कार्यकारी प्रमुख वा सो को दुई तह मातहत सम्मको व्यवस्थापकीय नेतृत्वमा रहेको व्यक्ति सम्झनुपर्ने व्यवस्था थियो। अर्थात् यस अघि अधिकृतस्तरको कम्तीमा प्रथम श्रेणी हुनु पर्ने व्यवस्था रहेकोमा अहिले भने श्रेणी घटाएर कम्तिमा द्वितीय श्रेणी कायम गरिएको छ । अर्थात् योग्यता केही घटाईएको छ ।
त्यस्तै आवेदन दिनको लागि नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ को दफा (२.२) र दफा (२.३) बमोजिम अयोग्य नभएको हुनु पर्ने छ। अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) को दफा ३ को खण्ड (ग) बमोजिम तीस वर्ष उमेर पूरा भई पैँसट्ठी वर्ष उमेर ननाघेको हुनु पर्ने छ । साथै अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३ (संशोधन सहित) को दफा ४ ले तोके बमोजिम अयोग्यता नरहेको हुनु पर्ने छ ।
आवेदन साथ अर्थ मन्त्रालयको वेबसाइट www.mof.gov.np र नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको वेबसाइट www.nepalstock.com मा प्रकाशित “नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३” को दफा ३ बमोजिमका कागजात तथा विवरणहरू र ऐ. कार्यविधिको अनुसूची १ बमोजिमको स्वघोषणा फाराम आवेदक स्वयंले प्रमाणित गरी र २ (दुई) प्रति पासपोर्ट साइजको फोटो समेत संलग्न राखी पेश गर्नुपर्नेछ।
आवेदन साथ नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०७३ को दफा ४ बमोजिमको व्यावसायिक कार्ययोजना ३ (तीन) प्रति खामबन्दी गरी पेश गर्नुपर्नेछ । खामबन्दी प्रस्तावको खाम बाहिर आवेदकको नाम र “नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन तथा व्यावसायिक कार्ययोजना” उल्लेख गरी दस्तखत गरेको हुनुपर्नेछ । आवेदन दिनको लागि ५ हजार रुपैयाँ दस्तुर तोकिएको छ ।
यस अघि नेप्सेको सीइओ रहेका चुडामणि चापागाईले राजीनामा दिएपछि हाल नेप्सेमा सीइओ पद रिक्त छ ।









