बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज आईपीओ बाँडफाँड गरेको हो।
कम्पनीले चैत्र १ गतेदेखि चैत्र १५ गतेसम्म आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीयलाई आईपीओ निष्काशन गरेको थियो। कम्पनीले स्थानीयलाई १० लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको थियो।
बाँडफाँड मोडल अनुसार अति प्रभावित क्षेत्र अन्तर्गत १० देखि २०० कित्ताको लागि आवेदन दिनेले माग गरे अनुसार कै शेयर पाएका छन् । २१० कित्तादेखि ५००० कित्ताको लागि आवेदन दिनेले समान २०० कित्ता पाएका छन् । ति मध्येबाट १४८४ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । यसो हुँदा अति प्रभावितका स्थानीयले अधिकतम २१० कित्तासम्म शेयर पाएका छन् ।
त्यस्तै प्रभावित क्षेत्र अन्तर्गत १० देखि ५० कित्ताको लागि आवेदन दिनेले माग गरे अनुसार कै शेयर पाएका छन् । ६० कित्तादेखि ३००० कित्ताको लागि आवेदन दिनेले समान ५० कित्ता पाएका छन् । ति मध्येबाट ४६ जनाले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् । यसो हुँदा प्रभावितका स्थानीयले अधिकतम ६० कित्तासम्म शेयर पाएका छन् ।
आंशिक प्रभावित तर्फ भने माग गरिएको भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । यस समूहमा कुल २१ हजार ९ सय ४५ जना योग्य आवेदक रहेकोमा गोलाप्रथाबाट २० हजार ८ सय जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी ११४५ जना योग्य आवेदक हात खाली भएका छन् ।
नेपाल धितोपत्र बोर्डले माघ २९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। अब कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ।
कम्पनीले सोलुखुम्बुको सोलु खोलामा १९.८ मेगावाट क्षमताको अप्पर सोलु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० असारदेखि विद्युत उत्पादन गरिरहेको छ । कम्पनीको अध्यक्ष गणेश कार्की हुन् भने अन्य संचालकमा यम कुमार श्रेष्ठ, हिरेन्द्र मान प्रधान, सोनाम छेरिङ शेर्पा, र पेम्बा गेल्बु शेर्पा रहेका छन्। कम्पनीका सीइओ समन मानन्धर हुन् ।













