भारतमा हाल ‘कक्रोच जनता पार्टी’ (Cockroach Janata Party – CJP) ले तहल्का मच्चाएको छ । केही दिनमा नै यसको इन्स्टाग्राम पेजले १ करोड भन्दा बढी फलोअर्स कमाएको छ भने लाखौं सदस्यहरू दर्ता भएका छन् ।
भारतका प्रधानन्यायधीश सूर्य कांतको एक विवादास्पद टिप्पणीबाट यो सुरु भएको हो । मे १५, २०२६ मा सर्वोच्च अदालतको सुनुवाइका क्रममा प्रधानन्यायधीशले नक्कली डिग्री लिएर पेशामा प्रवेश गर्ने केही बेरोजगार युवालाई “कक्रोच र परजीवी” को संज्ञा दिएका थिए । यो टिप्पणीलाई धेरै युवाले सम्पूर्ण बेरोजगार युवामाथिको अपमानको रूपमा लिए ।
भोलिपल्ट, मे १६ मा बोस्टन युनिभर्सिटीमा पढिरहेका ३० वर्षीय अभिजीत दिप्के (Abhijeet Dipke) ले एउटा ट्वीट (X पोस्ट) गरे : “के हुन्छ यदि सबै कक्रोचहरू एकजुट भए भने ?” त्यसपछि उनले गुगल फर्म मार्फत सदस्यता खोल्ने घोषणा गरे । यो तत्काल भाइरल भयो र हजारौं युवाले यसलाई साथ दिए ।
यो कुनै पारम्परिक राजनीतिक दल होइन, बरु Gen Z युवाहरूको व्यंग्यात्मक र व्याख्यात्मक आन्दोलन हो । बेरोजगारी, NEET पेपर लिक, शिक्षा प्रणालीको समस्या, न्यायिक सुधार र युवाहरूको आवाजलाई व्यंग्य मार्फत उठाउने प्रयास हो । यसले “कक्रोच” लाई शक्तिशाली प्रतीक बनाएको छ – जसलाई मार्न गाह्रो हुन्छ, जसले कुनै पनि अवस्थामा बाँच्न सक्छ ।
उनीहरुको नारा : “Secular, Socialist, Democratic, Lazy” (धर्मनिरपेक्ष, समाजवादी, लोकतान्त्रिक, अल्छी) रहेको छ । यो बेरोजगार र “क्रोनिकली अनलाइन” युवाहरूको आवाज हो भनिन्छ ।
उनीहरुको ५ बुँदे एजेन्डा छ । जसमा न्यायाधीशहरूलाई सेवानिवृत्तिपछि कुनै पद वा पुरस्कार नदिने, युवा समस्या (पेपर लिक, बेरोजगारी) सम्बोधन गर्ने, मिडिया पूर्वाग्रहविरुद्ध आवाज उठाउने, महिलाहरूको ३३% आरक्षणको प्रभावकारी कार्यान्वयन गर्ने लगायतका छन्।
यो पार्टी दर्ता हुन्छ ?
यो व्यंग्यात्मक अनलाइन मुभमेन्ट मात्र हो, अहिलेसम्म कुनै आधिकारिक राजनीतिक दल होइन । यसको वेबसाइट र सोसल मिडिया मार्फत मात्र सक्रिय छ । भारतको निर्वाचन आयोगमा दर्ता हुने प्रक्रिया जटिल छ (कागजात, सदस्य संख्या, चुनाव चिन्ह आदि) । अभिजीत दिप्केले यसलाई “आन्दोलन” को रूपमा अगाडि बढाउने बताएका छन्, तर पूर्ण राजनीतिक दल बन्ने बारे स्पष्ट योजना सार्वजनिक भएको छैन । केहीले यसलाई आम आदमी पार्टीसँग जोडेर हेरेका छन् किनकि दिप्के आम आदमी पार्टीका पूर्व सोसल मिडिया भोलन्टियर थिए । महुआ मोइत्रा, किर्ती आजाद जस्ता चर्चित नेताहरूले व्यंग्यात्मक रूपमा सदस्यता लिएको घोषणा गरेका छन् ।
यो आन्दोलनले भारतको युवा बेरोजगारीलाई उजागर गरेको छ । केहीले यसलाई सकारात्मक युवा जागरण मान्छन् भने केहीले यो केवल भाइरल ट्रेन्ड र राजनीतिक प्रोपगान्डा मात्र भएको आरोप लगाउँछन् । अहिले यो Gen Z को निराशा र व्यंग्यको शक्तिशाली उदाहरण बनेको छ ।
के यो आन्दोलन दीर्घकालीन राजनीतिक प्रभाव पार्छ वा केही दिनको भाइरल ट्रेन्ड मात्र रहन्छ ? समयले बताउनेछ । तर अहिले “कक्रोच जिन्दाबाद” ले भारतीय सोसल मिडियालाई ढाकेको छ ।












