कृषिमा सहकारीको लगानी र कृषि उत्पादनहरुको बजारीकरण विषय एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
मंसिर ६ गते सम्पन्न गोष्ठीमा प्रमुख अतिथि रहेका राष्ट्रिय सहकारी विकास बैंकका निवर्तमान अध्यक्ष रमेश प्रसाद पोखरलले उत्पादित वस्तुलाई बजारसम्म पुर्यााउन ढुवानी र मुल्य निर्धारण प्रक्रिया कृषकमैत्री नरहेको बताए । उनले कृषकले सही मुल्य पाउन नसकेकै कारण कृषि पेशा प्रति आर्कषण घट्दो रहेकोले बिचौलियाले बढी मुनाफा लिने प्रवृत्ति हावी भएको बताएका छन् । बजारमा तोकिएको मुल्य अनुसार कृषकले उचित मुल्य पाउने संयन्त्रको विकास गरिनु पर्ने पोखरेलको भनाइ छ ।
कृषि विभागका महानिर्देशक प्रकाश कुमार सन्जेलले उत्पादकहरुले अझै सहज रुपमा ऋण प्राप्त गर्न कठिनाई रहेको सन्र्दभमा सहकारीले कृषकलाई समयमा ऋण उपलब्ध गराउन सकेमा कृषि क्षेत्रको विकासमा सहयोग पुग्ने बताए । सरकारबाट स्थानीयस्तरमा कृषि वस्तु ओसार पसारलाई सहज बनाउन र स्थानीय शुल्क नलगाउन परिपत्र भएको, यसबाट उत्पादन लागत घटाउन सहयोग पुगेको उनको भनाइ छ ।
यस्तै, स्थानीय वस्तुको उत्पादन, प्रवद्र्धन र बजारीकरण के कसरी गर्न सकिन्छ भन्ने बारेमा विभागले पटकपटक सरोकारवालासँग छलफल गर्ने गरेको र पूर्वाधार विकासमा सरकारको मात्र प्रयासले नपुग्ने भन्दै उनले सार्वजनिक नीजि सहकारी अवधारणा अनुसार अघि बढ्नुपर्ने आवश्यकता औल्याएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखाका प्रमुख जगनाथ तिवारीले कृषि क्षेत्रका नीतिहरु समयसापेक्ष बनाउन मन्त्रालयले आवश्यक सुझाव लिने गरेको बताए । उनले खुला सिमाका कारण नेपाली वस्तुहरुलाई बजारमा प्रतिस्पर्धा गर्न कठिनाई भईरहेको बताउँदै कृषि वस्तुको बढ्दो आयातलाई प्रतिस्थापन गर्न कृषकलाई सहज रुपमा ऋण उपलब्ध गराउन सहकारीहरुले महत्वपूर्ण योगदान दिन सक्ने बताए ।
कृषि उद्यम केन्द्रका सभापति डि.बी. बस्नेतले सहकारीमा तरलता बढ्दो भएकाले कृषि क्षेत्रमा लगानी गर्न अभिप्रेरित गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । उनले बढ्दो तरलतालाई उत्पादनमा लगानी गर्न सहकारीलाई अवसर रहेको पनि बताए । बस्नेतले उत्पादित कृषि वस्तुको बजारीकरणमा पनि केन्द्रले सहयोग गर्दै आइरहेको बताए ।
कृषि उद्यम केन्द्रका सहसभापति तथा नेपाल कुचो संघ अध्यक्ष राजकुमार कार्कीले हालको बढ्दो तरलतालाई कृषि क्षेत्रमा परिचालन गरि उत्पादन बढाउन सकिने, पहाडमा रहेको डाँडाकाडा, बारीका कान्ला र बाँझो जमिनमा अमलिसो खेती गर्न सकिने भन्दै यसतर्फ लाग्न समेत आग्रह गरे । उनले यसबाट पशुपालनको लागि घाँसको समेत उत्पादन भई पशुजन्य उत्पादन बढाउन सकिने पनि बताए ।
भारत र बंगलादेशमा १ अर्बको कुचो निर्यात गरिएको बताउँदै उनले बजारको समस्या नभएको, सहकारी सदस्यहरुले उत्पादन गरेको सामाग्रीहरु खरिद गर्न आफूहरु तयार रहेको पनि बताए ।
उनले अहिले निर्यातजन्य अलैची १६ जिल्लामा व्यवसायिकक खेती भइरहेकोले सहकारीले त्यसतर्फ लगानी गर्न सके अहिले बढिरहेको लगानीयोग्य रकमको सही सदुपयोग हुने पनि बताए ।
कार्यक्रममा कृषि उद्यम केन्द्रका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र कुमार जोशीले प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रममा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति कार्यकारी निर्देशक डा. प्रध्युम्न राज पाण्डे, डेरी एशोसिएशनका अध्यक्ष प्रल्हाद दाहाल, एग्री नेपालका प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेहाफुकी, रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज कुमार चापागाई, आटी नेपालका अध्यक्ष खोजराज कटुवाल, निर्यात व्यवसायी महासंघ उपाध्यक्ष किरण कुमार डंगोल लगायत ५२ जनाको सहभागीता थियो ।












