राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रभागमा रहेर जिम्मेवारी सम्हालिरहेकी लिमा अधिकारी पार्टीको जारी महाधिवेशनमा उपसभापतिको उम्मेदवार बन्ने भएकी छिन् । अर्थतन्त्र, रोजगारी, महिला शशक्तिकरण र मुलुकको आर्थिक उन्नतिबारे गहिरो अध्ययन भएकी अधिकारी यसअघि रास्वपाको कोषाध्यक्ष थिइन् । रास्वपाको जारी पहिलो महाधिवेशनबाट उनी उपसभापति बन्ने तयारीमा लागेकी हुन् ।
पार्टीको आकार क्रमशः बढ्दै जाँदा त्यसलाई आर्थिक रुपमा पनि सबल र व्यवस्थित बनाउँदै लैजानुपर्ने मूल समयमा उनले रास्वपाको कोषाध्यक्ष पद सम्हालेकी हुन् । यसमा उनी सफल समेत भएको रास्वपाका नेता कार्यकर्ताको मूल्यांकन पनि छ ।
नेपाल महिला चेम्बरकी नेतृत्वदायी भूमीकामा बसेर व्यावसायिक पहिचान बनाएकी लिमा अधिकारीले उद्यमशीलता, व्यसायिकता, स्वरोजगार र महिला सशक्तीकरणलाई प्रमुख प्राथमिकतामा राख्दै आएकी छिन् । लामो समयदेखि व्यवसायिक अनुभव मात्रै नभई व्यवसायिक संस्थाको नेतृत्वको समेत अनुभव बटुलेकी उनले पछिल्लो समय राजनीतिक रुपमा रास्वपाकै सफल कोषाध्यक्षको पहिचान समेत बनाएकी छिन् ।
संसदभित्र पनि आम सर्वसाधारणका मुद्दा र व्यावसायिक विषयहरु रचनात्मक ढङ्गले उठान गर्ने र प्रस्तुत गर्ने अधिकारीको शैली छ । राज्यलाई नागरिकको हितमा केन्द्रित गराउन र लोककल्याणकारी अवधारणा कार्यान्वयन गर्न सक्रिय रहेकी उनी रोजगारी सिर्जना, नेपालीहरुको आर्थिक उत्थान र मुलुकमा लगानीमैत्री वातावरणको पैरवी गरिरहेकी नेतृ भएकाले रास्वपाको उपसभापतिमा उनको उम्मेदवारी स्वभाविक भएको उक्त पार्टीका महाधिवेशन प्रतिनिधिहरुको भनाइ छ ।
यति मात्रै होइन, उनले पार्टीलाई सबल बनाउन निकै मेहनत पनि गरेकी छिन् । उनले पार्टीभित्र सुरुवाती दिनदेखि अहिलेसम्म आफूले इमादारपूर्वक काम गर्दै आएको र पार्टीले विश्वास गरेर दिएको कोषाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरेका कारण उपसभापति बनेर थप योगदान दिन चाहेको बताएकी छिन् । अधिकारीले आफूले मन्त्री वा संसदीय समितिको सभापति जस्ता कुनैपनि लाभको पदमा दाबी नगरेको र पार्टीलाई नै थप मजबुत बनाउन पार्टीभित्रै भूमीका लिएर काम गर्न चाहेकाले उपसभापतिमा आफ्नो उम्मेदवारी रहने बताएकी छिन् ।












