वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एईपीसी) ले “स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास सम्बन्धी राष्ट्रिय सम्मेलन” आयोजना गर्ने भएको छ । केन्द्रले अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस, २०८२ को अवसरमा जनवरी २७ अर्थात् माघ १३ गते सम्मेलन आयोजना गर्न लागेको हो ।
संयुक्त राष्ट्रसंघले “पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणीजगतको हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रुपान्तरणको लागि सचेतना जगाउने र सोही बमोजिमका क्रियाकलापहरु सञ्चालन गर्ने” उद्देश्यका साथ सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ तारिखलाई “अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस (International Day of Clean Energy)” को रुपमा मनाउँदै आएको छ । यो दिवस विश्वभर विभिन्न कार्यक्रमहरु गरेर मनाउने गरिन्छ । नेपालमा यो दिवस मनाउने कार्य वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले गर्दै आएको छ ।
यसै सन्दर्भमा केन्द्रले ऊर्जा क्षेत्रका विभिन्न साझेदार संस्थाहरुको सहयोगमा माघ १३ मा “स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास सम्बन्धी राष्ट्रिय सम्मेलन” आयोजना गर्न लागेको हो । स्वच्छ ऊर्जा तथा जलवायु परिवर्तन सम्बन्धी लक्ष्यमा योगदान पुर्याउने उद्देश्यले आयोजित यस कार्यक्रम गत वर्ष आयोजना गरिएको “उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको लागि स्वच्छ ऊर्जा रुपान्तरण सम्बन्धी सम्मेलन” को निरन्तरता पनि रहेको केन्द्रले जनाएको छ ।
तथापी यस वर्षको सम्मेलनले न्यून कार्बनीकरण (Decarbonization) को व्यवहारिक पक्षमा जोड दिंदै “बहसलाई व्यवहारमा रुपान्तरण गर्ने (Shift from dialogue to action)” उद्देश्य लिईएको केन्द्रले उल्लेख गरेको छ । केन्द्रका अनुसार सम्मेलनले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता एवं जलवायु परिवर्तनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी/गैरसरकारी निकाय, प्रदेश सरकार तथा स्थानीय तह, अनुसन्धानमुलक/प्राज्ञिक संस्था, विकास साझेदार संस्था, लगानीकर्ताहरु, यस क्षेत्रका अभ्यासकर्ता (Practitioners), निजी क्षेत्र, सञ्चार जगत, नगारिक समाज एवं क्षेत्रगत विज्ञहरु एउटै मञ्चमा उपस्थित भई स्वच्छ ऊर्जाको कार्यान्वयनबाट हरित अर्थतन्त्रको विकासमा तिव्रता दिनको लागि रणनीतिक दृष्टिकोण सम्बन्धी छलफल/अन्तर्क्रिया गर्ने अवसर जुटाउनेछ ।
सम्मेलनका प्रमुख उद्देश्यहरुमा देशको न्यून कार्बनीकरणका प्राथमिकता सम्बन्धमा बहस/छलफल गर्ने, लगानी संयन्त्रको पहिचान गर्ने, कार्बन बजारको माध्यमबाट न्यून कार्बनीकरणका अवसरहरुको पहिचान गर्ने र सरोकारवालाहरुबीचको समन्वय र साझेदारीलाई बलियो बनाउने रहेको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार एकदिने सम्मेलनलाई उद्घाटन समारोह र प्रावधिक सत्र गरी दुइ चरणमा विभाजन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री अनिल कुमार सिन्हाको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रमको उद्घाटन समारोहमा “स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास” सम्बन्धी प्रस्तुतीकरण, “दिगो ऊर्जा च्यालेञ्ज फण्डको उपलब्धी” सम्बन्धी पुस्तक विमोचन, सो सम्बन्धमा केन्द्रका कार्यकारी निर्देशकको प्रस्तुतीकरण एवं नेपाल सरकार, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिको मन्तव्य समेटिएको छ भने कार्यक्रमको दोस्रो चरणमा निम्न विषयवस्तुमा आधारित रहेको ३ वटा प्राविधिक सत्र (Technical Session) सञ्चालन हुनेछ।
जसमा पहिलो सत्रमा ‘स्वच्छ ऊर्जा तथा कार्बन बजारको माध्यमबाट न्यून कार्बनीकरण सम्बन्धी पहल (Decarbonization Initiative through Clean Energy and Carbon Markets), दोस्रो सत्रमा ‘ऊर्जा दक्षताको माध्यमबाट न्यून कार्बनीकरण (Decarbonization through Energy Efficiency)’ र तेस्रोमा ‘न्यून कार्बनीकरणको लागि स्वच्छ ऊर्जा र विद्युतीय सवारी (इ-मोबिलिटी) मा लगानी (Financing for Decarbonization in Clean Energy and E-Mobility)’ रहेका छन्।
केन्द्रका अनुसार यस सम्मेलनका दौरान (सम्बन्धित क्षेत्रका विज्ञहरुको प्रस्तुतीकरण एवं छलफलबाट) अर्थतन्त्रको न्यून कार्बनीकरणका अवसर तथा चुनौतिहरु एवं मिश्रित लगानीबाट लिन सकिने लाभको पहिचान गर्न सहयोग पुग्नेछ ।त्यसैगरी सम्मेलनबाट स्वच्छ ऊर्जा क्षेत्रको लगानीलाई स्तरोन्नति गर्दै विकास साझेदारहरुबीचको सहकार्य थप बलियो हुने अपेक्षा गरिएको केन्द्रले जनाएको छ ।
स्वच्छ ऊर्जा र इ-मोबिलिटी, ऊर्जा दक्षता र न्यून कार्बनीकरण एवं वित्तिय लगानी र कार्बन बजार सम्मेलनको मुख्य विषय रहने केन्द्रले जानकारी दिएको छ ।
कार्यक्रमबारे जानकारी दिन आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्मेलनले न्यून कार्बनीकरण (Decarbonization) को व्यवहारिक पक्षमा जोड दिंदै “बहसलाई व्यवहारमा रुपान्तरण गर्नुपर्ने” बताए । साथै उनले केन्द्रले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा हासिल गरेका उपलब्धीहरुले न्यून कार्बनीकरणमा महत्वपूर्ण योगदान पुर्याएको बताउँदै केन्द्रले यस क्षेत्रमा हासिल गरेका उपलब्धीहरुलाई संस्थागत गर्न नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई ऐनको रुप दिने कार्यलाई निर्वाचित संसद आउने बित्तिकै अघि बढाइने बताए ।
कार्यक्रममा केन्द्रका निर्देशक डा. मुकेश घिमिरेले “ऊर्जा क्षेत्रमा न्यून कार्बनीकरणको अवस्था र न्यून कार्बनीकरणमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको भूमिका” विषयमा प्रस्तुतीकरण गरेका थिए ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत रही नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा कार्य गर्ने प्रमुख निकायको रुपमा रहेको छ । केन्द्रले स्थापनाकालदेखि नै नवीकरणीय ऊर्जा प्रविधि विस्तार तथा ऊर्जा दक्ष प्रविधि र उपायहरुको प्रवर्द्धनको माध्यमबाट स्वच्छ ऊर्जाको पहुँच वृद्धि, ऊर्जा सेवालाई भरपर्दो, गुणस्तरीय र दिगो बनाउने र ऊर्जा सेवालाई आर्थिक क्रियाकलापहरुसँग सम्बद्ध गराई समावेशी आर्थिक सामाजिक विकासमा योगदान पुर्याउँदै आएको छ । यसको साथै नवीकरणीय ऊर्जा प्रविधिमा आधारित कार्बन परियोजनाहरुको विकास तथा हरित जलवायु कोषको प्रत्यक्ष पहुँच निकाय (Direct Access Entity) को रुपमा समेत कार्य गर्दै आएको छ ।













