आफ्नै अगुवाईमा गतिशील लोकतान्त्रिक पार्टी गठन गरेका बुद्ध एयरका अध्यक्ष एवम् उक्त पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले सरकारले कृषि उत्पादनको न्युनतम समर्थन मूल्य तोक्नुपर्ने बताएका छन् ।
पार्टीको कृषि कार्यक्रम सार्वजनिक गर्ने क्रममा उनले देशका किसानलाई निर्वाहमुखी अवस्थाबाट माथि उठाउन सरकारले सबै कृषि उत्पादनको न्युनतम समर्थन मूल्य निर्धारण गर्नुपर्ने बताएका हुन् । अहिले नेपालका किसानहरु निर्वाहमुखी खेती गर्नुपर्ने अवस्थामा रहेको बताउँदै बस्नेतले सरकारले कृषि उत्पादनको न्युनतम समर्थन मूल्य तोकेपछि मात्रै कृषिलाई व्यवसायीकरण वा औद्योगीकरणमा रूपान्तरण गर्न सकिने बताएका हुन् ।
‘न्युनतम समर्थन मूल्य नतोकिएसम्म हाम्रो देशमा किसानहरु निर्वाहमुखी नै हुन्छन् । त्यसकारण न्युनतम समर्थन मूल्य तोकेपछि मात्रै हाम्रो कृषिलाई व्यवसायीकरण या औद्योगिकरणमा हामीले परिवर्तन गर्न सक्छौँ’ उनले भने, ‘तर न्युनतम समर्थन मूल्य तोक्नको लागि उद्योग चाहीँ चाहिन्छ । धान, गेडागुडी या स्याउ जुनसुकै उत्पादनको होस्, त्यसको मूल्य तोक्नको लागि प्रथमतः उद्योग खोल्नुपर्छ ।’
वर्षको एकपटक मात्रै फसल निस्कने हुँदा न्युनतम समर्थन मूल्य र औद्योगिक संरचना बिना कृषिलाई व्यवसायीकरण गर्न नसकिने भन्दै उनले थपे ‘उद्योग नखोली मूल्य कायम गर्न सकिँदैन । यो सघन कार्यक्रम नल्याईकन हाम्रो देशको कृषि उद्योग या कृषि व्यवसाय जहिलेपनि निवार्हमुखी नै रहिरहन्छ । किनभने वर्षको एकपटक मात्रै फसल निस्किन्छ ।’
सरकारले यान्त्रीकीकरण र शीतभण्डारणका नाममा खर्बौं रुपैयाँ खर्च गरेपनि त्यसको प्रभावकारीता नदेखिएको उनको भनाई छ । ‘हामी वर्षको खर्बौं रुपैयाँ कृषिमा लगानी गर्ने अनि वर्षको ५ खर्ब रुपैयाँको कृषिजन्य उत्पादन आयात गर्ने । त्यसले के ग¥यो त भन्ने कुरा त अडिट त हुनुप¥यो नि’ बस्नेतले भने ।









