तीव्र गर्मीको लहरका कारण भारतको विद्युत् मागले नयाँ कीर्तिमान कायम गरेको छ। भारतको विद्युत् मन्त्रालयका अनुसार मे २१, २०२६ मा दिउँसो करिब ३:४५ बजे देशको पीक पावर डिमान्ड २७०.८२ गिगावाट पुगेको छ। यो अघिल्लो दिनहरूको तुलनामा क्रमिक रूपमा बढेको रेकर्ड हो।
भारतको विद्युत् मन्त्रालयले आधिकारिक रूपमा यो जानकारी सार्वजनिक गरेको हो। मन्त्रालयले नागरिकहरूलाई विद्युत् बुद्धिमत्तापूर्वक र मितव्ययी रूपमा प्रयोग गर्न आह्वान पनि गरेको छ। अप्रिल २५, २०२६ मा विद्युत माग २५६.१ गिगावाट थियो। मे महिनामा यो माग २६ प्रतिशतले बढेको छ।
मे १८ मा विद्युत माग २५७.३७ गिगावाट, मे १९ मा २६०.४५ गिगावाट, मे २० मा २६५.४४ गिगावाट र मे २१ मा २७०.८२ गिगावाट रहेको थियो। यो वृद्धिको मुख्य कारण तीव्र गर्मीको लहर हो। देशका धेरै भागमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। एयर कन्डिसनर, कूलर र फ्यानको अत्यधिक प्रयोगले माग बढाएको छ। जलवायु परिवर्तनका कारण राति पनि गर्मी बढ्नुले समस्या थपिएको छ।
मन्त्रालयका अनुसार माग पूर्ण रूपमा पूरा भएको छ। थर्मल (कोइला) ले करिब ६३ प्रतिशत, सोलार ले २२ प्रतिशत र विन्ड र हाइड्रोले बाँकी आपूर्ति गरिएको बताईएको छ। केही क्षेत्रमा साँझको समयमा स्थानीय रूपमा पावर कट भएको रिपोर्ट छ, तर ठूलो संकट भने देखिएको छैन। सरकारले २८० गिगावाट सम्मको माग पूरा गर्न तयारी गरेको जनाएको छ।
भारतले यो गर्मीमा पीक डिमान्ड २७१ गिगावाट सम्म पुग्ने अनुमान गरेको थियो, जुन अघि नै पार भइसकेको छ।
सरकारले कोइला आपूर्ति पर्याप्त रहेको र निगरानी भइरहेको जनाएको छ। विज्ञहरूका अनुसार आगामी दिनमा माग अझ बढ्न सक्छ।












