वैदेशिक रोजगारीमा रहेकाले दुई वटा कम्पनीको आईपीओ भर्ने आज चैत्र ११ गते अन्तिम दिन रहेको छ । वैदेशिक रोजगारीमा रहेकाले सानिगाड हाइड्रो लिमिटेड र याम्बलिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन हो । यी दुवै कम्पनीले चैत्र ८ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेका हुन्।
याम्बलिङ्ग हाइड्रोपावर लिमिटेडले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख १० हजार कित्ता शेयर निष्काशन गरेको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २१ हजार कित्ताको लागि आवेदन दिन सकिने छ।
नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
यस कम्पनीले सिन्धुपाल्चोकमा ७.२७१ मेगावाट क्षमताको याम्बलिङ्ग खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० फागुन ८ देखि विद्युत उत्पादन गरिरहेको छ ।
यस कम्पनीकी अध्यक्ष इन्द्र माया तामाङ हुन्। अन्य संचालकमा उदीधाम बहादुर देवकोटा, नर हांङ राई, समय कर्माचार्य, रोशन शाह, र सशीराज श्रेष्ठ रहेका छन् ।
त्यस्तै सानिगाड हाइड्रो लिमिटेडले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ५ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ।
नेपाल धितोपत्र बोर्डले फागुन २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। शेयर निष्काशनको लागि लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
यस कम्पनीले बझांगमा ३४.४६ मेगावाटको अपर कालंगागाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुन देखि व्यापारिक उत्पादन गरिरहेको छ। कम्पनीका अध्यक्ष उमेश श्रेष्ठ हुन् भने अन्य संचालकमा राजेश कुमार श्रेष्ठ, खगेश्वर बोहोरा, शिव प्रसाद घिमिरे, र तिर्थ राज चटौत रहेका छन् । कम्पनी सचिवको रुपमा प्रमोद आचार्य रहेका छन् ।













