गरिमा क्यापिटलले फागुन २८ गतेदेखि खुलामुखी सामुहिक लगानी कोष योजना (ओपन म्युचुअल फण्ड) को इकाई निष्काशन गर्दै छ। क्यापिटलले गरिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरिमा सुवर्ण योजना नामको ओपन म्युचुअल फण्डको इकाई निष्काशन गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डले माघ २१ गते क्यापिटललाई योजना संचालनको अनुमति दिएको थियो । यस योजनाको आकार १ अर्ब रहेको छ। फण्ड अन्तर्गत प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन हुने छ।
क्यापिटलले पहिलो चरणमा ५ करोड इकाई मात्र निष्काशन गर्ने छ। जस मध्ये बिज पुंजी वापत ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटललाई, र ९० लाख इकाई कोष प्रबर्दक गरिमा विकास बैंकलाई छुट्याईएको छ। बाँकि रहेको ३ करोड ५० लाख इकाई सर्वसाधारणलाई निष्काशन हुने छ।
यस निष्काशनमा आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिने छ।आवेदन दिंदा छिटोमा चैत्र २ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र १२ गतेसम्म आवेदन दिन सकिने छ।
नेपाली नागरिक, गैरआवासीय नेपाली, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ–संस्था, बैंक, वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै संचयकोष, कल्याणकारी कोष, गुठि, अक्षयकोष आदिले इकाई खरिद गर्न आवेदन दिन सक्नेछन्।
यो योजना खुलामुखी योजना भएको हुनाले निरन्तर चलिरहन्छ । पहिलो चरणको निष्काशन तथा बाँडफाँट सम्पन्न भएको मितिले तीन महिना पश्चात् योजना व्यवस्थापकले तोकेको मितिबाट यो योजनाको इकाई निरन्तर निष्काशन तथा बिक्रीको लागि खुला हुनेछ ।
लगानीकर्ताले आफुले खरिद गरेको इकाई आफुले चाहेको बेला योजना व्यवस्थापक मार्फत बिक्री गर्न सक्ने छन् । तर खरिद गरेको ६ महिनाभित्र बिक्री गरेमा १.५ प्रतिशत, खरिद गरेको ६ महिनादेखि १२ महिनाभित्र बिक्री गरेमा १.२५ प्रतिशत, खरिद गरेको १२ महिनादेखि १८ महिनाभित्र बिक्री गरेमा १.०० प्रतिशत र खरिद गरेको १८ महिनादेखि २४ महिनाभित्र बिक्री गरेमा ०.७५ प्रतिशत बहिर्गमन शुल्क लाग्ने छ । २४ महिनापछि बिक्री गर्दा भने शुल्क लाग्ने छैन ।
यस योजना अन्तर्गत लाभांश पुनः लगानी योजना (Dividend Re-Investment Plan), लाभांश भुक्तानी योजना (Dividend Payout Plan), व्यवस्थित लगानी योजना (Systematic Investment Plan – SIP) र व्यवस्थित निकासी योजना (Systematic Withdrawal Plan – SWP) समावेश छन् ।
भविष्यमा नेपाल धितोपत्र बोर्डबाट खुलामुखी योजनाको सम्बन्धमा अन्य कुनै विशेष व्यवस्था गरेको अवस्थामा उक्त सुविधाहरु थप गरिने क्यापिटलले जनाएको छ।
योजनामार्फत संकलन भएको रकम क्यापिटलले धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएको धितोपत्र, धितोपत्र विनिमय बजारमा सूचीकृत धितोपत्र, नेपाल सरकारले जारी गरेको वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बील तथा मुद्रा बजारका अन्य साधनहरु, बैंक निक्षेप, मुद्रा बजार उपकरण र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी गर्न सक्ने छ । यस क्रममा स्थिर आय भएका तथा बजार पूँजिकरण भएका सूचिकृत कम्पनीहरुमा प्राथमिकताका साथ लगानी गर्ने र इकाईधनीहरुको लगानीसँग सम्बन्धित उच्च जोखिमलाई न्यूनीकरण गर्दै निरन्तर समुचित प्रतिफल प्रदान गर्ने क्यापिटलले जनाएको छ ।
क्यापिटलले दिर्घकालीन लगानीका लागि ४५ प्रतिशत, अल्पकालीन लगानीका लागि ३० प्रतिशत र आईपीओमा ३ प्रतिशत गरि इक्विटीतर्फ ७८ प्रतिशत लगानी गर्ने योजना बनाएको छ। १२ प्रतिशत रकम स्थिर आय हुने उपकरणमा र बाँकि १० प्रतिशत रकम नगद तथा बैंक मौज्दात राख्ने क्यापिटलको योजना छ।
यस योजनाले पहिलो वर्ष ८ प्रतिशत, दोस्रो वर्ष १० प्रतिशत, तेस्रो वर्ष १२ प्रतिशत, चौथो वर्ष १४ प्रतिशत, पाँचौ र छैठौ वर्षमा १५ प्रतिशत तथा सातौ वर्षमा १७ [प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको छ ।
यस योजनाको कोष सुपरिवेक्षकहरुमा शंकर प्रसाद कोइराला (संयोजक), बाबुराम रेग्मी, रामजी रेग्मी, जलेश्वर पाण्डे, र अच्यूत राज जोशी रहेका छन् ।













